गाउँमा म दौडन्थे – विसुकुमार के.सी.को कविता
कपन अनलाइन, ८ साउन , २०७३कपन निवासी विसुकुमार के.सी. उच्च तहका सरकारी कर्मचारी हुन् । सामाजिक क्षेत्रको विकासमा उनको चासो रहने गरेको छ । कला, साहित्य र सङ्गीतमा रूचि राख्ने विसुकुमार के.सी. राम्रा गीतकार तथा कवि हुन्, निबन्ध लेखनमा समेत उनको कलम चलेको छ । बुनपाभित्रको कपन निवासी के.सी. ४० को दशकको शुरुवाततिर बाँसबारीमा आयोजित कविता प्रतियोगितामा प्रथम भएर कविवर माधव घिमिरेका हातबाट पुरस्कृत भएका थिए । ऊनले लेखेको ‘कपन गान’ कपन क्षेत्रमा चर्चित र कर्णप्रिय रहेको छ । के.सी. बिगत ९ वर्षदेखि हरेक महिनाको अन्तिम शनिवार शास्त्रीय र भक्ति सङ्गीतको नियमित कार्यक्रम आयोजना गर्दै आएको कपन सङ्गीत सरोवरका अध्यक्ष हुन् । शनिवार साहित्यमा के.सी. ले हालै लेखेको “गाउँमा म दौडन्थे” शीर्षक कविता प्रकाशित गरिएको छ । यो कविता हालै एक सरकारी कामको सिलसिलामा विदेश जाँदा उनले लेखेका हुन् ।गाउँमा म दौडन्थे
गाउँमा म दौडन्थे,
आकाश संगै दौडन्थ्यो ।
पाहाड दौडन्थ्यो ।
खोला दौडन्थ्यो ।
दौडन्थ्यो रुख, पात, फल र बतास ।
दौडन्थ्यो खेत, वारी, वगर र फाँट ।
बादलको पछ्यौरा फहराउदै
दौडन्थ्यो क्षितिज ।
शहरमा म ट्रेडमिलमा दौडन्छु,
फगत म एक्लै दौडन्छु ।यो पसिना त्यहा पनि बग्दथ्यो, र
पसिना परे पछि बारीका पाटा
गर्भवती हुन्थिन ।अनि,
लाग्दथ्यो बालाहरु कोदाका बोटहरुमा।फनफनी घुम्दा दाइमा,
इन्द्रेणी पर्दथ्यो आगनमा,
भरिन्थ्यो भकारी र मुस्कान फुल्दथ्यो ओठहरुमा।
याहा त जति पसिना बगाए पनि,
बिलाउदो रहेछ बहिखातामा र,
फल्दो रहेछ फगत नाफा नोक्सान ।चरा चुरुङ्गिले नि
सन्चो बिसन्चो सोद्धथ्यो ।
रुख पातले पनि
भोक प्यास बुझ्दथ्यो ।
बिरामी हुँदा आफ्न्तहरु
डोकैमा भए पनि जुरुक्क बोकेर,
दौडाउथे हेल्थपोस्टसम्म ।
मरे पनि लैजान्थे घाट्मा र
छड्दैनथे साथ,
चितामा खरानी नभएसम्म ।
अभाव भए पनि
यैँचो पैचो चल्दथ्यो ।
एक्लै केही गर्नु पदैनथ्यो,
भारो-पर्म आलो पालो गरिन्थ्यो ।
यहाँ त,
झिलीमिली छ,
महफिल पनि छ,
तर मन उदास।
अनुभूति एकलास ।
शहरमा रुप एउटा सार बेग्लै ।
भिड मात्र ठूलो तर मान्छे सबै एक्लै ।
तपाइँको प्रतिक्रिया ।