कञ्चनपुर घटनाप्रति सरकार संवेदनशील छ – प्रम

कपन अनलाइन 

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

कञ्चनपुरको पुनर्वासमा मृत्यु भएका गोविन्द गौतमको सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको नेकपा (माओवादी केन्द्र) ७ नं प्रदेशको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपाल एक स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताउनुभयो ।

प्रधानमन्त्रीले दाहालले भन्नुभयो – “घटनाको गम्भीर रुपले छानबिन हुन्छ र दोषीमाथि कारबाही हुन्छ, यसमा सरकार गम्भीरमात्रै होइन, निकै संवेदनशील छ ।”

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले लगातार कूटनीतिक संवाद गरिरहेको तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएकोपनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो – “कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो, घटना घटेलगत्तै भारतीय दूतावासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको छु ।”

सो घटनाका विषयमा आज नै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्मा सम्बोधन गर्नेसमेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

उहाँले नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, यसको स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप र आक्रमण मान्य नहुने स्पष्ट पार्दै “कञ्चनपुरको स्थितिका बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु, गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ, परिवारलाई तत्काल रु १० लाख राहत र गौतमका दुई छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ भन्नुभयो ।

माओवादी केन्द्रका ७ नं प्रदेशका इन्चार्ज लेखराज भट्टद्वारा बुझाएको ज्ञापनपत्रमा स्व गौतमलाई राष्ट्रिय सहिद र सम्मान गर्न, मृतकका परिवारलाई रु ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि सजाय गर्न, गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।