राष्ट्रियसभा निर्वाचनको लागि आयोग आजैदेखि तयारीमा
कपन अनलाइन
काठमाडाैं, १५ पुस । राष्ट्रियसभा गठनको लागि अध्यादेश जारी भएसँगै निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचन गराउने तयारीमा लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे लगत्तै आयोगका पदाधिकारीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन् ।
सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोकेपछि निर्वाचनको कार्यतालिका बनाएर राष्ट्रियसभा निर्वाचनको तयारीमा लाग्ने आयोगले जनाएको छ । आयोगले मिति घोषणा भएपछि चुनाव गराउन एक महिना चाहिने बताएको छ । मिति तोकेपछि मनोनयन दर्तादेखि मतदानसम्मको तयारी गर्न कम्तिमा ३० दिन चाहिने जानकारी शुक्रबारै आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई गराएका थिए ।
आयोगका सहन्याधिवक्ता गीताप्रसाद तिमल्सेनाले आजै देखि कार्यतालिका बनाएर अगाडी बढ्ने तयारी आयोगले गरेको जानकारी दिईन् । आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न १५ दिन म्याद दिएर बिहीबार मात्र आहृवान गरेको छ । आयोगले सात प्रदेशमा मतदान गराउने तयारी गरेको छ । प्रदेशसभा सदस्यका साथै ७ सय ५३ स्थानीय सरकारका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सदस्यका लागि मतदान गर्नेछन् ।