पुर्व लडाकुका नयाँ नयाँ लहड
कपन अनलाइन
काठमाडौ,पौष ५ ।
मंसिर २५ गते ९ देखि १० बजेको बीचमा जिल्ला प्रहरी कार्यालयको ल्याण्डलाइन नम्बर १०० मा घन्टी बज्यो । प्रहरीले फोन उठाउँदा इलाम सदरमुकामनजिकै तिल्केनीमा हतियारधारीले लुटेको भन्दै पीडितले उद्धारका लागि सहयोग माग्यो । प्रहरी तत्काल घटनास्थल पुग्दा घटनास्थल नजिकै एउटा भारतीय पेस्तोल भेटियो । नजिकै थप दुई पेस्तोल र आठ राउन्ड गोली पनि भेट्यो । बेवारिसे अवस्थामा यसरी हतियार भेटिएपछि प्रहरीलाई लाग्यो, ‘दालमे कुछ काला हे’ । प्रहरीले थप अनुसन्धान अघि बढायो । लुटियौं भनेर खबर गर्ने पीडित थिए, पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ ।
फेरि जिल्ला प्रहरी कार्यालयमा भोलिपल्ट लुटिएको जाहेरी दिन आए तामाङ । प्रहरीले सोधपुछ गर्दै जाँदा घटना अझै रहस्यमय बन्दै गयो । घटनास्थल नजिकै पेस्तोल भेटिनु, तिल्केनी मेची राजमार्गभन्दा डेढ किलोमिटरभित्र कच्ची सडकमा लुटपिट हुनु ! यसले प्रहरीलाई अझ गम्भीर अनुसन्धानतर्फ अघि बढायो । यसले प्रहरीलाई थप लुटिएको घटनाभित्र ठूलै रहस्य छ भन्ने आशंका जन्मायो र शुरु भयो गम्भीर अनुसन्धान । अनुसन्धान गर्दै जाँदा लुटियौं भनेर फोन गर्ने पीडित त नक्कली पीडित पो रहेछन् ! सक्कली त उनी बल्ने ढुंगा छ भनेर करोडौं ठगी गर्ने समूहका नाइके पो रहेछन् ! प्रहरीले उनैलाई नियन्त्रण लिई अनुसन्धान अगाडि बढाउँदै उनका सहयोगीलाई पनि पक्राउ गर्न सफल भएको हो ।
तर, तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान नगरेसम्म प्रहरीलाई उनी यति ठूलो ठगी धन्दाका नाइके भनेर थाहा थिएन न त लुटिएको घटना नाटक थियो भन्ने नै थाहा थियो ।
तामाङले बल्ने ढुंगा दिन्छु भनेर पाँचथरकै तीन व्यक्तिबाट तीन करोडभन्दा बढी पैसा र जग्गा लिइसकेका थिए । यही पैसा पचाउन उनले आफैं आफ्ना समूहका सदस्य परिचालन गरेर लुटको नाटक गरेका रहेछन् ।
तामाङले आफ्ना सहयोगीको साथ लिएर पाँचथर फिदिम नगरपालिका–१ का तारा भट्टराई, ५६ वर्षीय डिल्ली ढुंगाना, फिदिम नगरपालिका वडा नं. ६ बस्ने राजेन्द्र रिजालबाट २ करोड ५७ लाख ५९ हजार नगद र ६० लाख बराबरको जग्गा लिइसकेका थिए । उनले अमेरिकामा वैधानिक रूपमा करोडौंमा बिक्री हुने भन्दै ब्याट्रीजडित ढुंगा देखाएर चार करोडमा उनीहरूलाई बिक्री गरेका थिए । खरिद गर्नेले नगद र जिन्सी गरेर तीन करोडभन्दा बढी रकम दिइसकेपछि तामाङसँग ढुंगा माग्न थाले । उनीसँग भनेजस्तै बल्ने ढुंगा थिएन । त्यसपछि लिएको पैसा पचाउन इलाममा लुटको नाटक मञ्चन गरेका थिए । तामाङले इलाम नगरपालिका–८ तिल्केनीमा आफ्ना पाँच जना सहयोगीलाई तीन पेस्तोल दिएर लुटपिट गर्न तयार राखे । तामाङले आफ्ना केही सहयोगीलाई इलाम नगरपालिकाको बिब्ल्याँटेमा खरिदकर्तामध्येका तारा भट्टराई र डिल्ली ढुंगानालाई तिल्केनी लिएर आउनू भनेर पठाए । तामाङले तिल्केनीमा बल्ने ढुंगा दिने भनेर बोलाएका थिए । तिल्केनी पुगेपछि बल्ने ढुंगा दिने भनेर तामाङलाई दिने बाताएका थिए । तिल्केनीमा मैले ‘बल्ने ढुंगा’ पुरेर राखेको छु बस्दै गर्नू भनेर तामाङले केही तल गएर माटो खोस्रेजस्तो गरेर आए । ब्यागमा केही पैसा पनि बोकेका थिए । ‘ल ल्याएँ, काम भयो, हिँड्नुस् भनेर तामाङ गाडीमा चढ्दा नचढ्दै पाँच जना आए । पूर्वतयारी ती पाँच जनाले गाडी रोके । पेस्तोल देखाएर सामान्य कुटपिट पनि गरेर तामाङसहित खरिद गर्ने भट्टराई र ढुंगानाको नगद, सुनको औंठी र मोबाइल लुटेका थिए । यो सब नाटक सफल भएपछि उनै तामाङले आफूहरू लुटिएको भन्दै प्रहरीमा राति नै फोन गरेका थिए । लुटेराको खोजी गर्ने क्रममा यो घटनाको रहस्य खुलेको हो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक विपिनकुमार कर्माचार्यले बताए ।
प्रहरीले ठगीका मुख्य नाइके राजबहादुर तामाङसहित फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय भयप्रसाद विक, फालेलुङ गाउँपालिका–८ बस्ने ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ बस्ने ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र सोही गाउँपालिका वडा नं. ६ बस्ने ६० वर्षीय योगेन्द्रप्रसाद आङदेम्बेलाई पनि पक्राउ गरेको छ ।
उनीहरूको साथमा ९० लाख १० हजार रुपैयाँ नगद, तीन थान पेस्तोल र आठ थान गोली पनि प्रहरीले बरामद गरेको छ । तामाङ बसोवास गर्दै आएको झापाको मेची नगरनगरपालिका ९ र उनका बहिनी–ज्वाइँको घरबाट नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
तामाङ पूर्वलडाकु
ठगीका नाइके राजबहादुर तामाङ पूर्वलडाकु भएको प्रहरीले जनाएको छ । बरामद गरिएको तीन पेस्तोलमध्ये दुई थान लडाकु भएकै बेला ल्याएर गाउँको ओडारमा लुकाएको तामाङले बताएको प्रहरीले जनाएको छ । एउटा भने बिर्तामोडमा कैलाश राई भन्ने व्यक्तिसँग खरिद गरेको उनले प्रहरीलाई बताएका छन् । १६ वर्षकै उमेरमा माओवादीको लडाकुमा लागेका तामाङ ०५८ सालमा बेलबारीको आक्रमणमा संलग्न भएका थिए । कारबाहीमा साथीहरू मारिएपछि उनी भागेर भारत बसेका थिए । ०६४ सालमा नेपाल आएर साउदी र मलेसिया साढे चार वर्ष बिताएपछि जिप व्यवसायमा लागेका थिए । त्यसबाट पनि खासै फाइदा नभएपछि तामाङले सिन्धुपाल्चोक पुगेर केही समय कपडा व्यापार गरे । त्यहीँ बस्दा सुन तस्करीको सम्पर्कमा रहेर भाडामा सुन तस्कर गर्न थाले । पछि आफैं लगानी गरेर सुन तस्करी गर्दै आएका थिए । साथीले धोका दिएर फसाएपछि उनी मकाउ जान खोजे त्यहाँ पनि दलालले पाँच लाख ठगे । त्यसपछि उनी तड्पिएर गृहजिल्ला आई धेरै पैसा कमाउन ठगीको यस्तो योजना बनाएका हुन् ।
झापामा पनि पक्राउ
राजबहादुर तामाङले एउटा पेस्तोल झापाका कैलाश राईबाट खरिद गरेको प्रहरीलाई बयान दिएपछि प्रहरीले झापा बिर्तामोडबाट राईलाई पनि पक्राउ गरेको छ । पक्राउ गरिएका राईलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको मेची प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले बताए ।
समाचार साभार : जन आस्था साप्ताहिक