स्थानीय निर्वाचन र उम्मेदवारको चयन र योग्यता क्षमताको पक्ष
कपन अनलाइन, काठमाडौँ / दृष्टिकोण
- बिसु के.सी.
२० वर्ष पछि स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय निकाय करिव करिव निस्क्रिय जस्तै रहँदा अर्थात कर्मचारीहरुबाट सञ्चालन भैरहँदा जन साधारणलाई परेको अप्ठयारोको कारण आफ्नै निर्वाचत प्रतिनिधिहरु रहेको स्थानीय सरकार स्थापना गर्न जनता आतूर देखिन्छन् । तर यो बीस वर्षमा देशमा धेरै परिवर्तन भैसकेको छ । पछिल्लो पटक स्थानीय निकायको निर्वाचन हुँदा जन्मेको मानिस अहिले मतदाता भई सकेको अवस्था छ । त्यति मात्र नभएर नेपालमा नयाँ संविधान जारी भएको छ भने देश राजतन्त्रको सट्टा गणतन्त्रमा र एकात्मक शासन व्यवस्थाबाट संघिय शासन व्यवस्थामा गएको छ ।
नयाँ संविधानले परिकल्पना गरे अनुसार २० वर्षअघिको स्थानीय निकाय नभएर अब स्थानीय तहको निर्वाचन हुँदैछ । अबको स्थानीय तह समिति मात्र नभएर स्थानीय सरकार पनि हो । यही मर्म र तथ्य बुझेर अब हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुनेले उम्मेदवारी दिनु पर्छ र भोट खसाल्नेले भोट हाल्नु पर्छ ।
अहिले स्थानीय तहका विभिन्न पदका लागि उम्मेदवारी दाबी गर्ने र आ आफ्ना पार्टीबाट टिकट पाउन कसरत गर्ने काम भैरहेको छ । दलीय व्यवस्थामा दल विशेषको विचार, सिद्धान्त र योजनाको प्रतिनिधित्व गर्दै उम्मेदवारहरु खडा हुन्छन् । सोही विचार सिदान्त र योजना मन पराउनेहरु मत हाल्छन् र बढी मत ल्याउने निर्वाचित हुन्छन् । विचार र सिद्धान्तको लडाइँ हुँदा यो कुरा बढी सत्य हुन्छ । सँधै र विशेषत स्थानीय निर्वाचनमा कोरा सिद्धान्त, विचार र चुनावी घोषणा पत्रले मात्र मतदाताहरूलाइ आकर्षित गर्दैन ।
विगतमा जब नयाँ विचारको स्थापना, प्रजातन्त्रको बहालीको आन्दोलनमा देश थियो त्यतिबेला यही काठमाडौंको मेयर पदमा त्यस वेलाका नेपालीका काग्रेसका सर्वमान्य नेता गणेशमानले “आफुले लौरो उठाए पनि जित्छ“ भनेका थिए र यहि सांकेतिक भनाइले गणेशमानको लौरो भन्दै हरिबोल भट्टराईलाई काठमाडौंका जनताले विजय गराएका थिए । तर आजका दिनमा न त त्यस्ता सर्वमान्य नेता नै भेटिन्छन् न त कसैको लौरोलाई जनताले भोट दिन्छन् ।
तैपनि पार्टीका स्थानीय कार्यकर्ताहरु गुटगत् नेताका नजिक छु भन्दै आफुले टिकट पाउने भनी चिया पसल, चोक र भेलाहरुमा गफ दिंदै हिडेको पाइन्छ । अहिलेको स्थानीय सरकार हाँक्न जाने व्यक्ति कसैको लौरो भएर मात्र पुग्दैन । उस्को आफ्नो क्षमता र योग्यताको धेरै भुमिका रहन्छ । तसर्थ कुनै पनि दल विशेषले कुनै नेताको लौरोलाई टिकट नदिएर आफ्नो कार्यकर्ता मध्य सक्षम र योग्य व्यक्तिलाई टिकट दिए मात्र आफ्नो उम्मेदवारले विजय हासिल गर्न सक्छ भन्ने तथ्यलाई उपेक्षा गर्नु हुँदैन ।
उम्मेदवारी दावी गर्नेले पनि आफु आफ्नो क्षेत्रका जनताबीच लोकप्रिय रहेको दावी गर्छन् । दलहरुले पनि उम्मेदवार छान्न बनाएका मापदण्डमा लोकप्रिय व्यक्तिलाई छान्ने भनेका छन् तर लोकप्रियता मापन गर्ने कसी के हो ? हिजोका दिनमा विचारको लडाई थियो । सिद्धान्तको आन्दोलन थियो । प्रजातन्त्रको बहाली र सुदृढीकरणको अभियान थियो । यसमा चर्को भाषण गर्ने, भीड जम्मा गर्न सक्ने, जनतालाई आन्दोलित गर्न सक्ने व्यक्ति लोकप्रिय हुन्थ्यो । कोही कोही साना तिना विकासे काममा बजेट पारेर अनि त्यस्तै कामको उपभोक्ता समितिको अध्यक्ष बनेर गरेको कामका आधारमा लोकप्रिय भएको दावी गर्छन् । यस्तो लोकप्रियता मात्र स्थानीय सरकार हाँक्ने योग्यता मान्न सकिन्न । तथापि स्थानीय जनतामा परिचित र लोकप्रिय हुनु कुनै पनि उम्मेदवारका लागि एउटा आधार भने अवश्य हो ।
नेपाल जस्तो कम विकसित मुलुकमा मात्र होइन विकासित समाजमा पनि जाती, भाषा, क्षेत्र र समूदायको आधारमा मत खसाल्ने संकिर्णता निर्मूल हुन सकेको छैन । कतै यो प्रवृत्ति बढी रहेको त हैन भन्ने आशंका विज्ञहरु गर्दछन् । हाम्रो जस्तो मुलुकमा अझ विगत दशकमा भएका आन्दोलनहरुले जातिगत, भाषागत, क्षेत्रगतरुपमा शासन व्यवस्थामा प्रतिनिधित्वको खोजी बढेको छ । यसैले कुनै दलले उम्मेदवारी चयन गर्दा जाति, भाषा, क्षेत्र र समूदायको बहुल्यतालाई पनि हिसाव गर्नु पर्ने बाध्यता छ ।
स्थानीय तहको विभिन्न पदहरुमा निर्वाचित हुनेहरुले केबल राजनैतिक नेतृत्व दिने र संगठनको अध्यक्ष, उपाध्यक्ष र सचिव भएजस्तो गरी मात्र काम गरेर हुँदैन । एउटा कार्यकारी प्रमुख भएर काम गर्नु पर्दछ । त्यस्ता कामहरु प्रशासनिक, आर्थिक, प्राविधिक, न्यायिक आदि धेरै प्रकारका हुन्छन् । कर लगाउने र उठाउने, मात्र नभएर स्रोत जुटाउन सहायता र ऋण पनि लिनु पर्ने हुन्छ । धेरै प्रकारका भौतिक निर्माणका कामहरु गर्नुपर्ने हुन्छ । अन्य निकायहरू, प्रदेश र केन्द्र सरकारसँग तालमेल मिलाएर जानुपर्ने हुन्छ । यस्ता धेरै र महत्वपूर्ण काम कर्तव्य र अधिकार वहन गर्ने सक्षम व्यक्ति चयन भए मात्र स्थानीय सरकारको परिकल्पना साकार हुन्छ ।
यथार्थमा गाउँघरको “सिंहदरवार“ सफल हुन्छ । यसका लागि मेयर लगायत वडाका सदस्यहरु पढे लेखेको, अनुभव भएको, व्यवहारिक तथा आवश्यक ज्ञान सीप भएको हुनुपर्दछ भन्ने अपेक्षा राखिएको पाइन्छ । नगर, गाउँ र वडाको प्रमुख समर्पित मात्र भएर हुँदैन समन्वय गर्न सक्ने तथा आफु मात्र खट्ने र परिचालित भएर हुँदैन । प्रशासनिक संयन्त्र, कार्यकर्ता, विभिन्न संघ संस्था र स्थानीय जन समूदायलाई परिचालन गर्न सक्ने क्षमता राख्नु पर्दछ । यसैले विश्व विद्यालयको डिग्री नभए पनि अध्ययन, अनुभव, स्वभाव र सामर्थ्यले योग्य देखिने व्यक्तिले उम्मेदवारी दिए मात्र जीत सुनिश्चित हुन्छ र उसको कार्यकाल सफल हुने विश्वास गर्न सकिन्छ ।
राजनैतिक दल विशेषले आफ्ना कार्यकर्ताहरुको त्याग, योगदान, समर्पण र लगन हेरेर उपयुक्त पदमा उठ्ने अवसर दिई पुरस्कृत गर्ने वेला यही हो । कार्यकर्ताहरु पनि यही बेला आफ्नो मूल्याङ्कनको अपेक्षा गरेर बसेका हुन्छन् । तीनलाई चित्त बुझाएर उम्मेदवार हुन “टिकट“ दिनु दलहरुको नेतृत्व सामू चूनौतिपूर्ण जिम्मेवारी आएको छ । तर दल भित्रको त्याग, समर्पण र योगदान मात्र भएर पुग्दैन । उम्मेदवारी जित्नका लागि दिने हो । चुनावमा जित्न नसक्ने कार्यकर्तालाई “टिकट“ दिएर खेर फाल्नु पनि हुँदैन । जितेर पनि पदको जिम्मेवारी सम्हाल्न नसक्ने वा कार्यदक्षता देखाउन नसक्ने, व्यक्तिगत स्वार्थ र प्रलोभन फस्ने व्यक्ति पदमा पुग्यो भने स्थानीय जनताले सास्ती पाउँछन् र दलको साख पनि गिर्न जान्छ ।
यसैले उपयुक्त उम्मेदवार कार्यकर्ता र सदस्यहरु मध्य नभेटिए, कार्यकर्ता वा सदस्य नभए पनि अन्य उपयुक्त, योग्य, सक्षम, चीरपरिचित र जन विश्वास हासिल गरेका समाजका असल नागरिक मध्यबाट पनि उम्मेदवार छनौट गरेर दल विशेषले अगाडि सार्न सक्ने हिम्मत देखाउन सक्नु वुद्धिमानी हुन्छ । यी र इत्यादि कुराहरूलाइ ध्यान दिएर उपयुक्त व्यक्तिलाई दलहरूले स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्ने छन भन्ने विश्वास छ ।
जनताले सरकारकी सेवा आफ्नै घर आगनमा पाउने, विकास निर्माणका काममा आफै सरिक हुन पाउने, आफ्नै भूगोल, हावापानी, धर्म संस्कृति अनुरुपको शासन प्रशासनको व्यवस्था गर्न पाउने अवसर भएको स्थानीय सरकारको अवधारणालाई सही ढँगले संचालन गर्न दलहरुले सही व्यक्तिलाई अगाडी बढाउनु पर्दछ । प्रजातन्त्रको अभ्यास मात्र नभएर स्वशासनको अनुभूति गर्न तथा समृद्धि र सुशान्तिको लागि उपयुक्त व्यक्ति उपयुक्त स्थानमा पुर्याउने गरी स्थानीय तहको निर्वाचन होओसर यही हामी सबैको कामना छ ।