विजय शान्ती सहकारीको आठौँ साधरणसभा सम्पन्न, अध्यक्षमा बनिया पुनः निर्वाचित
कपन अनलाइन
काठमाडौँ: विजय शान्ती बचत तथा ऋण सहकारी संस्था लिले आर्थिक वर्ष २०७२÷०७३ मा रु तीन लाख ६३ हजार खुद बचत नाफा आर्जन गरेको छ ।
आज यहाँ सम्पन्न सो संस्थाको आठौँ वार्षिक साधरणभामा संस्थाका अध्यक्ष जयन्द्रमान सिंह बनियाले आव २०७३÷०७४ को मङ्सिर मसान्तसम्म कुल बचत निक्षेप रु सात करोड ६२ लाख, कुल कर्जा सापटी रु पाँच करोड १२ लाख ५२ हजार र कुल लगानी रु दुई करोड ३६ लाख रहेको जानकारी दिनुभयो ।
संस्थाले आगामी दिनमा सामूहिक लगानीलाई प्रोत्साहन गर्ने र सेयरधनी सदस्य सङ्ख्या वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
साधरणसभाले आगामी पाँच वर्षको कार्याकालका लागि नयाँ सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरुको निर्विरोध निर्वाचन गरेको छ । नयाँ सञ्चालक समितिको अध्यक्षमा बनिया पुनः निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा त्रिरत्न तुलाधर, सचिवमा त्रिरत्न मानन्धर, कोषाध्यक्षमा पूर्णरत्न वज्राचार्य र सदस्यहरुमा कमला कंसाकार देउजा, सुशीला शाक्य, शान्तिरत्न ताम्राकार, वृद्धीमान शाक्य र दुर्गादेवी शाक्य चुनिनु भएको छ ।
यसैगरी लेखा समितिको संयोजकमा उज्वल तुलाधर र सदस्यद्वयमा रजनी ताम्राकार र चिनीमैया मानन्धर निर्विरोध निर्वाचित हुनुभएको छ । रासस