संविधान कार्यान्वयन मूल एजेण्डा : नेता सिटौला
कपन अनलाइन
भद्रपुर, ७ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले वर्तमान नेपालको संविधान कार्यान्वयन गराउन आफू कटिबद्ध रहेको बताएका छन् ।
डेमोक्रयाटिक्स लयर्स एशोसिएशन नेपालको २७औं स्थापना दिवसका अवसरमा एशोसिएशन झापाद्वारा चन्द्रगढीमा आयोजित ‘संविधान कार्यान्वयन आजको अवश्यकता’ विषयक एकदिने छलफल कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेता सिटौलाले सो धारणा राखेका हुन् ।
उनले नेपाली काँग्रेसको नेतृत्वसहित आफ्नै अगुवाइमा निर्माण गरिएको संविधानले जनताका मौलिक हक अधिकारलाई सुनिश्चित गरेकाले अब सम्पन्न हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपश्चात् संविधान कार्यान्वयन हुँदै जाने विचार व्यक्त गरे ।
नेता सिटौलाले संघीयता, लोकतन्त्र र गणतन्त्र स्थापना गर्न परिवर्तन विरोधीलाई जनताद्वारा तिरस्कार गर्ने वातावरण बनाउने दायित्व अब कानून व्यावसायीको जिम्मामा आएको भन्दै संविधान कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षसमेत सचेत रहनुपर्ने धारणा राखे ।