राजधानीको नयाँसडकमा स्वचालित कार पार्किङ निर्माण तयारी 

कपन अनलाइन

 

काठमाडौँ, १५ पुस । नयाँ सडकमा निर्माण गर्न लागिएको एकै पटकमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रको भिड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस्तो पार्किङ स्थल बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी गराए। अध्ययनको जिम्मा युनिभर्सल होल्डिङ नेपालले पाएको छ ।

अध्ययन पूरा गरेपछि कापमाले निर्माणको काम सुरु गर्नेछ । पार्किङ निर्माण गरेसँगै सडकमा हुने ट्राफिक चाप व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ स्थल बनाउन करिब रु एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त भवनमा दुई तलाको भूमिगत पार्किङ समेत हुनेछ । सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँ सडक, पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ स्थल बनाइने छ ।

मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नं थिचेपछि लिफ्टबाट नै तलमाथि गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।