उम्मेदवारी र विजयका लागि राजु श्रेष्ठ सर्वोत्तम विकल्प
कपन अनलाइन, काठमाडौँ । दृष्टिकोण/ बुढानिलकण्ठ नगरपालिकासमेत रहेको साबिकको काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिमा पछिल्लो एक वर्षमा प्रष्ट रुपमा परिवर्तन आएको छ । स्थानीय स्तरमा ने.का. को भातृ संगठनहरुको आक्रमक बिस्तार र निर्माणले निर्मित परिवर्तनको श्रेय क्षेत्रीय सभापति राजु श्रेष्ठ तथा समूहलाई जान्छ । आसन्न स्थानीय निकाय चुनावमा बु.न.पा. को मेयरको लागि ने.का. बाट अनेक नाम अगाडी आइ रहँदा क्षत्रीय सभापति राजु श्रेष्ठ मेयरका सबैभन्दा उत्तम बिकल्प हुने देखिन्छ ।
राजु श्रेष्ठको नाम आउनासाथ गगन थापासंगको उनको सम्बन्ध यस क्षेत्रमा लोकप्रिय रुपमा जोडिन आउँछ । क्षेत्रीय सभापति र क्षेत्रका निर्वाचित माननीय एक अर्काका अनन्य मित्र होईनन् भन्ने कुरा प्रष्ट छ र यस विषयलाई अनावश्यक रुपमा बिषाक्त बनाउनु पर्ने कुनै आवश्यकता छैन। किनभने यी दुई व्यक्तिको राजनीतिक ‘अप्रोच’ नितान्त फरक छ । तसर्थ यो व्यक्तित्त्व भन्दा पनि ‘अप्रोच’ को टकराव हो । यस अप्रोचको टकरावलाई व्यक्ति विशेषप्रति कम पूर्वाग्रही भई सोच्ने र काम गर्ने हो भने क्षेत्र र पार्टीका लागि हानी भन्दा फाइदा बढी छ।
एक छिन यी फरक राजनितिक ‘अप्रोच’ को कुरा गरौं । राजु श्रेष्ठ समर्थितहरु थापाले क्षेत्रमा संगठनको संरचनात्मक बिस्तार र निर्माण नगर्नुलाई उनको राजनैतिक दुर्बलता, असक्षमता र अहंको रुपमा हेर्छन् । यस आरोप अप्राशाङ्गिक पक्कै होइन, तर के बुझ्न जरुरी छ भने गगन थापाको राजनीतिक दर्शन “ओल्ड स्कूल” संगठनात्मक संरचनाको पक्षमा नभई विपक्षमा निर्मित छ । ने.का.को दशकौं पुरानो सिद्धान्त, सोच र संरचनाका केही महत्त्वपूर्ण विषयहरुमा थापाले खुला र प्रष्ट रुपमा आफ्नो बिमती राखेका छन् । उनको राष्ट्रिय राजनीतिमा रहेको बेजोड ‘करिज्मा’ को आधार पनि यसै बिमतीपूर्ण राजनीतिक सोच हो।
तसर्थ गगन थापाले ने.का. भित्र गर्ने राजनितीक ‘अप्रोच’ भनेको ‘पोलेटिकल डिफायन्स’ (बगावत) हो । उनको ‘अप्रोच’को अन्तिम बिन्दु भनेको ने.का.को सैद्धान्तिक र संरचनात्मक स्वरुपको समय सापेक्ष परिवर्तन हो । यस अर्थमा थापाले आफ्नो क्षेत्रमा यथास्थितिको संगठनिक संरचनाको बिस्तार र निर्माण नगर्नु उनले अङ्गिकार गरेको ‘पोलिटिकल डिफायन्स’ को एक स्वरुप मात्र हो, यो राजनीतिक असक्षमता नभई उनको ईनफोरम्ड राजनितिक च्वाइस हो । तर थापाको कमजोरी के रह्यो भने, उनको इनर सरकल तथा नजिक भनिएका व्यक्तीहरुले कि त उनको राजनितीक अप्रोच बुझेनन् वा अरुलाई बुझाउन सकेनन् ।
राजु श्रेष्ठको राजनीतिक ‘अप्रोच’ थापाको भन्दा नितान्त फरक छ; उनी संगठनिक संरचनामा विश्वास गर्छन्। त्यसैले उनले ने.का. भित्रको ‘ओल्ड स्कूल’ धारलाई समातेर अगाडि बढ्न खोजेको देखिन्छ । उनले आक्रमक रुपमा विस्तार गर्दै गरेको संगठनिक संरचना उनको यसै ‘अप्रोच’को स्वरुप हो । र यस कार्यलाई स्थानीय निकायको चुनावलाई ध्यानमा राखी गरेको दुरगामी रणनितिक योजनाको रुपमा हेरिएको छ। तर अहिले निर्माण गरिएको संगठनिक आधारलाई श्रेष्ठले स्थानीय चुनावमा प्रयोग गरेनन् वा उच्चतम प्रयोग गर्न सकेनन् भने उनको यस ‘ओप्रोच’मा प्रश्न उठ्ने प्रष्ट छ ।
यो ‘अप्रोचको टकरावको बावजुद, यी दुई व्यक्तित्त्वहरुमा केही महत्त्वपूर्ण समानता पनि देखिन्छ। पहिलो र महत्त्वपूर्ण समानता भनेको दुबैको उच्च र सकारात्मक राजनीतिक महत्त्वाकाङ्क्षा । सक्रिय र दिगो राजनीतिक करियरका लागि यस प्रकारको महत्त्वाकाङ्क्षा महत्त्वपूर्ण हुन्छ र उचित समय र मौकामा सार्वजिक पदमा आसिन हुंदा यसले पोजेटिभ नतिजा दिन आन्तरिक-दबाबको काम गर्छ। राजुको लोकप्रयताको एउटा कारण यो पनि हो की, उनले आफूलाई अघोषित रुपमा यस क्षेत्रमा गगन थापाको एन्टि-थेसिसको रुपमा उभ्याउन खोजेको देखिन्छ। यस प्रकारको मुभले राजनीतिमा सधैं नै काम गरेको देखिन्छ, स्वयं गगन थापाले आफूलाई ने.का. को तात्कालिन पार्टि संस्थापना बिरुद्ध आफूलाई उभ्याएका हुन् ।
राजु श्रेष्ठको राजनीतिक उचाईको परिधी नगरपालीकाको मेयरमा सिमित छैन र हुनु पनि हुंदैन । तर पपुलर राजनीतिमा उनको प्रस्थान बिन्दु बु.न.पा. को मेयरबाट गर्दा सबैभन्दा प्रभावकारी हुने देखिन्छ। भविष्यमा हुने प्रदेशिक र संसदिय चुनावमा आफ्नो संभावना देखिरहेका श्रेष्ठले न.पा.को मेयरको कार्यकारी पदलाई कम आँक्नु गल्ती हुनेछ। नयाँ संविधानले स्थानिय तहको अधिकारलाई पहिला भन्दा बृहत र बलियो बनाएको छ। श्रेष्ठका लागि स्थानीय तहले भविष्यका लागि महत्त्वपूर्ण भोटर बेस बनाउन मद्दत पुर्याउनेछ । स्थानियतहबाट लोकप्रियता हासिल गरी राष्ट्रिय राजनीतिमा स्थापित हुने नेताहरु विश्वमा धेरै छन्, हालका बेलायती विदेश मन्त्री बोरिस जोनसोन (लन्डनका पूर्व मेयर) यस प्रक्रियाका पछिल्ला उदाहरण हुन् । बदलिंदो राष्ट्रिय राजनीतिक र लोकतान्त्रिक अभ्यासमा यो क्रम नेपालमा पनि लागु हुने निश्चित छ।
स्थानीयस्तरको चुनावमा मतदाताको भोटिङ्ग व्यवहार संसदिय चुनावमा भन्दा फरक हुन्छ। यसलाई कसरी बुझ्नु पर्छ भने, ने.का.ले यदि राजु श्रेष्ठ नभई अरु कसैलाई मेयरमा उठाउने हो भने, उनी तथा उनका समर्थकले पुनर्जागरण गरेको संगठनिक संरचनाले ने.का.कै अरु उमेद्वारलाई उही सहयोग गर्छ भन्ने केही छैन। र यदी केही गरी उक्त उमेद्वारले चुनावमा बिजय हासील गरेन भने अर्को ४-५ वर्ष ने.का. भित्रको आन्तरिक द्वन्द्वले यस क्षेत्रमा अर्को बिकराल स्वरुप लिने त छ नै, स्वयं क्षेत्रीय सभापतिको हैसितले उक्त हारको भार राजु श्रेष्ठ तथा क्षेत्रका निर्वाचित माननियले आफ्नो काँधमा लिनु पर्नेछ।
राजु श्रेष्ठलाई चुनावमा सहयोग एउटा महत्त्वपूर्ण पाटो भनेको उनी यस प्रक्रियाका नयाँ खेलाडी हुन्। अन्य सम्भावित विपक्षी आकांक्षीहरु (विशेष गरी एमालेका) प्राय: पूराना अनुहार छन्। यस चुनावमा पहिलो पल्ट स्थानीय चुनावमा भोट खसाल्ने नयाँ मतदाताहरु ठूलो मात्रमा रहेका छन् र पुराना अनुहारप्रति राष्ट्रिय रुपमै ठूलो वितृष्णा छ । श्रेष्ठले यी नयाँ तथा युवा अनुहारलाई आफूतिर आकर्षित गर्ने सजिलो पनि हुनेछ।
गगन थापा यिनै नयाँ तथा युवा जमातको राष्ट्रिय राजनीतिक अनुहार र प्रतिनिधी हुन् । आफ्नो क्षेत्रमा मेयरको टिकट कसलाई दिने भन्नेमा उनको भूमिका पक्कै पनि महत्त्वपूर्ण हुनेछ । यस कारण थापाले उम्मेद्वार चयन गर्दा आफ्नो भोटर बेसलाई ध्यान राखी गर्नु पर्ने दबाब छ । त्यस भोटर बेसले पत्याउने एउटा मात्र सम्भावित पात्र राजु श्रेष्ठ हुन् भन्ने उनले राम्ररी बुझ्न आवश्यक छ । राजु श्रेष्ठलाई मनोनयन वा समर्थन गर्दा थापालाई, लामो समय देखि रहेको अघोषित क्षेत्रिय टकरावलाई सेफ ल्यान्डिङ्ग मिल्नेछ । आफ्नो क्षेत्रमा ने.का.ले जित्ने सम्भावनामा पनि बलियो हुनेछ । यस अर्थमा राजु श्रेष्ठको मेयरको उमेद्दवारी win-win रणनीति हुने देखिन्छ।