मौन अवधिको पूर्ण पालना गर्नुस् : प्रमुख निर्वाचन आयुक्त डा यादव
कपन अनलाइन
काठमाडौं, ८ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई पुनः आह्वान गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उहाँहरुलाई स्वतन्त्ररुपमा छोड्दिन म आग्रह गर्छु ।’
प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदन केन्द्र निर्माणमा सहयोग पुर्याउन सरोकारवाला सबै पक्षलाई सुझाव दिँदै हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि मतदानमा खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको छ भने ।
शान्तिपूर्णरुपमा धैर्यताका साथ मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै उहाँले स्थानीय तहको निर्वाचन जस्तै उत्साहजनक सहभागिता जनाई उदाहरण प्रस्तुत गर्न सुझाव दिए ।
सुरक्षामा खटिएका जनशक्तिलाई चनाखो भएर आममतदाता, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि उनले निर्देशन दिए ।