सोलुखुम्बुमा स्थानीय निकाय कार्यान्वयनमा

कपन अनलाइन 

सोलुखुम्बु, १ चैत । सोलुखुम्बुमा सोमबार आठवटा सबै स्थानीय निकाय कार्यान्वयनमा आएका छन् । जिल्ला समन्वय समितिका संयोजक स्थानीय विकास अधिकारीले जिल्लास्थित एक नगरपालिका र सात गाउँपालिकामा कायममुकायम तोकी कार्य सञ्चालनको आदेश दिए पछि सबै स्थानीय निकाय कार्यान्वयनमा आएका हुन् ।

स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा साबिकको दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईलाई कामु कार्यकारी अधिकृत तोकिएको छ ।

त्यस्तै, महाकुलुङ गाउँपालिकामा चन्द्रप्रसाद लुइँटेल, सोताङ गाउँपालिकामा विनोद केसी, दूधकोसी गाउँपालिकामा राजु गिरी र खुम्बु–पासाङल्हामु गाउँपालिकामा विनोद बस्नेतलाई कामु तोकिएको छ । दूधकौशिका गाउँपालिकामा रवीन्द्र कटुवाल, नेचासल्यान गाउँपालिकामा गणेशदत्त रावल र लिखुपिके गाउँपालिकाको कामु कार्यकारीमा लक्ष्मी भट्टराईलाई तोकिएको छ ।

साबिकको जिविसले सोमबार नै साइनबोर्ड परिवर्तन गरी जिल्ला समन्वय समिति बनाएको छ भने साबिकको दूधकुण्ड नगरपालिकाले पनि बोर्ड परिवर्तन गरी सोलुदूधकुण्ड नगरपालिका बनाएको छ । सबै स्थानीय निकायले तोकिएको कार्यादेशअनुसार काम सुरु गरेका स्थानीय विकास अधिकारी सापकोटाले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।