(कविता) "सत्ताका किनाराहरु" –तीर्थराज अधिकारी
तीर्थराज अधिकारी नेपाली भाषा सहित्यका राम्रा प्रतिभा हुन् । विशेषगरी पद्य कवितामा उनका अक्षर महत्वपूर्ण रहेका छन् । प्राध्यापन पेशामा संलग्न अधिकारी विभिन्न साहित्यिक प्रतिष्ठानसँग पनि आबद्ध रहेका छन् । साहित्यिक पत्रपत्रिका सम्पादनमा क्रियाशिल उनी कपनमा रहेको समाजको आवाज संस्थाको मुखपत्र समाजको आवाजका सम्पादक पनि हुन् । कुनै समय कपनको चर्चित साहित्यिक संस्था कपन साहित्य समाज जुन आज मृत प्राय भैसकेको छ त्यस संस्थाका संस्थापक उपाध्यक्ष पनि हुन् ।
प्रस्तुत पद्य कविताले वर्तमान नेपाली राजनीतिका विसंगतिलाई सम्बोधन गर्दछ । राजनीति गर्नेहरुले समाज पारिरहेको असर प्रतिविम्व गर्ने यो कविता कपन संगीत सरोवरले आयोजना गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औं स्मृति कार्यक्रममा तीर्थराज अधिकारीले वाचन गरेका थिए ।
कविता
सत्ताका किनाराहरु
–तीर्थराज अधिकारी
तिम्रो सत्ता लघु गणितको खेल हो भोट एक
ठान्छौ आफ्नै अति प्रवलको मन्द कस्तो विवेक ।
तिम्रो सत्ता क्षणिक पलको राग हो–घामपानी
हिँड्दा हिँड्दा अनल पथमा शेषमा छौ खरानी ।।
तिम्रो सत्ता कति जहरिलो आशमा त्रास भर्छ
फक्री फुल्ने अधरभरिका मन्दमुस्कान हर्छ ।
बोक्छौ भारी कर र छलको भारले थुन्छ बाटो
तिम्रो यस्तै अधम मतिले जन्मको गुम्छ माटो ।।
चिल्लो बोक्रम फल विफलको भित्र–भित्रै छ खोक्रो
थुप्रो मात्रै सकल भुसको अर्थ के राख्छ धोक्रो ।
प्यादा सत्ता समर सपना फूलमा मूर्त पारी
गाल्दै, झार्दै प्रकृति सुषमा, पाल्छ उल्टै–मदारी ।।
घेरा कोर्दै मधुरमिलनमा नित्य धाँजा फटाई
अन्यायीका चरणरजमा माथ आफ्नो चढाई ।
नङ्ग्रा धस्दै मनुजसरीको पाउले टेक्छ चार
तिम्रो सत्ता कहरतिरको सुर कस्को गुहार ।।
भाषा मिठो वचन “जनता” बोल्न छाड्दैन कैल्यै
लुट्दै उल्टो सकल “जनता” भुट्न छाड्दैन कैल्यै ।
तिम्रो सत्ता असुर बलको मानवी–भाव शुन्य
बाँच्ने मार्दै बगरतिरका लाशको तोक्छ मूल्य ।।
मेरो सत्ता सम हृदयले भाव संसार बोक्छ
अग्ली अग्लो शिखर शिरमा भासको बास बोक्छ ।
मेरो सत्ता सकल जनको प्रीत हो जिन्दगानी
तारा बोल्छन् तिमीर पथमा खोज गर्दा बिहानी ।।
ज्यूँने आशा कुसुम कलि छन्–हाँस भन्छन् रमाऊ
बाँच्यौ जेका सरस रसले मृत्तिका त्यै सजाऊ ।।
आस्था मेरो अटल–गिरी हुन् सान हुन् सुभ्र शोभा
हाँस्ने–खेल्ने महक मनको भाव वैलिन्न आभा ।।
चढ्दै चढ्दै मन लहरिँदै दूरको स्वर्ग चुम्छु
झर्दै झर्दै क्रमसित यतै लोक आलोकमा छु ।
मैले खोल्दा सरसर गला लाखले साथ दिन्छन्
मेरो सत्ता नजिक तमका जाल–जन्जाल टुट्छन् ।।
तौली हेरँे समय सरणी–वासमा को छ रानो
आस्था जाँचेँ मन महलको बन्न को सक्छ छानो ।
बन्दा ध्यानी कसर मनको क्लेश–सन्ताप भाग्यो
दाना मिठो अधिक रसिला शब्दमा स्वाद भाग्यो ।।
देख्दा सानो कलम तर यो गर्छ सारा चिकित्सा
केस्र–केस्रा पद–वचनको राख्छ लेखा अभिप्सा ।
उन्मादीमा जलन अति छन् जल्नलाई डराऊँ
सत्ता आफ्नै मगमग अहा ! फूलझैँ ज्यूँन पाउँ ।।