कपन गाविसका सचिव लोमस आचार्यसंगको अन्तर्वार्ता

लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा गाविस सचिवले नै गाविस अध्यक्षको पदभार निर्वाह गर्र्दै आइरहेका छन् । सचिवले स्थानीय निकायको अध्यक्षता गर्दा विकास निर्माण कतिपय कार्य सफल हुन गारो परेको खबरहरु देशभर आइरहँदा कपन गाविसका सचिव भने विकासप्रेमी सचिवको रुपमा परिचित छन् । यतिखेर कपनमा गाविस सचिवको रुपमा सक्रिय रहेका झापा निवासी लोमस आचार्यलाई विकासप्रेमी सचिवको रुपमा हेरिन्छ । कपनमा क्रियाशिल पार्टीहरु पनि उनीसँग खुशी रहेका देखिन्छन् । विकासका कार्यमा अग्रसर हुने चरित्रप्रति कपनका जनसामान्य पनि सन्तुष्ट छन् । उनको कार्यकालमा कपनको वेबसाइडमा पनि निर्माण भएको छ भने चाँडैनै कपन गाविसको भिलेज प्रोफाइल पनि सार्वजनिक गर्ने तयारी गरिरहेका लोमस आचार्यसँग कपन अनलाइनले गरेको वार्ता ः

प्रश्न ः गाविस सचिवले गाविस अध्यक्ष पदमा काम गर्दा यसको दायित्व र अधिकार कस्तो हुने गर्दछ ?
लोमस आचार्य ः गाविस सचिव भनेको नितान्त कर्मचारी हो । कर्मचारीको भूमिका भएकोले हामीले गर्ने कामहरु सामान्यतया ऐन, नियम र निर्देशिकाले जे भन्छ त्यसैबाट निर्देशित हुन्छ । हामीले चुनाव जितेर वा जनतालाई कुनै आश्वासन दिएर नआएको हुँदा हाम्रो दायित्व बाघको हैन बाघको छाला ओढेको अरु कुनै जीवको जस्तो हो । अधिकारका कुरामा पनि हामीले सबै राजनीतिक पार्टीहरुलाई समेटेर बन्ने निर्णयलाई कार्यान्वयनको तहमा लैजाने भएकोले प्रश्ट अधिकार पनि प्राप्त हुँदैन । कानुनीरुपमा अध्यक्ष देखिए पनि हामी अध्यक्ष कम कर्मचारी नै बढी हौं ।
प्रश्न ः अध्यक्ष भैसके पछि कर्मचारी हुनुस् वा निर्वाचित हुनुु्स् के फरक भो र ?
लोमस आचार्य ः फरक पर्छ । निर्वाचित अध्यक्ष भनेको आवधिक हुन्छ । उसले जनतामा आश्वासन बाँडेर आएको हुन्छ । आश्वासन बाँडेका काम गरेन भने अर्काे चुनावमा त्यसको असर पर्दछ । प्रत्यक्ष जनतासँग उ बढि उत्तरदायी हुने गर्छ । हामीचाहिँ कानुनी मानिस हौं । कानुनले जे जे भन्छ त्यही काम हाम्रो दायित्वमा पर्दछ । राजनीतिक सहमति नगरी हामी अगाडि बढ्नै सक्दैनौ ।
प्रश्न ः गाविस सचिव भएर गाविस अध्यक्ष चलाउँदा स्वविवेकले विकासका कार्य गर्न सकिदैन ?


लोमस आचार्य ः पाउँदैन भन्ने चाहिँ छैन तर हामीसँग त्यो हिम्मत हुँदैन । किनकी पहिलो त हाम्रो कुनै गाविसमा हुने बसाई छोटो हुने गर्छ । कहिले कहाँ पुगिन्छ थाहा हुँदैन । फेरी हामी जुन गाविसमा जान्छौ त्यो गाविस हाम्रो आफ्नो गाविस नभएकोले हामीले देखाउने चासो त्यहाँ जनताले स्वीकार गर्छन् भन्ने पनि पक्का हुँदैन । त्यसैले गाविसको सचिवको हैसियतमा स्वविवेकमा विकासका कार्य हुने गर्दैन । राजनीतिक दलसँग सहमत नगरी सचिवले यस्ता काम किन गर्ने ? नागरिकता सिफरिसजस्ता नियमित कार्यमा गाविस सचिवले स्वविवेक धेरै हदमा प्रयोग गरेको पनि पाइन्छ ।
प्रश्न ः भनेपछि गाविस सचिव भनेको गाविसमा अस्तित्वमा रहेका राजनीतिक दलहरुको प्रवक्ता मात्रै भयो हैन त ?


लोमस आचार्य ः प्रवक्ता जस्तै हो । यहाँका जनता र राजनीतिक दलहरुलाई विकास निर्माणसहित अरु विभिन्न सन्दर्भमा कानुनी प्रकृयाका बारेमा जानकारी दिने सहायक पनि हो ।
प्रश्न ः कपन गाविसमा आउनु भएको ७ महिना भयो, कपन कस्तो लाग्यो ?


लोमस आचार्य ः महानगरपालिकासँग सीमा जोडिएको गाविस हो । विकासका पूर्वाधारहरु देशका अरु गाविसको तुलनामा यहाँ बढि छन् । बाटाघाटा धेरै छन् । वर्षमा दुइ अढाई सय नयाँ घरहरु बनिरहेका छन् । विकासको पथमा रहेको गाविस हो । गाविस सचिवको हैसियतमा भन्नु पर्दा पनि यो गाविस सजिलो छ । वौद्धिक मानिसहरु छन्, चेतनाको स्तर धेरै छ । संघसंस्थाहरु क्रियाशिल छन् । राजनीतिक सहमति छ । विकासका कुरामा पार्टीहरुबीच धेरै असमझदारी छैन । काममा सहजता हुने धेरै राम्रा पक्षहरु कपनमा उपलब्ध छन् ।
प्रश्न ः कपनमा राजनीतिक पार्टीहरुको सहमति साँच्चै छ त ?


लोमस आचार्य ः राजनीतिक सहमति छ । राजनीतिक सहमति नभएको भए कपन यस्तो हँुदैनथ्यो ।
प्रश्न ः के भएको छ र कपनमा ?


लोमस आचार्य ः यहाँ विकास पनि भएको छ र विकासका संभावनाहरु बढ्दै गएका पनि छन् ।

प्रश्न ः संभावना हुनु छुट्टै कुरा हो, विकासचाहिँ के भएको पाउनु भयो ?

लोमस आचार्य ः विकासको सूचकको रुपमा देशले नै बाटोलाई फोकस गरेको हुँदा कपनमा देखिएका बाटाहरुलाई हेर्दा विकास भएको भनेर मान्ने आधार छन् । घरघरमा पुगेका मोटरबाटोले विकास देखाउँछ ।

प्रश्न ः तपाईले कपन गाविसबाहेक पनि काठमाडौंका अरु गाविसमा पनि सचिव भएर काम गर्नु भयो । तपाईलाई अझभन्दा १५ वर्ष अघि बुद्धि पुर्याएको भए कपन साँचो अर्थमा राम्रो देखिन्थ्यो अहिलेचाहिँ विकास नाममा हामी कुरुप कपनमा छौ जस्तो लाग्दैन ? तत्कालिन गाविसमा आसिनहरुको असक्षमता देख्नु भएन तपाइले ?


लोमस आचार्य ः कपनमात्र त्यस्तो हैन, सिंगो काठमाडौंकै स्वरुप यस्तै हो । नीतिगतरुपमा राज्यले नै केही त्यस्ता योजना नल्याएकोले पनि यो रुपमा सहर विकास भएको होला । तथापि सक्षम नेतृत्वले बस्ति बिकासको क्रमलाई मध्यनजर राखेर केही योजना ल्याउन सकेको भए सहर अझ सुन्दरचाहिँ हुन्थ्यो ।
प्रश्न ः अहिले गाविस सचिव भनेको गाविस अध्यक्ष हो, मौजुदा अवस्थामा कपनलाई अझै सुन्दर बनाउन के गर्न सकिएला ?


लोमस आचार्य ः बसिसकेका बस्ति भत्काउने सम्भावना त कमसेकम गाविसले राख्न सक्दैन । अहिलेकै अवस्थामा पनि फोहोर व्यवस्थापन तथा खानेपानीको व्यवस्थालाई सुदृढिकरण गर्न सकियो भने अझै सुन्दरताका केही रुप देखाउन सकिन्छ ।
प्रश्न ः सात महिना कपनमा बसिसक्दा कपनमा सबैभन्दा धेरै समस्याचाहिँ के जस्तो लाग्यो ?


लोमस आचार्य ः कपनमा फोहरमैला, खानेपानी र अव्यवस्थित बसोबास नै यहाँको सबैभन्दा ठूलो समस्या हो ।
प्रश्न ः यी तीनवटा क्षेत्रमा गाविसले अझसम्म सम्बोधन गरेको छ ?


लोमस आचार्य ः यसअघि पनि केही सम्बोधनको प्रयास भएको हो । अब बृहतरुपमा सम्बोधन गर्ने तयारीमा छ । आन्तरिकरुपमा बाहेक महानगरपालिकासँग पनि सहकार्यको प्रयास भैरहेको छ । महानगरले केही प्लास्टिक कन्टेर दिने पनि भएको छ । प्लास्टिकमुक्त गाविसको संभावना पनि खोजिरहेका छौं ।
प्रश्न ः कपन गाविसमा आइसकेपछि के नयाँ योजना ल्याउँदै हुनुहुन्छ ?


लोमस आचार्य ः योजना धेरै नै छन् । सबै किसिमको राजनीतिक सहमति मिलाउन सकियो भने गाविसको नयाँ भवन सबैभन्दा ठूलो आवश्यक्ता छ । गाविसको भवन गतिलो नहँुदा सेवाग्राहीहरुलाई पनि असजिलो भैरहेको छ । त्यसैगरी कपन गाविसका सबै घरहरुलाई डिजिटल घर नंबर दिने योजना बनिरहेको छ । डिजिटल घर नंबर दिँदा कपनमा रहेका सबै घरहरुको बारेमा हामीले डाटा राख्न सक्छौं जसले कर असुली पनि सहज हुन्छ । त्यसैगरी कपन गाविस अझै खुल्ला दिसापिसाव मुक्त क्षेत्र भनेर घोषणा नभएको हुँदा चाँडै खुल्ला दिसापिसाव मुक्त क्षेत्र बनाउने योजना बनिरहेको छ । जसले पर्यटकीय संभावना बढ्ने छ ।
प्रश्न ः यी कुराहरु तपाइले सोच्नु भएको मात्र हो कि, कार्यान्वयनको तहमा पनि केही काम अघि बढि सक्यो ?


लोमस आचार्य ः यो राजनीतिक दलहरुबीच छलफलको क्रममा छ । राजनीतिकि सहमति पश्चात कार्यान्वयनको क्रममा जानेछ ।
प्रश्न ः कपनमा रहेका राजनीतिक दलहरुका प्रतिनिधि यी माथिका विषयमा गम्भीर हुन सक्छन्, त्यति सचेत छन् यहाँका राजनीतिकर्मीहरु ?


लोमस आचार्य ः राम्रा कुराहरुलाई राजनीतिक दलहरुले सँधै साथ दिएको मैले पाएको छु ।
प्रश्न ः राजनीतिक दलहरुलेचाहिँ नयाँ प्रस्ताव ल्याउनु हुन्छ कि हुन्न ? तपाईंको कार्यकालमा राजनीतिक दलहरुले कुनै नयाँ योजना ल्याएका छन् ?


लोमस आचार्य ः दलको नाम उल्लेख गर्नु भन्दा पनि माथि उल्लेखित योजनाहरु राजनीतिक दल तथा मेरो संयूक्त हो । अहिले हामी भौतिक विकाससँगै मानवीय विकासमा पनि कपन गाविस लाग्नु पर्ने भन्ने बारेमा योजना बनाउने तयारीमा छौं ।
प्रश्न ः मानविय विकास भन्नाले के त्यस्तो विकास हो जसले कपनजस्तो राजधानीको एक हिस्सा भैसकेको ठाउँका बासिन्दालाई प्रभावित गर्न सकिन्छ ?


लोमस आचार्य ः स्वरोजगार, महिला सशक्तिकरण, महिला हिंसा, शिप विकासका कामहरु, छुवाछुतका विषयमा ल्याइने कामहरु मानवीय विकासअन्तर्गत पर्दछन् । तालिमजन्य कुरामा हामी अगाडि बढ्नेछौँ । मानवीय विकासमा यी लगायत २७३ वटा इन्डिकेटरहरु रहेका छन् ।

प्रश्न ः गाविसको भिलेज प्रोफाइल बनाउने काम कहाँ पुगेको छ ?


लोमस आचार्य ः हाम्रो गाविसको भिलेज प्रोफाइल पनि छैनभन्दा लाजमर्दाे अवस्था रहेको छ । त्यसैले यो कामलाई तदारुकताका साथ अघि बढाइरहेका छौं । यो आर्थिक वर्षभित्र हामीले प्रोफाइल सार्वजनिक गर्न सक्छौं । यस कार्यका लागि आधारशिला अध्ययन केन्द्रलाई जिम्मेवारी दिइएको छ । अहिले तथ्यांकलाई कम्प्युटराइज गर्ने कार्य भैरहेको छ । यस भिलेज प्रोफाइलमा जनसंख्या, आर्थिक अवस्था, शैक्षिक अवस्थालगायत भौगोलिक, सामाजिक एवम् सांस्कृतिक अवस्थाका बारेमा पनि उल्लेख हुनेछ ।
प्रश्न ः महानगरसँग जोडिएको गाविसमा आउन सचिवहरु मरिहत्ते गर्छन् भनिन्छ । कतिले यस्ता गाविसलाई भन्सार पनि भन्छन् । कत्तिको कमाउन सकिन्छ कपन जस्ता गाविसमा ?


लोमस आचार्य ः मैले कुनै भन्सारको अनुभव गरेको छैन । मैले कपन आउँदा भन्सार कल्पना गरेर आएको पनि थिइन । मातातीर्थ गाविसमा थिएँ । मेरो बसाइबाट टाढा भएकोले नजिक आउने क्रममा कपन आइपुगेको मात्र हो । नियमित प्रकृयाअन्तर्गतको सरुवा हो मेरो । यो जिविसले निर्धारण गर्ने कार्य हो । यसमा व्यक्तिगत इच्छाको कुनै अर्थ छैन । भन्सार जस्तो हुने भए म किन यहाँ पुग्थेँ र ? फेरि भित्री इच्छा भएर कपनमा नै बसँु भन्ने पनि छैन ।
– केशव पाठक
फोटो- सागर बैजु

तपाइँको प्रतिक्रिया ।