जुन नेताले कार्यकर्तालाई संरक्षण गर्न सक्दैन कांग्रेसको नेतृत्वमा बस्ने उसको नैतिक अधिकार पनि छैन"- शंकर भण्डारी (केन्द्रिय सदस्य- नेपाली कांग्रेस)

(०७ सालदेखि नै प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा नेपाली राजनीतिको मियो नेपाली कांग्रेस रहँदै आएकोमा गएको संबिधानसभाको चुनावपछि नेपाली कांग्रेसको धार कमजोर देखिएको छ । अहिले पनि नेपालको राजनीतिको लोकतान्त्रिक वा प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्ने गर्दछ । अब फेरि अर्को संविधानसभाको निर्वाचनको कुरा चर्चामा आइरहँदा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य शंकर भण्डारीसँग कपन अनलाइनका बद्रि भट्टराईले विशेषगरेर नेपाली कांग्रेस र युवाहरुका सन्दर्भमा गरेको कुराकानी ।)(फोटोः राजुबिक्रम थापा)

 

कपन अनलाइनः नेपाली कांग्रेस भनिएजस्तै ठूलो पार्टी हो त ?

शंकर भण्डारीः नेपालका हरेक परिवर्तनकामी आन्दोलनको सफल अगुवाई गरेको पार्टी हो नेपाली कांग्रेस । नेपालकै माटोमा जन्मिएर राष्ट्रियता र लोकतन्त्रलाई मूल आदर्श मान्ने विचारको प्रतिपादन गरेर नेपाली जनताको माझमा विचारको सम्प्रेषण गर्दै नेपाली जनताको विश्वास र साथले अगाडि बढेको पार्टी हो नेपाली कांग्रेस । अहिलेको समसामयिक परिस्थितिमा पनि विशेषगरेर राष्ट्रियता र लोकतन्त्रका लागि सैद्धान्तिक तथा हरेक दृष्ट्रिकोणले बलियो आधार पस्कने पार्टी नेपाली कांग्रेस नै हो । आजका दिनमा पनि अविचलित धेरै जनमत भएको पार्टी भएकोले निर्विकल्प नेपाली कांग्रेस ठूलो पार्टी हो ।

 

कपन अनलाइनः अधिकांश नेपाली युवाहरुको दलसँगभन्दा पनि दलको नेतृत्व गर्नेहरुसँग त्यति सन्तुष्ट भएको पाइएको छैन । नेपाली कांग्रेसकै सबालमा पनि यो असन्तुष्टि रहेको छ । युवालाई सम्बोधन गर्ने नीति नभएको हो कि नेतृत्व नभएको हो ?

shankar 2शंकर भण्डारीः देशको दुर्भाग्य पनि हो यो । देशको विकराल चुनौति भनेको नै युवाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै हो । युवाहरुलाई कसरी रोजगारीको अवसर दिने भन्ने नै अहिलेको सबैभन्दा चुनौतिको विषय हो । यो चुनौति नेपाली कांग्रेसको पनि चुनौति हो । यद्यपि अहिलेको परिस्थितिमा हाम्रो पार्टीले आफ्नो लक्ष्य र उद्धेश्य अनुसार काम गर्न पाएको पनि छैन । नेपाली राजनीतिमा धेरै खाले षडयन्त्रहरु भइरहेका हुनाले नेपाली राजनीति अन्तर्द्वन्द्व र अन्र्तकलहमा फसिरहेको छ । मुलुकको समग्र परिस्थिति नाजुक एवम् जर्जर अवस्थामा पुगेको हुँदा जनताले धेरै दुःख र कष्ट भोगिरहेको हुँदा युवाहरु पनि यसबाट प्रत्यक्ष पिडित छन् । युवाहरु परिवर्तनको संवाहक मात्र नभई देश विकासको मूल आधार पनि हो । जबसम्म युवाहरुलाई देश विकासको मूलआधारको रुपमा उपयोग गर्न सकिदैन देश विकास असम्भव प्रायः छ । नेपाली कांग्रेसको नेतृत्वको कुरा गर्दा कमी कमजोरी नभएको होइन । नेतृत्वले युवाहरुको माझमा पुग्ने र उनीहरुको भावनालाई सहज ढंगले बुझ्ने र त्यसप्रति जवाफदेहिता बोध गर्ने काम हुन नसकेको कुरामा दुइमत छैन । राष्ट्रिय नीतिअन्तर्गत नै युवाहरुलाई लानु आवश्यक छ ।

 

कपन अनलाइनः आगामी संबिधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले युवाहरुलाई समेट्ने महत्वपूर्ण योजनाहरु के के हुनसक्छन् ?

शंकर भण्डारीः युवाको विशिष्ट परिभाषा हुन आवश्यक छ । उमेरले मात्र युवा भएर हुँदैन । पार्टीको नीति र कार्यक्रमसँग युवाको सक्रियता, सहायता, नैतिकता, इमान्दारिता पनि जोडेर हेर्नु पर्ने बेला आएको छ । पहिलो संविधानसभामा भएका कमिकमजोरीलाई हेर्ने काम पनि अझै हुन सकेको छैन । त्यसबेला युवाहरुको परिचालन क्षेत्रमा भएका कामहरुको मूल्यांकन जरुरी छ । कांग्रेसको पुरानो ढाँचा र संरचनामा परिवर्तन हुन जरुरी छ । अहिले जनमत नयाँ ढंगले विकास भएको अवस्थामा चुनावमा उठ्ने व्यक्तिको व्यवहार, आचरण, शैली एवम् योग्यता पनि महत्वको विषय हुन्छ अबका दिनमा । विचारले जेजसो भए पनि उसको निजी गुणका कारण अन्य पार्टीका मानिसलाइसमेत भोट हाल्ने अवस्था देखिन थालेको छ । त्यसैले नेपाली कांग्रेसको नेतृत्वले यो विषयलाई ध्यान दिएर उम्मेदवारी दिने व्यक्ति चयन गर्नेछ ।

 

कपन अनलाइनः  पूर्व गृहमन्त्रि खुमबहादुर खड्काको सबैजसो कृयाकलापमा तपाइँको नाम पनि जोडिने गर्छ साथै तरुण दस्ताको सन्दर्भ पनि निक्लने गर्दछ । तरुण विभाग प्रमुख पनि भएको नाताले तपाइँको आधिकारिक भनाई के हो ?

शंकर भण्डारीः खुमबहादुर खड्काको प्रशंगमा मेरो नाम जोडिनु स्वभाविक हो । मैले २०–२२ वर्ष पहिला जब मैले उहाँलाई भेटेँ म उहाँसँग प्रभावित भएको हुँ । उहाँको कुरा सुनेपछि र उहाँको व्यवहार कार्यकर्तालाई माया गर्ने खालको रहेछ साथै साँचो राजनेता हुने खालको व्यवहार देखिपछि म प्रभावित भएको हुँ । खुमबहादुर खड्का जस्तो मानिसलाई साथ दिनुपर्छ भन्ने त्यो बेलादेखि परेको प्रभाव अझै कायम छ । जहाँसम्म युवादस्ताको सन्दर्भ छ , यसको परिभाषासँग म अल्मल्लिन चाहन्न । अब नेपाली कांग्रेस र यस पार्टीका नेता तथा कार्यकर्ताले प्रतिश्पर्धि पार्टीतर्फबाट पिटाइ खान हुन्न । हामी अरु पार्टीका दस्ताहरुबाट लखेटिनु हुन्न । यो सामर्थ्य नेपाली कांग्रेसले राख्नुपर्छ, आइलाग्नेमाथि जाइलाग्नु पर्छ भन्ने मेरो धारणा हो । किनभने कांग्रेस कमजोर हुँदा राष्ट्रियता पनि कमजोर भयो । कांग्रेस कमजोर हुँदा लोकतन्त्रमात्र हैन देशको राजनीति नै कमजोर भएको हुँदा कांग्रेस बलियो हुनु जरुरी छ । कांग्रेस बलियो हुनका लागि कांग्रेसका कार्यकर्ता सुरक्षित हुन पनि जरुरी छ । त्यसैले कांग्रेसले आइलाग्नेमाथि जाइलाग्ने तरिकाले युवाहरुलाई संगठित गर्नुपर्छ । नाम जे राखे पनि केही फरक पर्दैन । कहिलेकाहिँ केही नेताहरुको यो विषयमा टिप्पणी गरेको पनि सुनिन्छ तर खोक्रा आदर्शले पार्टी टिक्नेवाला छैन । जुन नेताले कांग्रेसको कार्यकर्तालाई संरक्षण गर्न सक्दैन तथा कार्यकर्ताको पक्षमा बोल्न सक्दैन त्यसलाई कांग्रेसको नेतृत्वमा बस्ने नैतिक अधिकार पनि छैन भन्ने मेरो धारणा हो ।

shankar

कपन अनलाइनः निर्वाचनको कुरा चलिरहँदा तपाईं नेपाली कांग्रेसको प्रभावशाली युवा नेताको रुपमा लिइन्छ । आउँदो चुनावमा टिकट पाउनुहुन्छ ?

शंकर भण्डारीः (लामो हाँसो) म प्रश्ट छु । चुनाव जित्नै पर्छ भन्ने कुरा लोकतान्त्रिक मान्यता त होइन होला तर अहिलेको परिप्रेक्ष्यमा चुनाव लड्ने मानिसले जित्नै पर्छ भन्ने उद्धेश्य राख्नुपर्छ । शंकर भण्डारीको कुरा त चुनाव हार्नका लागि लड्न नै हुन्न । हार्ने चुनावको टिकटको दावा गर्नु हुँदैन भन्ने मान्यता हो मेरो । टिकट म जसरी पनि लिन्छु । चुनाव म जसरी पनि जित्छु । जसरी मात्र हैन मलाई विश्वास छ आफूसँग र मेरा सुभच्छुकसँग तनहुँ जिल्लाको क्षेत्र नं. १ मा ऐतिहासिकरुपले चुनाव हुन्छ, त्यहिरूपले प्रचार पनि हुनेछ र मत पनि त्यहि अनुरुप ल्याउनेछु मैले ।

तपाइँको प्रतिक्रिया ।