जुगल स्कूलको अभिभावक दिवस सम्पन्न, ५ दर्जन बढि सम्मानित

कपन अनलाइन, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका १२ मा रहेको जुगल ईङ्गलिस मिडियम सेकेण्डरी स्कूलले आफ्नो १८ औं वार्षिकोत्सव तथा नवौं अभिभावक दिवस मन्त्री परिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । विविध साँस्कृतिक प्रस्तुतिसहित स्कूल प्राङ्गणमा फागुन २१ गते शनिबार भएको कार्यक्रममा कपन क्षेत्रका करिब पाँच दर्जन सामाजिक संस्था एंव व्यक्तिलाई सम्मान गरिएको थियो ।

 

सम्मानकै क्रममा विद्यार्थी, शिक्षक र अभिभावकलाई पनि पुरस्कृत एंव सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले जुगलको अतिरिक्त क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले जुगलबाट अन्य विद्यालयले पनि पाठ सिक्नुपर्ने बताउँदै विश्वव्यापी प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी जुगलले उत्पादन गर्न सकोस् भनेर शुभकामना दिएका थिए ।

तीन दशक देखि निरन्तर शैक्षिक क्षेत्रमा सक्रिय जुगल स्कूलका व्यवस्थापन समितिका अध्यक्ष डी पी आचार्यले निकट भविष्यमै प्लस टु संचालन गर्ने बताउँदै प्राविधिक जनशक्ति उत्पादनका लागि प्राविधिक विद्यालय चलाउन गृहकार्य भइरहेको बताए । उनले जुगल सबैको साझा रहेको बताउँदै समाजका सबैको पहुँचमा जुगलको शिक्षा रहने घोषणा गरे । विविध साँस्कृतिक कार्यक्रम अन्तर्गत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीको विभिन्न जात-जाती र क्षेत्रको विविधता झल्काउने खालको प्रस्तुतिले कार्यक्रम भव्य र मनोरञ्जनात्मक भएको थियो ।

अभिभावक दिवस नै पारेर स्कूलको भूकम्प प्रतिरोधी नयाँ भवनको पनि मन्त्रीपरिषद्का पूर्व अध्यक्षले रेग्मीले उद्घाटन गरेका थिए । सम्भवत: कपन क्षेत्रमै सबैभन्दा बढि क्षेत्रफल र शान्त वातावरण भएको जुगलमा करिब ७०० विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रिन्सिपल बिवेक विनयीले जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।