सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

कपन अनलाइन 

इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको छ ।

प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन जरुरी भएको उहाँको भनाइ थियो ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ प्रतियोगितामा सहभागी भएर खेललाई सम्पन्न गराएको तथा केही खेलाडीले नयाँ कीर्तिमानसमेत हासिल गर्न सफल भएकामा त्यसलाई ठूलो सफलताका रुपमा लिइएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अब मध्यपश्चिमाञ्चलमा आठाँै राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि लागि आजैदेखि तयारीका कामको थालनी हुने जानकारी दिनुभयो ।

सशस्त्रलाई फुटबलमा स्वर्ण

आजै सम्पन्न फुटबलको अन्तिम खेलमा सशस्त्र प्रहरी नेपाली सेनाको टोलीलाई २–० गोलले पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भयो ।
विजेता सशस्त्र प्रहरी तथा उपविजेता नेपाली सेना र फुटबल खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाल प्रहरी टोलीलाई स्वर्ण, रजत र कास्य पदक समेत उपराष्ट्रपति पुनले प्रदान गर्नुभयो ।

पुरुष क्रिकेटको उपाधि एपिएफलाई

विराटनगर– मोरङको वैजनाथपुरमा आज सम्पन्न पुरुष क्रिकेटमा स्वर्ण पदक सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले प्राप्त गरेको छ । नेपाली सेनालाई ४९ रनले पराजित गर्दै एपिएफले स्वर्ण पदक प्राप्त गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २१ रन बनाएको थियो ।

एपिएफका कप्तान पारस खड्काले ३८ बलमा एक छक्का र एक चौका प्रहार गरी ३३ रन र भुवन कार्कीले १२ बलमा एक छक्का र दुई चौका प्रहार गरी नटआउट २४ रनको योगदान गरेका थिए । एक सय २२ रनको विजय लक्ष्य पाएको सेनाले १७ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै मात्र ७२ रनमा सीमित हुन पुग्यो । सेनाका नरेश बुढाएरले सबैभन्दा बढी १७ रन बनाएका थिए भने अन्य खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

 

 प्रहरीले ३३ रनले जित प्राप्त गर्यो 

त्यस्तै आज बिहान नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले कास्य पदक जितेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाई एक सय ५५ रनको योगफल खडा गरेकोे थियो । एक सय ५६ रनको विजय लक्ष्य पाएको मध्यमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय २२ रन मात्र जोड्न सक्योे ।
सोही समारोहमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेलमा उच्च पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको नेपाली सेना, दोस्रो भएको नेपाल प्रहरी र तेस्रो स्थान प्राप्त गर्न सफल सशस्त्र प्रहरी टोलीलाई पहिलो, दोस्रो र तेस्रो स्थानको उपाधि पनि दिइएको छ । त्यस्तै राखेपका सदस्यसचिव विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम वलीलाई झन्डा हस्तान्तरण गर्नुभयो ।

नेपाली सेना शीर्ष स्थानमा

प्रतियोगितामा विभागीय टोलीको वर्चस्व रहेको छ । अन्तिम खेल तालिकानुसार कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा वर्चस्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा शीर्ष स्थानमा राखेको छ ।

यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको छ । मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदक तथा पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका छन् । पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका छन् । रासस

तपाइँको प्रतिक्रिया ।