बर्दियाको सदरमुकाम गुलरियामा १० वर्षीय बालक विशाल राठौर स्कुल जान त पाएनन् नै बरु बदाम बेच्दै पेट पाल्न बाध्य छन् । मुस्लिम परिवारका राठौरका आमाबुबा भारत र नेपाल दुवैतिर बस्दै आएका र मजदुरी गरेर जीविकोपार्जन गरिरहेका कारण उनको जन्मदर्ता नहुँदा उनी स्कुल जानबाट वञ्चित भएका छन् । आमाबाबु पनि घर नभई डेरा गरी बस्ने र मजदूरी गर्ने कारण उनको पढाईको व्यवस्था हुन सकेको छैन ।
बर्दियाको सदरमुकाम गुलरियाको सडकमा बदाम बेच्दै गरेका बालक विशाल राठौर । यी १० वर्षीय बालक स्कुल जान त पाएनन् नै बरु बदाम बेच्दै जीविकोपार्जन गरिरहेका छन् । तस्बिर ः मेनका चौधरी, गुलरिया (बर्दिया), रासस
ती बालक विगत केही समयदेखि गुलरियाको मतङ्गामा रहेका र आमाबुबासँगै आफू पनि दिनभर बदाम बेच्ने गरिरहेका छन् । उनी आफूलाई पनि पढ्न रहर भएको तर पढ्न नपाएकोमा दुख लागेको बताउँछन् ।
उनकी आमा भने विशाल भारतमा मजदुरी गर्दा जन्मिएकाले जन्म दर्ता हुन नसकेको बताउँछिन् । रासस