ट्रम्पविरुद्ध बेलायत उभिएपछि २ मुलुकको विशेष सम्बन्ध संकटमा पर्न सक्ने
कपन अनलाइन
एजेन्सी, ७ मंसिर । बेलायत र अमेरिकाबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ । दुबै मुलुकले आपसी सम्बन्धलाई ‘विशेष सम्बन्ध’ भन्दै परिभाषित गर्दै आएका छन् । तर बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा जेरुसेलमलाई इजरालयको राजधानी बनाउने ट्रम्पको प्रस्ताव विरुद्ध बेलायत उभिएपछि यो सम्बन्धमा असर पर्न सक्ने अनुमान लगाउन थालिएको छ ।
बिहीबार भएको मतदानमा १२८ राष्ट्रले ट्रम्पको प्रस्तावमा मतदान गरेका थिए । अमेरिकाले प्रदान गर्दै आएको सहयोग कटौती गर्ने धम्की बावजुद विश्वका अधिकांश मुलुक अमेरिकाको विपक्षमा उभिएका थिए । लामो समयदेखि अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकालाई खुलेर सहयोग र समर्थन गर्दै आएको बेलायतले पनि ट्रम्पको प्रस्तावविरुद्ध मतदान गरेको थियो ।
राष्ट्र संघीय सुरक्षा परिषद्मा समेत जेरुसेलमलाई इजरालयलको राजधानी बनाउने अमेरिकी कदमको विपक्षमा बेलायत उभिएको थियो । लगत्तै बेलायती प्रधानमन्त्री तथा डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता समेत भएको थियो । वार्तापछि आफूहरुले फरक अडान लिएको प्रधानमन्त्री कार्यालयले जनाएका थियो ।
विश्वका अधिकांश मुलुक आफ्नो विपक्षमा उभिने भएपछि ट्रम्प तथा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दुत निकी हालेले धम्कीपूर्ण, अमर्यादित र गैर कुटनीतिक अभिव्यक्ति दिएका थिए । १८० मुलुकका प्रतिनिधिलाई एउटा पत्रमार्फत् ‘ट्रम्पले अमेरिकाविरुद्ध मतदान गर्ने को को हुन् भन्ने जानकारी दिन आफूलाई भनेको’ हालीले बताएकी थिइन् । यदि अमेरिकी प्रस्तावविरुद्ध मतदान गरेमा यसलाई आफूहरुले कहिल्यै नभुल्ने ट्रम्पले बताएका थिए । उनको र ट्रम्पको अभिव्यक्तिले कुटनीतिक मर्यादा नाघेको भन्दै सर्वत्र आलोचना समेत भएको थियो ।
संयुक्त राष्टसंघमा बेलायतले लिएको कदमले अमेरिका र बेलायतबीच रहेको विशेष सम्बन्धमा दरार पैदा हुन सक्ने अनुमान गर्न थालिएको छ । ब्रेक्सिटसँगै यस्तो सम्बन्धको भविष्यमाथि प्रश्न उठाइएको थियो । युरोपेली युनियनबाट बाहिरिने बेलायती कदमले अमेरिकासँग रहेको कुटनीतिक, सैन्य तथा आर्थिक सम्बन्धमा नकरात्मक असर पार्न सक्ने चिन्ता यसअघि नै अमेरिकी नीतिनिर्माताले व्यक्त गरिसकेका छन् । बेलायतको पछिल्लो कदमले दुबै मुलुकबीच रहेको विशेष सम्बन्धलाई झन जटिल र अन्यौनपूर्ण बनाउने धेरैले आंकलन गरेका छन् ।