राप्रपा नेपालको पूर्ण बैठक पोखरामा
कपन अनलाइन, काठमाडौँ, २९ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य सम्पादन समितिको पूर्ण बैठक आगामी मङ्सिर ५ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ ।
उक्त बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा छलफल तथा पक्ष वा विपक्षमा मतदानका लागि निर्णय हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
सोही बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुका बारेमा छलफल गरी पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाको खोजी गरिने छ । त्यसैगरी पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । संविधान संशोधनका क्रममा मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन समेत बैठकमा छलफल हुनेछ । पार्टीले पूर्ण बैठक एक पटक काठमाडौँ तथा अर्को पटक काठमाडौँ बाहिर गर्दै आएको छ । रासस