बेनी नगरपालिकाको बजेट: सात करोड ६८ लाख २३ हजार रुपैयाँ

बेनी नगरपालिकाको बजेट: सात करोड ६८ लाख २३ हजार रुपैयाँ

कपन अनलाइन 

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७४७५ मा सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमहरूका लागि रु साढे सात करोडभन्दा बढीको बजेट प्रस्ताव गरेको छ ।
आज सम्पन्न चौथो नगरपरिषद्बाट रु सात करोड ६८ लाख २३ हजार रुपैयाँ बजेटसहित आगामी आर्थिक वर्षको नीति योजना तथा कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।
पुँजीगततर्फ रु छ करोड ५ लाख अठासी हजार र चालुतर्फ रु एक करोड ६२ लाख ३५ हजार बराबरको बजेट नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले प्रस्ताव गर्नुभयो ।
बेनी नगरपालिकाले आगामी आर्थिक वर्षमा फोहोर ब्यवस्थापनका लागि अहिलेको ल्याण्डफिल साइटलाई व्यवस्थित गरी अन्यत्रै स्थानान्तरण गर्ने, नगरक्षेत्रका धार्मिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रहरूको विकास गर्ने, सडक गुरुयोजना तयार गर्ने, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, आमसञ्चार, सडक, खानेपानी, पर्यटन प्रर्वद्धनलगायतका योजनालाई प्राथमिकता दिएको छ ।

परिषद्को आज स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले उद्घाटन गर्दै मुलुकलाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

राज्यमन्त्री जबेगुले प्रचुर सम्भावनाले भरिपूर्ण नेपालको विकासको लागि मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले मुलुकमा लामो समयपछि अधिकार प्राप्तिको लागि राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै अबको समय देशलाई विकास निर्माणमा तीव्रता दिएर मुलुकलाई विकसित मुलुक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले बेनी नगरपालिका र म्याग्दीको विकासको लागि पहल भएका योजनाहरूको कार्यान्वयनको लागि आबश्यक बजेट विनियोजन गर्न आफूले सक्दो पहल गर्ने बताउँदै विकास निर्माणको लागि आबश्यक गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

फोटो साभार: म्याग्दी अनलाइन बाट 

तपाइँको प्रतिक्रिया ।