बसको ठक्करबाट मृत्यु

कपन अनलाइन 

दमक, २७ असार । यात्रुवाहक बसको ठक्करबाट झापाको दमकमा आज बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मोरङ, राजघाटका ५५ वर्षीय नरबहादुर श्रेष्ठ छन् । पूर्वपश्चिम राजमार्गको चियादोकान सडक खण्डमा विराटनगरबाट झापाको काँकभिट्टातर्फ आइरहेकोे को १ ख ४४६८ नंको बसले सोही दिशातर्फ आइरहेको को २१ प ४६२३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
रुखले थिचेर शरणार्थीको मृत्यु

रुखले किचेर झापाको दमकमा एक वृद्ध भुटानी शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक– ३ स्थित बेलडाँगी शिविर सेक्टर इ– १ छाप्रो नं ४९ का ७३ वर्षीय जयबहादुर राई रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

राईको आज आफ्नै घरमा बसिरहेको अवस्थामा घर नजिकै रहेको सालको रुख ढलेर थिच्दा घटनास्थलमै मृत्यु भएको थियो । राईको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मङ्गलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।