राष्ट्रिय जनमोर्चाको प्रेस विज्ञप्ति

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
साझागल्ली, नयाँ बानेश्वर, काठमाडौं

 

वक्तव्य

 

संविधानको निर्माण बारे प्रमुख राजनीतिक दल वा संगठहरुका बीचमा भएको सहमति बारे राष्ट्रिय जनमोर्चाले तललेखिए अनुसारका आफ्ना अवधारणाहरु प्रस्तुत गर्न चाहन्छ । सर्वप्रथम त संघीयताको मूल अवधारणाप्रति नै हाम्रो आधारभूत प्रकारको मतभिन्नता भएको कुरा हामीले बारम्बार स्पष्ट गर्दै आएका छौं र अहिले पनि हाम्रो त्यो अडान कायम छ । त्यसैले संघीयता सम्बन्धी सम्पूर्ण संरचनालाई अस्वीकार गर्दै हामीले अहिले भएको सहमति बारे निम्नलिखित विचारहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

 

१. नेपालका सबै प्रदेशहरु बहुजातीय हुनेछन् भन्ने सहमतिलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिदै त्यसलाई स्वागत गर्दछ ।

 

२. प्रदेशहरुको संख्या ११ तोकिएकोमा त्यसप्रति हाम्रो पार्टीले निम्न आधारमा आफ्नो विरोध प्रकट गर्न चाहन्छ :

 

(क) नेपालमा सामाजिक सम्बन्ध, आवागम र व्यवहारिक सुविधाका दृष्टिकोणले जनतामा परम्परादेखि नै उत्तर र दक्षिणका बीचमा घनिष्ट सम्बन्ध रहदै आएको छ । त्यो सम्बन्ध वा सन्तुलन खलबलिने गरी प्रदेशहरुको निर्माण गर्दा जनताका बीचको सम्बन्धमा नकारात्मक असर पर्नुका साथै त्यसबाट देशको राष्ट्रियता, अखण्डता तथा जातीय र क्षेत्रीय एकतामा पनि प्रतिकूल असर पर्ने सम्भावना हुनेछ । त्यसैले हिमाल वा पहाडबाट अलग गराएर तराइ/मधेशका जिल्लाहरुका बेग्लै प्रदेशहरु बनाउने सहमतिलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यसको विरोध गर्दछ ।

 

(ख) प्रदेशहरुको संख्या बढी हुन गएको छ र त्यो संख्या ७ मात्र हुनुपर्दछ भन्ने हाम्रो पूर्व अडानलाई हामीले पुनः दोहो¥याउन चाहन्छौं ।

 

(ग) अहिले अञ्चल वा जिल्लाहरुको जुन संरचना छ, त्यो वैज्ञानिक छैन र त्यसमा पुनर्गठनको आवश्यकता छ । तर त्यो कार्य आवश्यक गृहकार्य वा जनमत संकलन गरी सम्पन्न गर्ने जिम्मा पछि संसदलाई दिनु नै उपयुक्त हुनेछ । तत्कालका लागि विद्यमान अञ्चल, जिल्ला वा गाउँहरुलाई नटुक्राइकन प्रदेशहरुको निर्माण गर्नुपर्दछ भन्ने हाम्रो मतलाई पुनः दोहो¥याउँदै अञ्चल वा जिल्लाहरुलाई टुक्राएर प्रदेशको निर्माण गर्ने जुन समझदारी भएको छ, त्यसलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।

 

३. सुदुरपश्चिमका ९ जिल्लाहरु वा सेती–महाकाली दुवै अञ्चलहरुलाई एकै प्रदेशको पक्षमा प्रकट गरिएको समझदारीलाई सकारात्मक मान्दै त्यसलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौं । त्यस सिलसिलामा हाम्रो यो मत छ कि त्यहाँ कुनै जनमत संकलन वा जनमत संग्रह नगरिकन दुवै अञ्चलहरुलाई एउटै प्रदेशको रुपमा निर्माण गरिनु पर्दछ । किनभने अञ्चल वा जिल्लाहरुलाई टुक्राएर प्रदेशहरुको निर्माण गर्ने नीति सम्पूर्ण देशका लागि नै गलत भएको हुनाले र सबै प्रदेशहरुको निर्माणमा त्यस प्रकारको नीतिबारे पुर्नविचार गर्नुपर्ने भएको हुनाले त्यहाँमात्र जनमतसंकलन वा जनमत संग्रहको कुनै औचित्यता देखिन्न । त्यसका साथै सुदुरपश्चिमका सन्दर्भमा ९ वटै जिल्लाहरुलाई मिलाएर एउटै प्रदेशको निर्माण गर्ने जुन विचार अगाडि ल्याइएको छ, त्यही नीति देशभरका प्रदेशहरुको निर्माणका सन्दर्भमा पनि अपनाइनु पर्दछ । पछि माथि उल्लेख भए अनुसार आवश्यक गृहकार्य वा जनमसंकलन गरी अहिलेका अञ्चल, जिल्ला वा गाउँहरुको संरचनामा आवश्यकतानुसार पुर्नगठन गर्न सकिने छ ।

 

४. राष्ट्रपतिको चुनाव प्रत्यक्ष प्रणालीबाट हुने सहमतिको हाम्रो पार्टीले जोडदार शब्दमा विरोध गर्दछ । त्यो अवस्थामा संसदबाट निर्वाचित प्रधानमन्त्री तथा मन्त्रीमण्डललाईभन्दा व्यवहारमा राष्ट्रपतिलाई बढी कार्यकारी अधिकार हुनेछ र त्यो प्रणालीका कारणले देश अधिनायकवादतिर जाने खतरा हुनेछ । त्यसकारण राष्ट्रपतिको जनताद्वारा प्रत्यक्ष रुपले निर्वाचन हुने प्रणालीको विरोध गर्दै हामीले राष्ट्रपति संवैधानिक हुनुपर्ने र संसदद्वारा निर्वाचित प्रधानमन्त्री नै कार्यकारी हुनुपर्ने प्रणाली अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छौं ।

 

५. ३७६ प्रतिनिधिहरुको संसद बनाउने जुन सहमति भएको छ, त्यो धेरै नै ठूलो संख्या भएकाले त्यसलाई कम गर्नुपर्दछ भन्ने हाम्रो मत छ ।

 

६. संवैधानिक अदालतको विरोध गर्दै त्यसका लागि निर्धारित सबै कार्यहरु सर्वोच्च अदालतद्वारा नै सम्पन्न गरिनुपर्ने आवश्यकतामा जोड दिन्छौं ।

 

चार राजनीतिक शक्तिहरुका बीचमा भएको सहमतिमा उल्लेखित उपरोक्त बुँदाहरु बाहेक हामीले संविधानको निर्माणको क्रममा निम्नलिखित विषयहरुमा पनि व्यवस्था हुनुपर्ने आवश्यकतामा पनि जोड दिन्छौं ।

 

७. नेपालको नागरिकता सम्बन्धी नीति खुकुलो र उदार भएकाले वा जन्मका आधारमा ठूलो संख्यामा गैर नेपालीहरु पनि नेपालको नागरिक भएकाले त्यसबाट देशको राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न भएको छ । त्यसकारण नागरिकता सम्बन्धी नीतिलाई कडा बनाउन ठोस नीति अपनाउनुपर्ने आवश्यकता छ । त्यस अनुसार जन्मका आधारमा वा अन्य कुनै तरिकाले विदेशीहरुलाई दिइएको नागरिकताबारे उच्चस्तरीय छानवीन गरी गैर नेपालीहरुलाई दिइएको नागरिकता खारेज गर्न समेत संवैधानिक व्यवस्था गरिनु पर्दछ ।

 

८. स्थानीय निकायहरु लोकतान्त्रिक प्राणालीका अति आवश्यक र महत्वपूर्ण अंगहरु हुन् । त्यसकारण स्थानीय स्वायत्त शासनलाई तलैदेखि मजबुत पारेपछि नै लोकतन्त्र मजबुत हुन सक्दछ । त्यसैले संविधानमा स्थानीय स्वायत्त शासनलाई मौलिक अधिकारका रुपमा स्वीकार गर्ने, संविधानले बनाएको कानून अनुसार तिनीहरुको कार्य संचालन गर्ने, कानूनभन्दा बाहिर प्रशासनले तिनीहरुमाथि कुनै हस्तक्षेप नगर्ने तथा स्थानीय निकाय र प्रशासनका बीचमा कुनै विवाद भएमा अदालतद्वारा त्यस प्रकारका विवादहरु टुंगो लगाउने संवैधानिक व्यवस्था हुनुपर्दछ । त्यसका साथै लामो समयदेखि स्थगित रहेका स्थानीय निकायको चुनाव पनि शीघ्र सम्पन्न गर्ने निर्णय हुनुपर्दछ ।

 

९. मानव सूचकांकका दृष्टिकोणले पिछडिएका जाति वा समुदायहरुको सूची बनाई उनीहरुका हक, हितको संरक्षण, विकास वा सम्बद्र्धनका लागि विशेष नीति अपनाइनु पर्दछ । त्यस्ता सूचीकृत जाति वा समुदायका जनता अत्यधिक बहुमत संख्यमा बसोवास गरेका स्थानहरुमा उनीहरुलाई स्वायत्त शासनको अधिकार प्रदान गरी जातीय अग्राधिकार समेत दिने व्यवस्था गरिनु पर्दछ । तर त्यस प्रकारको मानव सूचकांकको आधार बिना जातीय आधारमा त्यस प्रकारको कुनै विशेष अधिकार दिने प्रणाली गलत हो र त्यस प्रकारको नीतिलाई खारेज गरिनु पर्दछ ।

 

१०. एउटा राष्ट्रिय मापदण्ड निश्चित गरी को आदिवासी वा जनजाति हुन् र होइनन् ? त्यो कुरा निर्धारित गरी आदिवासी र जनजातिको सूची निर्धारित गरिनुपर्दछ । अहिले त्यस प्रकारको कुनै स्वीकृत मापदण्ड बिना स्वेच्छाचारी वा पक्षपातपूर्ण तरिकाले विभिन्न जातिहरुलाई आदिवासी, जनजातिका रुपमा सूचीकृत गर्ने जुन नीति अपनाइएको छ, त्यो अवैज्ञानिक छ र त्यसलाई खारेज गरिनु पर्दछ ।

 

११. अहिले खस जातिका मानिसहरुलाई जसरी ‘अन्य’का रुपमा राखिएको छ त्यसको कुनै तर्कसंगत आधार नभएको हुनाले त्यो नीतिमा परिवर्तन गरी विभिन्न जाति वा समुदायका विषयमा निर्धातिर गर्ने मापदण्डका आधारमा खस जातिबारे पनि नीति निश्चित गरिनु पर्दछ ।

 

१२. महिला, दलित वा अन्य पिछडिएका जाति, समुदाय वा क्षेत्रहरुको संरक्षण, सम्बद्र्धन वा विकासका लागि विशेष व्यवस्था गरिनु पर्दछ ।

 

१३. प्रवासी नेपालीहरुलाई संसदको चुनावमा समानुपातिक चुनावतर्फ मतदान वा संसारका विभिन्न देशहरुलाई विभाजन गरी समानुपातिक चुनावद्वारा विभिन्न क्षेत्रहरुबाट प्रतिनिधिहरुको निर्वाचनको अधिकार समेत सुनिश्चित गर्न आवश्यक संवैधानिक व्यवस्था गरिनु पर्दछ ।

 

१४. सबै शोषित पीडित वर्ग, जनताका न्यायपूर्ण हकहरु सुनिश्चित हुनेगरी संविधानको निर्माण गरिनु पर्दछ ।

 

१५. अन्य विषयहरुमा पहिले बेग्लाबेग्लै समयमा हाम्रो पार्टीका तर्फबाट प्रस्तुत गरिएका हाम्रा प्रस्ताव वा संशोधन प्रस्तावहरु अनुसार संविधानसम्बन्धी हाम्रा मतहरु अनुसार नै हाम्रा अवधारणाहरु कायम छन् र ती सबैलाई संविधानमा सामेल गर्नका लागि अनुरोध गर्दछौं ।

 

१६. उपरोक्त विषयमा हाम्रा कैयौं मतभेदहरुका बाबजुद हाम्रो पार्टीले  तोकिएको समयभित्र, अर्थात्, जेष्ठ १४ भित्र नै संविधानको निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिन्छ र त्यसका पक्षमा व्यापक जनमत र जनदवावको सृजना गर्न गणतन्त्र र संविधानसभा पक्षधर सबै राजनीतिक शक्तिहरु र आम जनतासित पनि अपील गर्दछौं ।
चित्रबहादुर के.सी.अध्यक्ष

 

 

 

 

तपाइँको प्रतिक्रिया ।
Close