आन्दोलनरत दललाई निषेध गरे अब भिडन्छ : वैद्य
काठमाडौं, १० असार/ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आन्दोलनरत दलहरूलाई निषेध गरेर संविधानसभाको चुनाव गराइए मुलुकमा ठूलो भिडन्त हुने चेतावनी दिनुभएको छ ।
आफूहरूलाई निषेध गरेर एकलौटी राज गर्ने केहिदलको सपना पुरा हुन नदिने उहाँको भनाइ छ । राजधानीमा आयोजित एक कार्यक्रममा वैद्यले चुनावी प्रक्रिया तत्कालका लागि स्थगित गरे आफूहरू वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।
सबै पक्ष एक ठाउँमा बसेर नयाँ सहमती नगरी मुलुकले निकास नपाउँने उहाको दाबी छ । वार्तामा बोलाउँने तर, आधारभूत माग पूरा नगर्ने सरकार र केहीदलहरूको नियतमा नै आफूहरूलाई शंका रहेको बताउनुभयो ।
जनयुद्धको मूल धारलाई निषेध गरेर संविधानसभाको चुनाव हुनै नसक्ने वैद्यले ठोकुवा गर्नुभयो । आन्दोलनरत दलहरूलाई निषेध गरी संविधानसभाको चुनाव गराइए आफूहरूले पनि आन्दोलनको बलमा सडकबाटै प्रतिवाद गर्नै वैद्यको चेतावनी छ ।