निर्वाचन आचारसंहिता छलफल

कपन अनलाइन 

भद्रपुर, २३ फागुन । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा आज यहाँ निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

अगामी वैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, स्वच्छ एवम् पारदर्शी बनाउने उद्देश्यले निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता २०७३ को विषयमा व्यापक प्रचारप्रसार एवम् जानकारी गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, कानुन व्यवसायी र सञ्चारकर्मीको सहभागिता थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले निर्वाचन सम्बन्धमा जारी भएको आचारसंहिता पालना गर्नु हामी सबैको कर्तव्य रहेको भन्दै नबुझेका र नजानेका विषयमा निर्वाचन कार्यालयमा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले निर्वाचन आचारसंहितामा उल्लेख भएका विषयमा विस्तृत जानकारी दिनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।