साँखुमा स्वस्थानी पूजा

साँखुमा स्वस्थानी पूजा

कपन अनलाइन 

काठमाडौं । श्रीस्वस्थानी व्रतकथा  प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । स्वस्थानी व्रत लिए मनोकाङ्क्षा पूरा हुने विश्वास परापूर्व कालदेखि नै रहीआएको छ ।

एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो ।

पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।

कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येश्वरी, गोकर्र्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बागमती नदी, शाली नदीजस्ता क्षेत्र यहीँ पर्ने हुनाले पनि नेपाली समाजमा यसले बढी महत्व पाएको छ ।

राजधानीदेखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शङ्करापुर साँखुमा रहेको शाली नदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखुस्थित शाली नदीमा एक महिनासम्म मेला लाग्दछ । चिसोका कारण समय प्रतिकुल रहेपनि व्रतालाुहरु आफ्नो आस्थाका कारण यो चिसोमा पनि पनि विधिपुर्वक आफ्नो कार्य सम्पन्न गर्ने गर्दछन् ।

तपाइँको प्रतिक्रिया ।