काभ्रेमा मतदान केन्द्र पुनरावलोकन सुरु

कपन अनलाइन 

बनेपा, २५ फागुन । काभ्रेपलाञ्चोकमा स्थानीय निकायको निर्वाचनका लागि मतदान केन्द्र पुनरावलोकन सुरु भएको छ ।

पुनः संरचनाअनुसार हुने निर्वाचनका लागि पुरानो मतदान केन्द्रलाई आधार मानेर त्यस्तो पुनरावलोकन प्रक्रिया सुरु भएको निर्वाचन कार्यालय, धुलिखेलका प्रमुख मधुकर पोखरेलले जानकारी दिनुभयो ।

“हामीले आन्तरिक तयारी गरिरहेका छाँै, तर मतदान केन्द्र निश्चित भएको छैन”, उहाँले भन्नुभयो । पुनः संरचनाअनुसार जिल्लामा ६ नगरपालिका र सात गाउँपालिका छन् । पोखरेलले पुरानो एकसय ८५ मतदान केन्द्रलाई नै आधार मानेर सोही सेरोफेरोमा मतदान केन्द्र तोकिने उल्लेख गर्दै जिल्लाको खहरेपाँगु गाविसमा निर्वाचन आचारसंहिता विपरीत कर्मचारी भर्ना रोकिएको बताउनुभयो ।

जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न कडाइ गरिएको बताउँदै पोखरेलले मतदान केन्द्रका लागि आवश्यक हुने जनशक्ति व्यवस्थापनको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक मतदाता नामावलीमा हुने नामका आधारमा नयाँ परिचयपत्र हुन्छ, पुरानो परिचयपत्रले निर्वाचनमा सहभागी हुन पाइँदैन ।” रासस

तपाइँको प्रतिक्रिया ।