इलेवन डाइमण्डमा बालकृष्ण ढुंगेलसँग

कपन अनलाइन\

कपन गाविसको वडा नं. २ को मूलबाटो छेवैमा इलेवन डाइमण्ड भन्ने रेष्टुरेन्ट छ । कपनका युवाहरुमात्र हैन कपनदेखि बाहिरका युवाहरुलाई पनि यो रेस्टुरेन्टले तानिरहेको पाइन्छ । कपनमा चर्चा छ यस रेस्टुरेन्टको । रेस्टुरेन्ट जानु अनि पैसा खर्च गर्नु अहिलेको आम दिनचर्या बनिसेकेको अवस्थामा देखाउनैका लागि भने पनि रेस्टुरेन्ट जाने संस्कृति बढिरहेको छ ।
असार १० गते साँझ भीषण पानी आउनु पूर्व यो रेस्टुरेन्टमा करिब १० जनाको एउटा समूह  कफि खाँदै रमाइरहेको भेटियो । १० जनाको समूहको बीचमा थिए चर्चित बालकृष्ण ढुंगेल । नेपाली राजनीतिमा ढुंगेल चर्चित अनुहार हो । उनको पार्टी तथा एमाओवादीबाट फुटेर बनेको माओवादी पार्टी उनलाई सारै राम्रो नेता मान्छन् भने यी दुईबाहेक अरु पार्टीका मानिसहरु उनलाई खलनायक सोच्छन् । १० वर्षै जनयुद्धकालमा अहिले माओवादी भन्ने धेरै नेताहरुले मानिस मारे होलान् तर यी ढुंगेलचाहिँ ती अभागी नेताको कोटीमा पर्छन् जसले मानिस मारेको प्रमाणित भएको छ । जिल्ला अदालत तथा सर्वाेच्च अदालत दुवैले यिनलाई सर्वस्वहरणसहित आजीवन कारावासको सजाय तोकेको छ । तर यिनी  राजधानीका विभिन्न कार्यक्रममा भाग लिइरहेको हुन्छन् ।
इलेवन डाइमण्डमा भेटिएका यी एमाओवादी नेतासँग केही उनकै पार्टीका सहकर्मिसहित कपन नेपाली कांग्रेसका युवा हस्तिहरु राजुविक्रम थापा र बद्रि भट्टराई पनि थिए । पछिल्लो समय विभिन्न पार्टीको भीड बटुल्दै गरेको एमाओवादीसँग यी दुई युवाहरु किन थिए त्यो त पत्तो लगाउन सकिएन तर यी युवासँग ढुंगेलको नियमितजस्तो भेट भैरहेको देख्नेहरु भन्छन् । पैसा भएको पार्टी भन्छन् एमाओवादीलाई । जेसुकै होस् ।

भनिन्छ, यतिखेर कांग्रेसचाहिँ कांग्रेसजस्तो छैन रे तर एमाले र एमाओवादीचाहिँ कांग्रेसजस्तो भैसक्यो रे । यो के भनेको हो ? यसका विविध अर्थ लाग्ला तर इलेवन डाइमण्डमा उत्साहित मूडमा देखिन्थे बालकृष्ण ढुंगेल ।
देशमा केही गर्ने उनको धोको देखिन्थ्यो । नेपाली कृषि माथि नउठेसम्म देशको मूहार नफेरिने धारणा साथीहरुलाई पोख्दै थिए उनी । यी दिनहरुमा नेपाली कृषिमा ठूलै योजना बुन्दै रहेछन् । उनी । कपनमा नै लामो समयदेखि अस्थायी बासोबास गर्दै आइरहेको यी नेताले तराईको धनुषा जिल्लामा विभिन्न दिग्गज व्यक्तिहरु समेटेर ४० विगाहामा(२६ हेक्टरमा) उन्नत खेतीको सम्भावना खोजिरहेका रहेछन् । कृषि क्षेत्रमा लागेका केही संस्था र व्यक्तिहरुसँग सहकार्य गरी एउटा उन्नत कृषि सहकारी निर्माण गरेर यो क्षेत्रफलमा नमूना कृषि गर्न चाहन्छन् उनी । बोलेर वा अर्काेलाई उपदेश दिएर हैन अब आफै माटोमा काम गर्न तम्सिएका उनीलाई कृषिले कति साथ दिने हो थाहा छैन तर कृषि क्षेत्रमा केही गर्न खोज्ने उनको सोचाई सकारात्मक हो ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।