बुनपा नेकामा रणनीतिकारको रुपमा काम गर्दै कर्माछिरिङ शेर्पा

कपन अनलाइन, काठमाडौँ । 

कर्माछिरिङ शेर्पालाई काठमाडौँ क्षेत्र नं. ४ नेपाली कांग्रेसभित्र प्रभावशाली र चतुर नेताको रुपमा लिइन्छ । क्षेत्र नं. ४ तिर वर्तमान नेका राजनीतिमा उनलाई किङमेकर भनेर पनि चिनिने गरिन्छ । उनी किन किङमेकर भए वा उनलाई किन त्यसो भनिन्छ तिर नजाने हो भने पनि उनी क्षेत्र नं. ४ मा क्षेत्रीय सभापति जत्तिकै सक्रिय छन् नेका राजनीतिमा । हरेक ठाउँमा पुग्छन्, सबैसँग सम्पर्कमा रहन्छन् तथा भ्याएजति उपलब्ध हुने गर्छन् । सामाजिक संजालमा पनि उनको उपस्थिति क्षेत्र नं. ४ का कुनै पनि पार्टीका नेताहरुभन्दा धेरै नै बढि छ । चर्चाको परिधिमा रहिरहन रुचाउने स्वभावले पनि उनलाई सक्रिय बनाउने गराएको छ ।

 
उनको यो सक्रियताले क्षेत्र नं ४ नेकालाई फाइदा नै भएको छ भलै यो उनकै पार्टीका कतिपयलाई चित्त बुझ्दो नलाग्ला । नेका राजनीतिमा लामो समयदेखि सक्रिय कर्माछिरिङ शेर्पा बिद्यार्थी राजनीतिदेखि नै एक योद्धाको रुपमा क्रियाशिल थिए । आजका दिनमा नेपाली कांग्रेसमा देखिएको युवा नेताहरुमध्ये धेरैजसोलाई उनले नै नेबिसंघमा स्थापना गराएका थिए । तीमध्ये हाल मन्त्रीसमेत रहेका गगन थापा पनि एक हुन् ।
नेपाली कांग्रेसभित्र प्रकाशमान सिंहका हिमायती मानिने कर्माछिरिङ शेर्पा खुलेर आफ्नो चाक्सीबारीसँगको सम्बन्धतालाई लुकाउने गर्दैनन् । उनको यो चाक्सीबारीसँगको मजबुत नाताले गर्दा क्षेत्र नं. ४ मा उनलाई नरुचाउनेहरु पनि धेरै छन् । उनलाई क्षेत्र नं. ४ नेकामा राजनीतिभन्दा प्रकाशमान सिंहको राजनीतिलाई बढावा दिने गरेको आरोप उनीहरुको छ ।

 
राजनीतिसहित उनी खेल क्षेत्रका पनि विशिष्ट हस्ती हुन् । नेपाली खेल क्षेत्रमा उनको योगदान अवश्मिरणीय मानिन्छ । नेपाली फुटबल क्षेत्रमा गणेश थापाको एकछत्र राज्यलाई सदाका लागि अन्त्य गर्न उनकै महत्वपूर्ण भूमिका थियो । यो बाहेक नेपाली शिक्षा क्षेत्रमा पनि सक्रिय छन् शेर्पा । टिआइए नामको काठमाडौको चलेको प्लस टु सम्मको विद्यालयका उनी अध्यक्ष हुन् । बिभिन्न सामाजिक क्षेत्रमा पनि उनको विशिष्ट उपस्थिति हुने गरेको छ ।

 
सरकारले स्थानीय निकाय चुनवाको घोषणा गरेपछि चारैतिर चुनावको माहौल बन्दै गएको अवस्था छ । उम्मेदवार को बन्ने वा कस्लाई बनाउनेदेखि कुन पार्टीले जित्लासम्मको आंकलन स्थानीयस्तरमा शुरु भैसकेको छ । स्थानीय निकाय चुनावको परिवेशमा पनि कर्माछिरिङ शेर्पाको सक्रियता उल्लेखनीय बन्दै छ । बुनपा तथा काठमाडौँ क्षेत्र नं. ४ राजनीतिमा सभापति राजु श्रेष्ठ जत्तिकै चासो मात्र राख्दैनन् जोड घटाउ पनि गर्छन् उनी ।

 

कहाँ कसलाई कसरी जिताउने वा को मान्छेलाई कुन पद दिने जोड घटाउमा सभापतिलाई उनी सघाउने तयारीमा छन् । नगरपालिकाको हरेक क्षेत्रमा बलियो बनाउने मेयरको खोजीमा रहेको उनी बताउँछन् । भिजन भएको मानिस बुनपाजस्तो महत्वपूर्ण नगरपालिकामा चाहिने भएकाले समस्या बुझ्ने हैन समाधान दिनसक्ने नेताको खोजीमा देखिएका थोरै पात्रमध्ये कसलाई रोज्छन् भन्ने कुरा चाहिँ उनी खुलाई हाल्दैनन् ।
शेर्पा भन्छन्, “व्यक्ति हैन सिस्टम हावी हुने नेतृत्व आवश्यक छ बुनपामा । इमान्दार र घोषणपत्र अनुसार काम गर्ने व्यक्ति नै अबको मेयर हुन्छ ।”

उनले भनेको क्याटागोरीमा छवि राम्रो भएको, नैतिक तथा सामाजिक प्रतिष्ठा भएको मानिस मेयर बन्नेछ । उनको यो क्याटागोरी वडाध्यक्षमा पनि लागु हुनेछ ।

 
शेर्पाले भनेको यो क्याटोगोरी को पर्नेछ भन्नेमा पात्रको नाम लिन नचाहे पनि सभापति राजु श्रेष्ठ मात्र यो पदको लागि सम्भावित व्यक्ति हो कि भन्ने विषयमा उनी मुख खोली हाल्दैनन् । हाल बुनपाको मेयरका लागि सम्भावित व्यक्तिहरुमा गोकर्ण केसी, न्हुच्छेनारायण श्रेष्ठ, राजाराम बुढाथोकी, आत्माराम पौडेलमध्ये को हुन् भन्ने बारेमा उनले खुलाएनन् । सभापति राजु श्रेष्ठले क्षेत्र र बुनपा नेकालाई एक बनाएर मेयरको उम्मेदवार बन्ने सक्ने कुरा पनि उनले नकारेनन् ।

 
क्षेत्रमा प्रकाशमान सिंहको राजनीति गर्ने व्यक्तिको रुपमा चिनिएका कर्माछिरिङ शेर्पाको पहिलो रुचि गोकर्ण केसी रहने धेरैले सोचेका छन् । बुनपामा लोकप्रियता र सक्रियतामा खासै नचिनिएका भए पनि गोकर्ण केसीलाई प्रकाशमान सिंहको नजिकका व्यक्ति भएर चिनिने गरिन्छ । यद्यपि शेर्पाले खुलेर गोकर्ण केसीको नाम लिन अहिलेसम्म चाहेका छैनन् । उनले मेयरको टिकट संसदीय समितिले बाँड्ने भएकाले क्षेत्रमा रुख चिन्हलाई भोट हाल्ने माहौल बनाउँदै गरेको बताए । पार्टीले जसलाई टिकट दियो उसको पक्षमा भोट हाल्ने वातावरण सिर्जना गर्न बिभिन्न कार्यक्रमहरु र भेलाहरु आयोजना भएको र गर्ने तयारीमा रहेको उनले बताए ।

 
कर्माछिरिङ शेर्पा बुनपामा नेपाली कांग्रेसको उत्कृष्ट अवस्था रहेको बताउँछन् । पार्टीभित्रैबाट घात, अन्तर्घात, प्रतिघात नहुने हो भने बुनपामा मेयर, उपमेयर मात्र हैन १० भन्दा धेरै वडा नेकाको हुनेमा विश्वस्त छन् शेर्पा । शेर्पा भन्छन्, सजिलै चुनाव जितिन्छ । उनी पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई ८ वर्षसम्म कारवाही गर्ने तयारी भएको बताउँछन् । अनुशासनको कुरामा नेकालाई लामो समयदेखि असरल्ल पार्टीको रुपमा लिइए पनि यो स्थानीय चुनावमा अनुशासनबाट बाहिर जानेलाई नछाडिने उनले बताए । चैतको पहिलो हप्तासम्ममा क्षेत्र न ४ र बुनपाका लागि रणनीतिक कार्ययोजना बनाइसक्ने शेर्पाले बताए ।

 
अढाई वर्षअघि गगन थापाले रुख चिन्हबाट अत्याधिक मत ल्याएर जितेको निर्वाचन क्षेत्रको महत्वपूर्ण भाग र नरहरी आचार्यले पनि त्यसैगरी राम्रो मत ल्याएर जितेको महत्वपूर्ण भाग बुढानिलकण्ठ नगरपालिका हो । कर्माछिरिङ शेर्पाजस्ता किङमेकरहरुले अढाई वर्ष अघिको पार्टीको त्यो साखलाई कायम गर्न पुर्याउने भूमिका सबैभन्दा महत्वपूर्ण मानिन्छ । शेर्पाजस्ता महत्वपूर्ण पात्रहरुले मेयर छनौटमा केन्द्रसम्म पुर्याउने दबाब तथा बुनपामा जित्न सक्ने पात्रका बारेमा मानसिकता बनाउने क्रममा गुट उपगुट नहेरी पार्टीलाई सर्वाेपरी ठानेर पुर्याउने भूमिका आगामी दिनमा देखिनेछ ।

 
बुनपाको स्थानीयस्तरमा नेकपा एमालेलाई कमजोर मानिदैन । बुनपाले ओगटेको ६ वटा नै गाविस ०५४ सालको स्थानीय चुनावमा एमालले जीत हासिल गरेको क्षेत्र भएकाले त्यसको फाइदा कहिँकतै एमालेले लिने सक्ने अवस्थालाई मूल्यांकन गरि एमालेका तर्फबाट सम्भावित मेयर पदका उम्मेदवारहरु कुसुम कार्की, बिदुरविक्रम खड्का, उद्धब खरेल, दीपक निरौला आदिसँग हरेक कुरामा सजिलै प्रतिष्पर्धा गर्न सक्ने नेताका लागि लविङ गर्ने भूमिकामा कर्माछिरिङ शेर्पाको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।