अब मोबाइल एपले नै जाँच्नेछ ब्लड सुगर, रगत निकाल्नै नपर्ने

अब मोबाइल एपले नै जाँच्नेछ ब्लड सुगर, रगत निकाल्नै नपर्ने

कपन अनलाइन 

एजेन्सी, असार २७। बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । रगतको थोपा नै ननिकाली ब्लड सुगरको जाँच गर्ने उक्त स्मार्टफोन एप एउटा यस्तो आविष्कार हो, जसबाट मधुमेहपीडित तथा मधुमेहको जोखिममा रहेका मानिसहरुको जीवनमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ ।

यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको जाँच गर्ने मानिसहरुमा औँलामा सुई लगाएर रगतको थोपा निकाल्ने झण्झट हटाइदिनेछ । यसमा विरामीले आफ्नो औँलामा क्यामराको लेन्स राख्नुपर्नेछ । त्यसपछि यो एपले औँलाको स्क्यान गरेसँगै प्रयोगकर्ताको मुटुको दर, शरीरको तापक्रम तथा रक्तचापको जाँच गरेर जवाफ दिनेछ ।

यस एपका संस्थापक डोमिनिक उडले यो एपले मानिसहरुको केबल ब्लड सुगर लेभल मात्र नभइ मधुमेहको जोखिममा रहेका मानिसहरुलाई पनि सतर्क बनाउनेछ । मधुमेहको जोखिम बढिरहेको अवस्थाका मानिसहरुलाई समयमै सतर्क बनाएर यसले रोग लाग्नबाट समेत बचाउन सहयोग गर्नेछ ।

यो एपले मानिसको इन्सुलिन हर्मोनको प्रतिरोधी लेभलको पनि जाँच गर्नेछ । जसले मधुमेहको खतरालाई सुरुमै आँकलन गर्न सकिनेछ ।पछिल्लो तीन वर्षदेखि वैज्ञानिकहरुले यो एप बनाउने प्रयास गरिरहेका थिए । आउँदो केही महिनामै यो एपलाई चिकित्सा परीक्षणमा लगिनेछ ।यो वर्षको अन्त्यसम्ममा एपस्टोरमा डाउनलोड गर्नका लागि यो एप पूर्णरुपमा उपलब्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।