महोत्सवको दिन नजिकिँदै जाँदा कपन महोत्सव असफल हुने डर बढ्यो

४ ,असोज कपन : सामान्यतया कुनै क्षेत्र विशेषको केही विशिष्ट पक्ष जुन देश तथा दुनियाँलाई देखाउन आवश्यक भएको अवस्थामा महोत्सव गरिने गरिन्छ । भौगोलिक, सांस्कृतिक, सामाजिक वा आर्थिक हिसाबले अत्यन्त महत्व राख्ने क्षेत्र विशेषलाई महोत्सवमार्फत सबैलाई आकर्षित गराउने गरिन्छ । देशमा गणतन्त्रको स्थापनापछि यस्ताखाले महोत्सव निकै धेरै हुने गरेको छ । काठमाडौं उपत्यका भित्रै पनि कतिपय महत्वपूर्ण ठाउँको महोत्सव भैसकेको छ ।

प्रशंग कपन महोत्सवको हो । कपनसँग त्यस्तो देश तथा दुनियाँलाई देखाउन आतुर हुने खालको कुनै सामाजिक, भाौगोलिक, सांस्कृतिक वा आर्थिक धरोहर छैन । तथापि गएका २ वर्षदेखि कपन महोत्सव गर्न केही चासो देखाइएकोमा यसपाला कपन पर्यटन बोर्ड नामका अत्यन्त नयाँ संस्थाले कपन महोत्सवको आयोजना गरेको छ । आश्विन ११ देखि १३ गतेसम्म गर्ने भनिएको आयोजना को समय नजिकिँदै गर्दा रमाइलो मेला मात्र बन्ने हो कि भन्ने छाँट देखिएको छ । यसका आयोजकले गर्नु पर्ने तयारी गर्न सकिरहेका छैनन् । धेरै तयारी गरेर आयोजना गर्नु पर्ने महोत्सवलाई अत्यन्त कमजोर रुपमा व्यवस्थापन गरिएको कारण तथा व्यवस्थापन समितिमा कपनको बारेमा कम जानकार राख्ने मनिसको अधिक संलग्नता कारण शुरुदेखि नै कपन महोत्सव भनेर भनिएको यो कार्यक्रम विवादको विषय बन्यो । वर्तमान तयारीको अवस्था हेर्दा सामान्य स्ट्रिट फेस्टिबलको जस्तो मात्र देखिएको छ । आयोजकको अरुलाई नसमेट्ने र आफूआफू मात्रै एकलौटी हिँड्नै कार्यशैलीले कपनका कुनै पनि क्षेत्र यो महोत्सवप्रति पूर्ण सकारात्मक बन्न सकेका छैनन् ।

कपन महोत्सव सामान्य मेला पनि बन्न नसक्ने हो कि भन्ने विचार यतिखेर चारैतिर व्याप्त भैरहँदा आयोजकले प्रधानमन्त्रिलाई ल्याएर उद्घाटन गराउने कार्यक्रम समावेश गरेको छ । के प्रधानमन्त्रि आउलान् ? वा प्रधानमन्त्रि आउने भनेर ध्यान आकर्षित गरेको मात्र हो ? के प्रधानमन्त्रिलाई ल्याउने क्षमता राख्छ यो आयोजक कमिटि ? यी प्रश्नहरु पनि प्रधानमन्त्रि आउने हल्ला सँगै उब्जिएका छन् । महोत्सवमा कसरी धेरैभन्दा धेरै कपनवासीलाई समावेश गराउने र महोत्सव अवधिमा आयोजकले दिने कार्यक्रम सबैभन्दा महत्वपूर्ण विषय भए पनि त्यो विषयमा अझैसम्म छलफल हुन सकेको छैन ।
चारैतिर प्रश्नचिन्हको घेरामा र प्रश्नहरुको ओइरोमा रहेका कपन महोत्सवका आयोजक यतिखेर राम्रोसँग यस महोत्सव गरिनु पर्छ भनेर सुझाव दिनेहरु समेतलाई समेट्न सकेको छैन । कपनमा रहेका राजनीतिक पार्टीहरु स्वयम् पनि यो आयोजनाप्रति दिल खोलेर समर्थन गर्न सकिरहेका छैनन् । कपन महोत्सवका नाममा प्राय दलका माथिल्ला नेताहरु सामेल गरेर कार्यक्रम आयोजनाको प्रशंग उठाइएका कारण अहिले राजनीतिक दलहरु स्वयं असमञ्जस्यमा छ । व्यक्तिगत भेटमा यो महोत्सव असफल हुने कुरा सबैले व्यक्त गर्दछन् तर औपचारिक रुपमा भने आफ्ना भनाइलाई कमजोरीहरु व्यापक भए पनि यो महोत्सव सफल बनाउन पर्ने बताउँछन् उनीहरु । तर कुनै पनि राजनीतिक दल कपन महोत्सवलाई भनेर हिँडेका छैनन् ।

स्टलहरु गतिलोसँग बुकिङ पनि हुन सकिरहेका छैनन् । शुरुमा ६० वटा स्टल राखिने भनिए पनि हाल त्यो संख्यालाई घटाएर ४० बनाइएको छ । स्टल बुकिङ हालसम्म २० को हाराहारीमा मात्र भएको देखिन्छ । कपनमा रहेका प्रायः संघ संस्थाहरुलाई यस महोत्सवको जानकारीसम्म पुग्न सकेको छैन । यसरी यतिखेर आयोजकसँग महोत्सवका ३ दिन के के गर्ने भनेर कार्य तालिका सम्म बन्न नसकेको आवस्था छ । व्यक्तिगत भेटमा एकाध ठूला कुरा गर्नु र यहाँको मानिसहरुले साथ दिएनन् भन्नु मात्र आयोजकको दिनचर्या बनिरहेको अवस्थामा कपन अनलाइनले कपनका केही चिनिएका नामहरुलाई यस आयोजनाको बारेमा सोध्न खोज्दा प्रायःले अनौपचारिक रुपमा यो महोत्सव सफल नहुने र रमाइलो मेला मात्र हुने बताए तर औपचारिक रुपमा खुलेर यसको बिरोध गर्न चाहेनन् ।

कपन गाविसका सचिव लोमस आचार्यले भने यो महोत्सव सफल हुने र त्यही अनुरुपको तयारी भैरहेको बताए । तर के तयारी भैरहेको छ भन्न सकेनन् उहाँहरुलाई सोध्नुपर्छ भनेर आयोजकतिर औंल्याए आफू केही मिटिङदेखि समय अभावले जान नसकेको बताउँदै महोत्सवमा सबैलाई सहभागि भैदिन आग्रह गरे । कपनमा चिनिएका व्यक्ति पूर्व गाविस अध्यक्ष तथा ने.का. महासमिति सदस्य आत्माराम पौडेल भने आफूलाई यो महोत्सवको आधिकारिक जानकारीसमेत नरहेको बताउँछन् । कपन महोत्सव हुनु राम्रो हो तर त्यसको कार्यशैली तथा गरिने स्थान तथा तयारी सबैभन्दा महत्वपूर्ण विषय हुने बताउँदै यो कपन महोत्सवप्रति उनले पूर्ण अनविज्ञता प्रकट गरे । ने.का. कपन सभापति विनोद चालिसेले आफ्नो धेरै गुनासो रहे पनि कपनको नाम अगाडि आइसकेको अवस्थामा यो महोत्सवलाई आफूले सहयोग गर्ने जनाए । साथै सबैलाई समेट्ने विषय तथा महोत्सवको तयारीका विषयमा थुप्रै कमि कमजोरी रहेको उनको भनाई थियो । यद्यपि ने.का कपनले आश्विन १३ मा क्षेत्रीय सम्मेलन आयोजना गरेर केन्द्रिय सभापतिसहितको आमशभा घोषणा गरेर कपन महोत्सवसँग आफ्नो कार्यक्रम जुधाएको छ । यस बारेमा विनोद चालिसेको भनाई प्रष्ट देखिएन सकेन । उनले दुवै कार्यक्रम पहिला नै तय भएकोले यस्तो हुन गएको हो तर महोत्सवलाई प्रभावित हुन दिदैनौं ।

नेकपा एमालेका कपन अध्यक्ष ध्रुवराज न्यौपाने धेरै समस्याहरुको बाबजुद अब यो कपनवासीको प्रतिष्ठाको विषय बनेकोले यसको सफलतातिर आफू जुटेको बताउँछन् । के के काम भैरहेको वा के गरिनेछ भन्ने विषयमा जानकारी कम भए पनि उनले नेकपा एमाले सफल कपन महोत्सवको पक्षमा रहेको बताए । सकभर असफल नहोस् भन्ने धारणा राख्दै अझै कमिकमजोरीहरुलाई सच्याउने अवस्था रहेका बताउँदै विशेषगरी आर्थिक सबालमा पारदर्शी बनाउन प्रयास भैरहेको ध्रुवराज उनको कथन थियो ।

यही विषयमा एनेकपा माओवादीका सुभाष राई हिजोसम्म केही समस्याहरु थिए अब यी समस्याहरुलाई चिरेर अगाडि बढ्न पर्ने अवस्था आएको बताउँछन् । धेरै सकारात्मक कुराहरु अगाडि बढिको छ । अनुभवको कमिका कारण केही समस्या देखिएका थिए अब सकारात्मक बनाउने तयारीमा छौं । उ नयाँ टिम बनाएर अझै कपनको पहिचान दिने विषयहरु खोजी गरिने जानकारी दिए उनले ।

आयोजक स्वयम् चाहिँ के भन्छ त ? कपन अनलाइन मूल संयोजक भरतकिशोर श्रेष्ठसँग कुरा गर्न चाहन्थ्यो तर महोत्सवको काम विशेषले उनी बाहिर रहेकोले यस महोत्सवकी प्रचारप्रसार प्रमुख तथा भरतकिशोर श्रेष्ठकी धर्मपत्नी मीना श्रेष्ठ जो किमाथांका रिसोर्टकी सञ्चालक पनि हुन् हामीसँग कुरा गर्न तयार भइन् । उनले अत्यन्त शालीन ढंगले कपन महोत्सवको सबै तयारी पूरा भएको बताइन् । उनको भनाई थियो कपनका भएजति सबै सामाजिक व्यक्तित्व वा संघ संस्थालाई भेटघाट वा पत्राचार भएको छ । आयोजक हुनुको नाताले कतैबाट पनि आफूहरुले कमजोरी नगरेको बरु सोचे जाति राजनीतिक दल तथा अरु तर्फबाट सहयोग प्राप्त नभएको गुनासो थियो मीना श्रेष्ठको । उनको यो  गुनासो सबैभन्दा बढि विशेषगरी नेपाली कांग्रेसतिर देखिन्थ्यो । महोत्सवको ३ दिन के के गर्ने भन्ने बारेमा भने उनी अलि अकमकाइन्, प्रष्ट खाका उनीसँग थिएन । तर गुम्बा तथा मन्दिरहरुको फोटो राखेर चिनाउने उनको भनाइ थियो ।

समग्रमा आयोजकले आफ्नो क्रियाशिलताप्रति खुशी व्यक्त गरे पनि कहिँ न कहिँ कमजोरीको पृष्ठभूमि आयोजकबाटै शुरु भएको हो । तयारी बिना हुन लागेको हुनाले यो महोत्सव काँचो हुने कुरामा अहिलेसम्म दुइमत छैन । राजनीतिक दलहरुको भूमिका पनि महत्वको विषय हो । कपनका सामाजिक व्यक्तित्वहरुले चासो पनि नितान्त आवश्यक छ । अझै केही जोडजाड वा टालटुल गर्न सके कपनको बेइज्जत हुने थिएन कि । अहिलेसम्म त यो महोत्सव रमाइलो मेलाबाहेक केही होला जस्तो देखिएको छैन ।

यसैबीच एनेकपा माओवादीका सुभाष राइका अनुसार कपन महोत्सवमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रि बाबुराम भट्टराई तय भएको जानकारी दिएका छन् । त्यसैगरी काठमाडौं महानगर पालिकाले कपन महोत्सवको आयोजनालाई महत्व दिएर २० वटा डस्टबिन दिने भएको जानकारी पनि राइले बताए । त्यस्तै नेपाल पर्यटन बोर्डले मोहत्सवका लागि ब्यानर लगायत प्रचार सामाग्री उपलब्ध गराउने जानकारी पनि राइले दिए ।

 

तपाइँको प्रतिक्रिया ।