अल्मलिएको कपन
– बद्रि भट्टराई
‘सबैकुरा भएर पनि म रित्तो छु’ लक्ष्मी प्रसाद देवकोटाको यो भनाई अनि बुढापाकाले भन्ने गरेका ‘मिठो भनिएको तरकारीमा नुन हाल्न भुलेका जस्तो’ सायद यस्तै केही छ हाम्रो कपनमा । राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालयबाट केही मिनेटको मात्र दुरी छ राजधानीको यो गाविस । विशेषणको अभाव नै छैन यो गाविस चिनाउन । विशेषणको थुप्रोभित्र अरु थपिएका छन् पानाहरु २०७० को यो समयमा छुवाछुतमुक्त अभियानमा छ गाविस, खुल्ला दिशा मुक्त अभियानमा छ गाविस, अनि प्लास्टिक निषेधित गाविसको पहिचान बनाउन खोज्दैछ ।
कहाँ छौ हामी ? जबकी २०६० तिर नै तराई र पाहाडका धेरै गाविस र नगरहरु खुल्ला दिशामुक्त बनिसकेका थिए । कहाँ छौ हामी ? जबकी २०४७ को संविधानले समानताको परिभाषा दिएको छुवाछुत प्रथालाई अन्तरिम संविधान २०६२–६३ ले छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकेको छ । भर्खर हामी कपन गाविसलाई देशमा समाचार बनाउँदै छौ त्यो पनि यस्ता विषयहरुको उठान गरेर ? यो काम नरामै हो भन्ने त होइन तर के हामी अल्मलिएको हैन र ?
२०३६ बाट नै राजनीतिको रंगमञ्चमा स्थापित यो गाविस आज सम्म आइपुग्दा नेपालको निति निर्माणको तहको पहुँचमा पुग्न नसकेकै हो । यसका पछाडि पक्कै पनि हामीले हाम्रा राम्रा मान्छेहरुलाई अगाडि लगाउन सकेनौ र हामीले तेरो र मेरो नाउँमा योग्य व्यक्तिलाई लाइनको पछाडि राख्यौं । आफु अगाडि र अरुलाई पछाडि पार्ने नाउँमा हामीले यहाँको सम्पदालाई वास्ता नगरेको नै हो , यहाँका परम्परा संस्कारलाई माया नगरेकै हो, पुरानापुस्ताले दिएको उपहार लाई संरक्षण गर्न नसकेको नै हो । हैन भने कपनका सबै इतिहास त्याग, समर्पण, धर्म, संस्कृति, सबै भुलेर कपन गुम्बा भएकाले मात्र कपन हो भनेर भनाइनु पर्दैनथ्यो होला । के यहाँ हामी अल्मलिएको हैन र ?
कपन गुम्बाका कारण गाविसको पर्यटकीय स्थल हो वा कपनको प्राकृतिक स्वरुपका कारण गुम्बा पर्यटकीय स्थल बनेको हो ? यो त प्रश्न नै बनेन कपनमा । प्रश्न बने न उत्तर खोज्ने हो । यहाँको प्राकृतिक स्वरुप, जताततै देवभूमि बनाइएका मन्दिर नै मन्दिरको, क्रृषिमुनिहरुको तपस्या स्थल, साहित्य सर्जक, खेलाडी अनि कलाकारहरुको संगमस्थ साथै प्रचुर सम्भावना बोकेको नेपालको एक समृद्ध गाविस जस्ता विषयचाहिँ किन पाखा लागेका होलान् ? यहाँ गुम्बाको बिरोधमा कुरा गर्न खोजिएको होइन तर गुम्बाले यहाँको मौलिकता छोपेको हैन र ? हामी कपने हुनुको परिचय यहाँको गुम्बा हुनुले मात्र हो भन्ने प्रचारबाजीका बीच हामी किन नतमस्तक भएको ? यी विषयमा नबोलेर हामी अल्मलिएकोे पक्कै हो । यी विषयहरुलाई नीति निर्माण तहमा लैजाने भुमिका, नेपालमा कपन गाविसको पहिचान बनाउने भुमिका अनि विकासको सुचक कपन गाविसबाट नाप्नुपर्छ भनेर उदाहरण बनाउन सक्नुपर्ने भुमिका राजनीति र राजनीतिज्ञको नै हो ।
हामीले भएको सम्पत्तिको रक्षा गर्नमात्र नसकेका होइन अग्रजका उपहार अरुलाई नै बुझायौ । हैन भने २०३६ देखिको सक्रिय राजनीतिले हामीलाई किन कहिँ पुर्याएन ? जम्माजम्मि ठुला दलका क्षेत्र र जिल्ला तह सम्ममात्र हामी कपनेको पहुँच ? यति लामो समयसम्म हाम्रो कपनको कोहि कसैलाई पनि राज्य को नीति निर्माण तहमा लैजान सकेनौ ? किन कोही कसैले त्यो स्थान बनाउन सकेनन् ? जवाफ एउटै नै हो हामी फेरी कता कता अल्मलिएका छौ । राजनीति नै विकासको सुचक हो, आर्थिक सम्पन्नता र मानसिक सम्पन्नता नै विकास हो । हामी मानसिक रुपमा सकारात्मक र सबल बन्न सकेनौ वा आर्थिक सम्पन्नताको लालचले गर्दा भएका सम्पति पनि आफुसंग राख्न सकेनौँ ? अथवा आफ्नो पुरानो इतिहासलाई वास्ता गरेनौ कि, त्यसलाई वास्ता गर्ने चाहाना पो राखेनौ कि । जे जसो भएपनि राजनैतिक पहुँच भने बनाउन सकेनौ सत्यता यहि नै हो ।
अब यदि साच्चैँ नै पुराना पुस्ताको सपना साकार बनाउने हो भने, साच्चै नै कपनलाई राम्रो कपन बनाउन चाहाने हो भने , अनि साच्चै नै कपनको राजनैतिक बृत्तलाई बलियो बनाउने हो भने इमन्दारिताका साथ उचित सल्लाह र सुझाव दिएर संस्कार सिकेका र संस्कार भएका नयाँ पुस्तालाई यहाँको नेतृत्व तहमा ल्याउन सक्नुपर्छ । पुराना तथा अग्रज नेता र आमसमुदायले जातीय छुवाछुत संगै राजनैतिक छुवाछुतको अन्त्य गर्नसक्नुपर्छ । यहाँको राजनैतिक नेतृत्व तहदेखि तल्लो स्तरका कार्यकर्तासम्मले सबल राजनीति गर्न सक्नुपर्छ । यहाँका राजनैतिक व्यक्तिहरुले कपनका १ नं वडा देखि ९ वडा सम्मका सबै जनाहरुलाई हाम्रो कपन राम्रो कपन भन्ने बनाउन सक्नुपर्छ । हामीले ९ नं. वडाको चोटलाई १ नं. ले अनि २ नं. वडाको खुसी ५ नं वडाले त्यसैगरी ३ नं. वडाकोे योजनालाई ७ नं. वडाले अनि ४ नं वडाको यात्रालाई ६ नं वडाले सफल बनाउदै समृद्ध गाविस बनाउन सक्नुपर्छ । एकताको पाठ यहाँका पुराना पुस्तालाई सोध्नैपर्छ हिजोको कपनमा के त्यस्तो थियो जसले सधै कपन नै भनेको थियो । आजको जस्तो तल र माथि यता र उता भनेको थिएन । त्यसैले अब पुरानापुस्ताले विश्राम लिनैपर्छ बरु सक्रिय विश्राम (जहाँ सडक बनाउने, मन्दिर बनाउने, पानीको कुवा खन्ने यस्तै यस्तै ) अनि नयाँ पुस्तालाई जिम्मेवारी दिएर बाटो छोड्दा पुराना पुस्ता विलिनहुने हैन बरु पुराना पुस्ताको नै अस्तित्व वलियो हुने हो ।
यहाँका राजनैतिक बृत्तका अग्रजहरुले यदि अझै पनि त्यसो हुन नसके आज गुम्बाका नामले परिचित बनेको छ,कपन भोलि मस्जिद अनि पर्सी चर्चका नामले परिचित होला । त्यसैगरी रेड कर्नर नेटिस कपनमा नै लाग्ला, ७६ जिल्लाको व्यङ्ग लाग्ला अनि एक घर एक बाथरुम, यहाँ फोहर फाले जरिवाना , सँधै शौचालय प्रयोग गराँ अभियान २०८० भनेर गुरु योजना बनाउदै गर्ने दिन नआउला भन्न पनि सकिन्न । तसर्थ नयाँ पुस्ता आजको कपनको अवाश्यक्ता हो दल विशेष मात्र हैन, समुह विशेषको पनि हैन । मात्र कपन गाविसको लागि र कपनमा त्यस्ता सक्षम युवाहरु छन जसले भोलि राज्यको नीति निर्माण तहमा आजको भन्दा सशक्त रुपले कपनको आवज र कपनको सानलाई देशभर लैजान सक्छन् ।
त्यसैले,
पुरानोलाई सम्मान देऊ
नयाँलाई अवसर
तिमिले खनेको बाटोलाई सिङ्गार्न हामी हुन्छौ अग्रसर
कि तिमि अघि बढ, कि हामीलाई अघि बढ्न देऊ
तिमि आफु के भयो आफैलाई सोध नयाँलाई व्यर्थ सड्न नदेउ
तिम्रो इतिहास हामी जोगाउँछौ
बरु कपन देशमा चिनाउने अवसर अब हामीलाई देऊ
माग्दा दिएनौ भने एक दिन समयले तिमिलाई पनि साथ दिनेछैन
पश्चातापको भुमरीमा पर्दा पनि साथ दिने तिमिसंग कोही हुने छैन ।