आफूहरु एक्लै निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा : अध्यक्ष दाहाल
कपन अनलाइन
चितवन, १० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको पनि बताए ।
एक्लै निर्वाचन जित्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा दाहालले भने, “सम्भावना छ भन्ने विश्वासमा छु। सो क्षेत्रमा माओवादी तेस्रो शक्ति रहेको छ। यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उनले बताए । दाहालले भने, “तालमेलको छलफल सबै दलसँग चलेको छ, टुंगो लागेको छैन ।” नेपाली काँग्रेस र नेकपा (एमाले)सँग तालमेलका विषयमा छलफल चलिरहेको भन्दै उहाँले ठोस निष्कर्षमा नपुगेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उनले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताए । बाँदरमुढे घटनाका कारण अहिले पनि आलोचित दाहाल असोज तेस्रो साता माडी जाने पनि बताए।
बाँदरमुढे घटनापछि माडीको विकासका लागि प्याकेजसहित आउने यसअघि घोषणा गरे पनि पीडितले प्याकेज पाउन सकेका छैनन् । दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाँदरमुढे पीडितले पनि राहत पाउने आशा गरेका छन् ।
निर्वाचनमा उठ्ने भएपछि विभिन्न कार्यक्रममा दाहाल सहभागी हुने क्रम बढ्दो छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हैसियतले भाग लिन दाहाल यहाँ आएका हुन् ।