‘टाइगर जिन्दा हे’ले कमायो २ सय करोड
कपन अनलाइन
काठमाडौँ, १५ पुस ।यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘ट्युबलाइट’बाट नमज्जाको असफलता हात पारेका बलिउड स्टार सलमान खानलाई हाल प्रदर्शनरत फिल्म ‘टाइगर जिन्दा हे’ले पुनः भारतीय फिल्मको ‘सुल्तान’ प्रमाणित गरेको छ । प्रदर्शनको तीन दिनमा सय करोडको विजनेश गरेको यो फिल्मले भारतीय बक्स अफिसमा मात्र एक हप्तामा दुई सय करोड कमाई गर्न सफल भएको छ ।
प्रदर्शनको पहिलो दिन ३४.१०, दोस्रो दिन ३५.३०, तेस्रो दिन ४५.५३, चौथो दिन ३६.५४, पाँचौ दिन २१.६०, छैटौ दिन १७.५५ र सातौ दिन १५.४७ करोड कमाउँदै यो फिल्मले एक हप्तामा कूल २०६.०४ करोड कलेक्सन गरेको छ । ‘टाइगर जिन्दा हे’ अब ३ सय करोड क्लबको दौडमा लागेको छ ।
भारतीय फिल्म विश्लेषकका अनुसार, यही रफ्तारमा दर्शकको ‘फ्लो’ रहिरहे फिल्मको लाइफटाइम कलेक्सन साढे ३ सय करोडसम्म हुनेछ । निर्देशक अली अब्बाकज जफरको यो फिल्मबाट करीब ५ वर्षपछि सलमान र कैटरीना कैफको जोडीले ‘विग स्कृन’मा कमब्याक गरेको हो ।
फिल्मलाई दर्शकसँगै क्रिटिक्सले समेत उतिक्कै तारिफ गरेका छन् । केही दिनमै अंग्रेजी नयाँ वर्ष पनि सुरु हुने भएका कारण ‘टाइगर जिन्दा हे’को कलेक्सन थप बढ्ने भारतीय मिडियाले बताएका छन् । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।
तपाइँको प्रतिक्रिया ।