जनताको अधिकार स्थापित गर्न निर्वाचन आवश्यक ः प्रधानमन्त्री
कपन अनलाइन
काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकार जनताको घर घरमा पु¥याउन स्थानीय तहको निर्वाचन अति आवश्यक भएको बताउनुभएको छ ।
थकाली जातिको महान् संस्कृतिक चाड तोरन्ल २०७३ को आज यहाँ शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “संविधान कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन घोषणा भएको हो ।”
प्रधानमन्त्री प्रचण्डले मधेसका जनताका मागलाई सम्बोधन गरेर मुलुकलाई एकताबद्ध बनाएर देशमा स्थायित्व र समृद्धि ल्याउनुपर्छ भन्दै त्यसका लागि सबै नेपालीको साथ आवश्यक भएको बताउनुभयो ।
मुलुक चुनौती र अवसरका बीचमा उभिएको चर्चा गर्दै उहाँले लामो समयपछि समावेशी र समानुपातिक संविधान घोषणा भएको र त्यसलाई फराकिलो बनाउन संविधान संशोधन आवश्यक रहेको छ भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका लागि निरन्तर लड्न तयार थकाली जातिको धर्म संस्कृतिको जगेर्नाका लागि आफूले अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ८७ वर्षका उमेरमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने तयारीमा रहनुभएका आरोही मीनबहादुर शेरचनलाई सम्मानसहित शुभकामना व्यक्त गर्नुभयो ।
तोरन्लमा थकालीहरुले तीन दिनसम्म आ–आफ्ना पितृलाई सम्झने गर्छन् । प्रायः सबै जनजातिले आ–आफ्ना चाडका अवसरमा सार्वजनिक बिदा पाएको उल्लेख गर्दै उनीहरुले तोरन्लका अवसरमा बिदा दिनुपर्ने माग गरेका छन् । रासस