वसन्त माविलाई नमूना विद्यालय बनाइने

वसन्त माविलाई नमूना विद्यालय बनाइने

कपन अनलाइन 

तेह्रथुम, १४ भदौ । जिल्ला शिक्षा कार्यालय, तेह्रथुमले लालीगुराँस नगरपालिका–२ स्थित वसन्त माध्यमिक विद्यालयलाई जिल्लाकै नमूना विद्यालयका रुपमा विकास गर्ने भएको छ ।

सरकारको ‘एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालय’ बनाउने अवधारणा अन्तर्गत गत आव बाट वसन्त माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान शुरु भएको हो ।

विद्यालयको अहिलेको अवस्था र सम्भावनालाई अध्ययन गरेर वसन्त माविलाई नमूना विद्यालय बनाउने अभियान शुरु गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए  ।

सो विद्यालयलाई सरकारले गत आव मानै नमूना विद्यालयका लागि पूर्वाधार निर्माणको काम अघि बढाउन रु २९ लाख ५० हजार अनुदान दिइसकेको छ । सो मध्ये आइसिटी ल्याबका लागि रु १३ लाख, विज्ञान प्रयोगशालाका लागि रु नौ लाख, नमुना पुस्तकालय निर्माणका लागि रु साढे ६ लाख रकम उपलब्ध गराइएको जिशिकाले जनाएको छ ।

विद्यालयलाई नमूना बनाउनका लागि गुरुयोजना नै तयार गरेर काम अघि बढाउने तयारी रहेको जिशिअ पोखरेलले बताए ।

सरकारले नयाँ शहरको रुपमा विकास गरिरहेको वसन्तपुर बजारमा अवस्थित वसन्त माविमा हाल शिक्षा, वाणिज्य र कृषि बाली विज्ञान विषयको पठनपाठन हुँदै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।