सिन्धुपाल्चोकका विद्यालय पुनःनिर्माण हुँदै

सिन्धुपाल्चोकका विद्यालय पुनःनिर्माण हुँदै

कपन अनलाइन ,मेलम्ची, २६ मङ्सिर ।

(आदित्य दाहाल)

भूकम्पले क्षति भएका जिल्लाका अधिकांश विद्यालय पुनःनिर्माण हुने क्रम अगाडि बढेको छ । विभिन्न सरकारी र गैरसरकारी संस्थाले विद्यालय पुनःनिर्माण कार्यमा सहयोग गरेपछि विद्यालय पुनःनिर्माण कार्य अगाडि बढेको हो ।

गतवर्षको शक्तिशाली भूकम्पले सिन्धुपाल्चोक जिल्लाका ५४२ विद्यालयमा क्षति पुगेपछि पठनपाठन नै बन्द भएको थियो ।

अहिले पुनःनिर्माण पूरा भइसकेका विद्यालयको भवनमा राखेर विद्यार्थीलाई पढाउन थालिएको छ । भवन नहुँदा विभिन्न समस्या झेल्दै आएका विद्यार्थीले अहिले सुरक्षाको प्रत्याभूति गरेका छन् ।

पहिलेको जस्तो खुल्ला आकासमुनि र कुनै छेकबार नभएको स्थानमा बसेर पठनपाठन गर्दा घाम, पानी, हावा, तथा हिंस्रक वन्यजन्तुको प्रहारबाट डर हुने गरेको भएपनि अहिले कारिदास संस्थाले विद्यालय निर्माण गरेपश्चात् सुरक्षित भवनमा पढ्न पाउँदा निकै खुसी भएको महेन्द्र मावि इचोककी विद्यार्थी सरस्वती तामाङले बताइन् ।

भूकम्पपछि जिल्लामा आएका विभिन्न सरकारी र गैरसरकारी संस्थाले विद्यालय पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाएका छन् ।

भूकम्पअघि जिल्लाका ५४२ विद्यालयमा पाँच हजार ३०० कक्षाकोठा रहेको र जसमध्ये ६०० कक्षाकोठा भूकम्पपश्चात् पनि पठनपाठनका लागि योग्य रहेका जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार, भूकम्पमा तीन हजार ६०० कक्षाकोठा पूर्णरूपमा क्षति भएको थियो भने एक हजार २०० कक्षाकोठा मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

गएको १५ मङ्सिरसम्म जिल्लाका सबै विद्यालय गरी २३१ वटा पुराना कक्षाकोठा मर्मत भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । अहिले ८८ वटा विद्यालयमा ४६२ कक्षाकोठा निर्माण भइसकेको छ ।

भूकम्पपछि हालसम्म १३४ विद्यालय ६३६ कक्षाकोठा मर्मत र नवनिर्माण भएका छन् । पुराना कक्षा निर्माण गर्न जिल्ला शिक्षा कार्यालयले विभिन्न संस्थालाई अनुमति दिने तयारी गरिरहेको छ । नयाँ कक्षाकोठा बनाउन नेपाल पुनःनिर्माण प्राधिकरणको स्वीकृति लिनुपर्ने हुँदा धेरै संस्था पुनःनिर्माण प्राधिकरणको स्वीकृतिको प्रक्रियामा रहेका छन् ।

अहिले जिल्लामा विभिन्न गैरसरकारी संस्था र सरकारी संस्था गरी ७० वटा सङ्घसंस्थाले विद्यालय पुनःनिर्माण, कक्षाकोठा मर्मत कार्य अगाडि बढाइरहेको छ । जसमा ४६२ विद्यालयमा पुनःनिर्माण कार्य सरकारी र गैसरकारी संस्थाको समन्वयमा भइरहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

नेपाल पुनःनिर्माण प्राधिकरण ढिला स्थापना भएकाले पुनःनिर्माणकार्य छिट्टै सुरु हुन नसकेको शिक्षा अधिकारी घिमिरेले बताउनुुभयो ।

अब भने शिक्षा सचिवलाई प्रमुख जिम्मेवारी दिएर काम सुरु हुने र प्राविधिक टोलीमा समेत रहने हुँदा विशेष गरी नेपाल पुनःनिर्माण प्राधिकरणबाट आएको बजेटअनुसारको घर बनाउने र जिल्लामा सरकारी, गैरसरकारीस्तरबाट गर्ने कामको समन्वयसमेत छिट्टै हुने शिक्षा कार्यालयले जनाएको छ ।

यसैगरी कारितास स्विट्जरल्यान्डले जिल्लामा निर्माण गरेको विद्यालयको अनुगमन गर्दै जिशिअ घिमिरेले भूकम्प प्रतिरोधात्मक भवन, विपद् व्यवस्थापन र सरसफाइसम्बन्धी कार्यमा उल्लेखनीय सहयोग गरेको बताउनुभयो ।

कारितासले विभिन्न चरणमा २०१७ सम्ममा टुकी सङ्घ र महिला आत्मनिर्भरता केन्द्रको समन्वयमा जिल्लाको छवटा गाविसका ३१ वटा विद्यालय निर्माणको जिम्मा लिएको छ ।

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले भने सोही विद्यालयमा विपद् जोखिम न्यूनीकरण र सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।