पन्ध्र हजार स्याउका बिरुवा वितरण

पन्ध्र हजार स्याउका बिरुवा वितरण

कपन अनलाइन 

जुम्ला, १९ माघ । जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ ।

कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको हो । स्याउ नर्सरीबाट रु ४० मा बिरुवा खरिद गरी किसानलाई दुई रुपैयाँमा बिरुवा उपलब्ध गराएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिनुभयो ।

व्यक्तिलाई १० वटा तथा समूहमा आउनेलाई ३० वटा बिरुवा उपलब्ध गराइएको छ । किसानको सहजता र स्याउ बगँैंचा स्थापनामा सघाउ पुगोस् भनेर बिरुवा वितरण गरिएको शाहीले बताउनुभयो । स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत कार्यालयलाई प्राप्त भएका ३३० निवदेनमध्ये प्रतिव्यक्ति १५० बिरुवा दिनेगरी १०० जनालाई छनोट गरिएको छ ।

“छनोट भएका कृषकलाई खरिद मूल्यको ५० प्रतिशत कम मूल्यमा प्रति बिरुवा रु २० का दरले १५ हजार बिरुवा वितरण गरेका छौँ,” उहाँले भन्नुभयो । यस वर्ष ३० हजार बिरुवा वितरण गरिएको छ । यस वर्ष जिल्लामा एक लाख ४५ हजार स्याउका बिरुवा उत्पादन भएको थियो । दर्ता भएका २८ स्याउ नर्सरीबाट एक लाख १० हजार तथा दर्ता नभएका नर्सरीबाट ३५ हजार स्याउका बिरुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्ला कार्यालयसँगै हाडसिङ्जा, नराकोट, तातोपानी र डिल्लीचौर सेवा केन्द्रबाट बिरुवा वितरण गरिएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।