किन छोटै समयमा निस्तेज भयो क्षेत्र नं. ४ नेपाली कांग्रेस कमिटी ?
कपन अनलाइन, काठमाडौँ, ७ मंसिर २०७३/समाचार विश्लेषण
नेपाली कांग्रेसलाई आमरुपमा अधिवेशनमुखी र चुनावमुखी पार्टीको रुपमा चिनिन्छ । तापनि पार्टीलाई गतिशिल बनाउन भनेर नेताहरु बिभिन्न कोणबाट गतिबिधिमा संलग्न भने भएको देखिन्छन । गुट उपगुटको चरम चर्काचर्की स्वरुपमा गुज्रिरहेको नेपाली कांग्रेस यतिखेर विशेष गरेर पार्टीको गतिबिधिभन्दा गुटगत खेलका लागि सक्रिय रहने गरेको आरोप लाग्ने गर्दछ । बिधिवतरुपमा ३ वटा गुट तथा अप्रत्यक्ष १० जति नेताका आआफ्नै गुटमा बिभाजित कांग्रेसमा क्षेत्रीय नेताहरुसमेत आफ्नो गुट बनाएर हिँडेका हुन्छन् । समग्रमा गुटहीन हुनु नेपाली कांग्रेसभित्र नहुनु सरहको अवस्थामा पुगेको छ नेपाली कांग्रेस । यद्यपि यो अवस्था नेपाली कांग्रेसमा मात्र नभै एमाले, एमाओवादीलगायत सबै पार्टीेको पहिचान बनिसकेको छ ।
काठमाडौं क्षेत्र नं. ४ निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा चिनिएको क्षेत्र हो । गगन थापाको क्षेत्र भनेर । युवानेता गगन थापाको क्षेत्र भएकाले यहाँ हुने सानाठूला सबै कुरा महत्वको विषय हुने गर्दछ । गगन थापा स्वास्थ्य मन्त्री भएपछि त झनै सबैले यो क्षेत्रलाई चासो बनाएर हेरेका छन् । यस क्षेत्रको विकास निर्माण तथा राजनीतिक गतिबिधिलाई सबैले ध्यान दिएर हेरिरहेका छन् ।
नेपाली कांग्रेसको गत माघ फागुनमा सम्पन्न १३ औँ महाधिवेशनले काठमाडौं क्षेत्र नं. ४ मा गगन थापाविरोधी अभिमत जाहेर गर्ने राजु श्रेष्ठले क्षेत्रीय सभापति जितेपछि यो क्षेत्रलाई झनै सबैले चासो बढ्यो । देशमै सबैले आशा गरिएका गगन थापाको कट्टर आलोचक मानिने राजु श्रेष्ठले अप्रत्याशित क्षेत्रीय सभापति जितेसँगै यस क्षेत्रमा गगन थापा बिरोधी अभिमतहरु यत्रतत्र छरिए पनि ।
१३ महाधिवेशनसँगै सबैले केही फरक आशा सोचिएका क्षेत्र नं. ४ मा सभापति राजु श्रेष्ठले भीषण संगठात्मक गतिबिधि गर्ने भनेर सोचिएको अभिमत मनोगत विश्लेषण मात्र बनेको सबैले महशुस गरेका छन् । गगन थापाजस्तो मानिसलाई चुनौति दिएको भनेर प्रचारमा ल्याइएका राजु श्रेष्ठले आफूलाई धारिलोरुपमा प्रस्तुत गर्न नसकेको उनकै पक्षीय व्यक्तिहरु बताउन थालेका छन् ।
भर्खर महाधिवेशन सकिएको १ वर्ष नपुगेको अवस्थामा मूल्यांकन गर्ने बेला नभए पनि हुने बिरुवाको चिल्लो पात जस्तो स्वरुप क्षेत्रीय सभापतिले नदेखाएको कार्यकर्ताहरुको गुनासो शुरु भएको छ । क्षेत्रीय सभापति र क्षेत्रीय कमिटि यसरी निस्तेज हुनुमा अनेक कारण होलान् तर सिमित व्यक्तिको घेरामा क्षेत्रीय सभापति रमाए भन्ने दोषरोपणले राजु श्रेष्ठलाई गालेको छ । उनको सिमित घेराको राजनीतिले आसन्न स्थानीय चुनावको परिधिबाट नेकालाई कमजोर बनाउने चारैतिर कुरामा कार्यकर्ता सशंकित हुन थालेका छन् । तर राजु श्रेष्ठ त्यो चंगुलबाट बाहिर निक्लिन सकेका छैनन् भन्नु भन्दा पनि निक्लनै चाहदैनन् कि भन्ने आभाष पनि हुन थालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवालगायत प्रकाशमान सिंहसँग राम्रो परिचय भएको छवि बनाएका क्षेत्रीय सभापति राजु श्रेष्ठले आफ्नो लेबलको राजनीति गर्न नसकेको स्वतन्त्र विश्लेषकहरुको कटाक्ष रहने गरेको छ । श्रेष्ठका कतिपय पूराना साथीहरु पनि उनीसँग विरोधाभाष राख्दछन् ।
क्षेत्रीय सभापति भएपछि सभापति श्रेष्ठले सामान्यरुपमा गर्नु पर्ने पदाधिकारी पूर्णताजस्ता कामसमेत गर्न नसकेका वा नचाहेका कारण उनलाई नकारात्मक लिनेहरुको संख्या बढेको छ । क्षेत्रीय सचिवलगायत निर्वाचित बहुमत सदस्य सभापतिको विपक्षमा रहेका बेला श्रेष्ठले आफूलाई अब्बल सावित गर्न उनीहरुको मन जित्नु पर्नेमा एकांकी भएर केही व्यक्तिहरुको घेरामा रुमल्लिनु गलत भएको मानिन्छ ।
राजु श्रेष्ठ सभापति भएपछि क्षेत्रीय सदस्यमा मानोनित गरेका कतिपय सदस्यहरु तुलनात्मकरुपमा कमजोर भएको पनि धेरैले अनुभव गरे । यो विषयले पनि श्रेष्ठलाई दवाव बढेको छ । त्यसैगरी उनैले मनोनित गरेका कतिपय क्षेत्रीय सदस्यहरु यतिखेर राजु श्रेष्ठ क्षेत्रीय सभापतिको रुपमा अर्थपूर्ण हुन नसकेको सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका भेटिन्छ ।
क्षेत्रीय अधिवेशनमा राजु श्रेष्ठ भनेर हिँडेका बुनपा तथा महानगरका इकाई सभापतिहरु सभापति श्रेष्ठको चंगुलबाट विस्तारै बाहिरिँदै गरेको देखिन्छ । क्षेत्रीय अधिवेशनमा मरिहत्ते गरेर लागेको कतिपय अर्थपूर्ण व्यक्तिहरु विस्तारै राजु श्रेष्ठबाट टाढिनुले उनीबाट नेपाली कांग्रेसको संगठनमा गरिएको आशा साँच्चै सकिएको अनुभूति भएको हुँदै गएको छ ।
मन्त्रीसमेत रहेका यस क्षेत्रका सांसद गगन थापामार्फत विकास निर्माणमा विशेष भूमिका खेलेर आसन्न स्थानीय निर्वाचनमा क्षेत्रलाई सम्पन्न बनाउनु पर्नेमा सभापति राजु श्रेष्ठ मन्त्री थापाविरोधी मात्र बन्नु दुर्भाग्य भएको मानिएको छ ।