शिवगंगा खोलाबाट अबैध उत्खनन जार

कपन अनलाइन

 
मिन ठकुरी
धनगढी, ६ माघ । कैलालीको चौमाला गाविसमा पर्ने शिवगंगा र गौरीगंगा खोलाबाट लामो समयदेखि अबैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन भइरहेको छ । स्थानीय बासिन्दाले शिवगंगा खोलाबाट अबैध रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन भइरहेको जानकारी जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपनि त्यसको रोकथामको पहल हुन सकेको छैन् ।
उक्त दुई खोलाबाट दिनहुँु खुलेयाम अबैध रुपमा ढुंगा गिट्टी, बालुवा उत्खनन भइरहेपनि स्थानीय प्रहरी प्रशासन मौन रहेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार प्रहरी प्रशासन र ठेकेदारको मिलोमतोमा उक्त कार्य भइरहेको मान्न सकिन्छ । त्यहाँका ती खोलाबाट अबैध रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरी निकासी भइरहेको जानकारी जिल्ला विकास समितिमा आएको जिविस कैलालीका आर्थिक लेखा प्रशासन अधिकृत योगेन्द्रबहादुर चन्दले बताए । उनले सो कुराको जानकारी जिल्ला प्रशासन कार्यालय कैलालीलाई जानकारी दिइसकिएको बताए ।
चालु आर्थिक वर्षका लागि जिल्ला विकास समिति कैलालीले ढुंगा, गिट्टी तथा बालुवा उत्खननका लागि कैलालीको काँडा, चरैला, डोडा, कर्णाली, खुटिया, गोदावरी, खैराना, कान्द्रा तथा लिक्मा खोलाको मात्रै आइइइ भएकोमा अबैध रुपमा अन्य खोलाहरुबाट समेत उत्खनन भइरहेको जिविस कैलालीका आर्थिक लेखा प्रशासन अधिकृत चन्दले बताए । ठेक्का भएका खोलाहरुबाट जिल्ला विकास समितिलाई झण्डै ७ करोड रुपैयाँ आम्दानी भएको चन्दले बताए ।
भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी तथा बालुवा मध्ये बालुवा मात्रै जिल्ला विकास समिति कैलालीमा प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (आइइइ) गरिएका नदी तथा खोलानालाहरुबाट उत्खनन हुने गरेको छ भने ढुंगा र गिट्टी आइइइ नगरिएका खोलानालाहरुबाट अबैध रुपमा उत्खनन हुने गरेको पाइएको छ ।
एउटा खोलाको आइइइ गरेर ठेक्कामा लिएका ठेकेदारहरुले नै अबैध रुपमा अर्को खोला तथा चुरे क्षेत्रबाट दैनिक सयौं टेक्टर ढुंगा, बालुवा उत्खनन गर्ने गरेका छन् । गौरीगंगा र शिवगंगा खोलाबाट अबैध रुपमा स्काभेटर प्रयोग गरी उत्खनन भइरहेको र त्यसलाई रोक्न प्रहरी सक्रिय रहेको इलाका प्रहरी कार्यालय चौमालाका सई लक्ष्मीदत्त भट्टले जानकारी दिए । त्यसलाई रोक्न हामी लागि परेका छौं दुई पटक त्यसमा सक्रिय रहेका ठेकेदारलाई जिल्ला विकास समितिमा उपस्थिती गराए पनि उक्त क्रम नरोकिएको उनको भनाई छ ।
अबैध रुपमा ती खोलाबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन भइ निकासी हुन थालेपछि जिल्ला विकास समितिलाई लाखौं रुपयाँ घाटा भइरहेको छ ।
जिल्ला विकास समितिमा नै आइइइ नगरिएका खोलानालाहरु शिवगंगा, मनहरा, पथरी कान्द्रा, गौरीगंगा, चौमाला लगायतका खोलानालाबाट अबैध रुपमा दैनिक सयौं ट्रक तथा ट्याक्टरमा स्काभेटरको प्रयोग गरी नदीजन्य पर्दाथको अबैध रुपमा दोहोन बढेपनि यस विषयमा सम्बन्धित जिल्ला विकास समिति, जिल्ला वन तथा स्थानीय प्रशासनले कुनै पहल नगरेपछि नदी नजिकका बस्ती, खेती योग्य जमिन वर्षेनी बगरमा परिणत हुने खतरा बढ्दै गएको छ ।
यसरी अबैध रुपमा ढुंगा, बालुवा उत्खनन हुने गरेको गुनासो दैनिक जिल्ला विकास समिति कैलालीमा आउने गरेपछि त्यसको निराकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा खासै पहल नभएको जिल्ला विकास समिति कैलालीको गुनासो छ ।यस विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले चुरे तथा अबैधानिक रुपमा खोलानालहरुबाट भइरहेको उत्खननलाई बारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

जबकी एक महिना अघि कैलालीका प्रमुख जिल्ला अधिकारीले सो विषयमा जानकारी प्राप्त भएको र त्यसलाई रोक्न प्रहरी परिचालन गर्ने जानकारी गराए थिए । अबैध रुपमा उत्खनन बढेको जानकारी आफूलाई प्राप्त भएको र त्यसलाई रोक्न प्रहरीसँग समन्वय गरी आवश्यक कदम चाल्ने जानकारी रिजालले दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।