क्षेत्र नं. ४ का तीनवटै पार्टीमा चरम आन्तरिक द्वन्द्वमा, बुनपाको विकास निर्माण प्रभावित

क्षेत्र नं. ४ का तीनवटै पार्टीमा चरम आन्तरिक द्वन्द्वमा, बुनपाको विकास निर्माण प्रभावित

Collages1

कपन अनलाइन,९ असार, २०७३/समाचार विश्लेषण

नेपाली राजनीतिको महत्वपूर्ण पाटोे अन्तरपार्टी अशान्ति हो । सबै पार्टीभित्र आन्तरिक गुट उपगुटले यति धेरै घर बनाएको छ कि एउटै पार्टीभित्रका कतिपय व्यक्तिहरुबीच बोलचालसमेत हुने गर्दैन । पार्टीभित्रको आन्तरिक गुटवादका कारण बरु अरु पार्टीका व्यक्तिलाई विश्वास गरिन्छ तर आफ्नै पार्टीभित्रका मान्छेहरुलाईचाहिँ कमजोर बनाउन शक्ति प्रयोग भैरहेको जताततै देखिन्छ । नेकाभित्र कोइराला, देउवा, पौडेल, खड्का, सिटौला नामका बिभिन्न गुट उपगुट छन् । ती गुट उपगुटका कारण तल्लो तहसम्म कार्यकर्ता तथा समर्थकसमेत बिभाजनको नराम्रो रेखामा बिभक्त भएका छन् । एमालेमा ओली, माधव, पोखरेल, गौतम नाममा नेता कार्यकर्ता र समर्थकहरू बिभाजित छन् । बिभिन्न नाम फेर्दै माओवादी केन्द्र भएको एमाओवादी भित्र पनि बचेखुचेका नेता कार्यकर्तामा मेल हुन सकेको देखिदैन । विशेषगरी कार्यकर्ता र समर्थकहरूमा बेमेल धेरै देखिन्छ ।

काठमाडौं जिल्लाको क्षेत्र नं. ४ देशकै चर्चित क्षेत्र हो । यसै क्षेत्रमा बसोबास गर्नेहरुमा राष्ट्रपति विद्या भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन, नेका सभापति शेरबहादुर देउवा, चर्चित युवा नेता तथा सांसद गगनकुमार थापा तथा एमाले बिदेश बिभागका सदस्य(पहिला प्रमुख लेखिएकोमा सच्याइएको)  तथा सांसद डा. राजन भट्टराइसहितका व्यक्तिहरु पर्दछन् ।

यति धेरै चर्चित व्यक्तिहरु यस क्षेत्रमा बसोबास गर्दा यी व्यक्तिहरुले ओगटेको राजनीतिक पृष्ठभूमिसँग आबद्ध पार्टीहरु भने यस क्षेत्रमा गुटगत राजनीति उत्सर्गमा रहेको छ । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र तीनैवटा पार्टी क्षेत्र नं. ४ मा चरम द्वन्द्वको घेरामा छन् । सत्तासिन दल एमालेभित्रको ओली र नेपाल गुटबीचको घम्साघम्सीमा थलिएको छ । एमालेको जिल्ला कमिटि ओली लाइनले भरिपूर्ण छ भने हालै भएको अधिवेशनमा क्षेत्र नं. ४ नेपाल लाइनले जितेको छ । यस क्षेत्रसँग राष्ट्रपतिको पनि चासो रहेको भनिए पनि अन्ततः ओली ग्रुप पराजित भएको थियो । ओली ग्रुप पराजित भए पनि क्षेत्र नं. ४ को महत्वपूर्ण हिस्सा बुढानिलकण्ठ नगरपालिकामा भने ओली ग्रुप नै हावी छ । विकास निर्माणमा नेपाल ग्रुपले खासै सहभागिता जनाउन नपाएको नेपाल समूहका नेताहरुले बताउँदै आएका छन् ।

यस क्षेत्रका समानुपातिक सांसदसमेत रहेका डा राजन भट्टराई ओली समूहका भएकाले पनि नेपाल लाइन यस क्षेत्रको बागडोरमा रहेर पनि कमजोर महशुस गरिरहेको भेटिन्छन् । क्षेत्र नं. ४ एमालेसँग आबद्धित कतिपय कार्यक्रममा गुटगत नेताहरुको हावी हुने तथा एउटै क्षेत्रमा भएर पनि गुटगत स्थानीय कार्यकर्तामात्र भेला हुने देखिने गर्दछ । यस क्षेत्रमा उद्धव खरेल, नवराज भट्टराई, ध्रुव भट्टराई, संगम गहतराज, बिदुर खड्क,, टीका पराजुली, सुन्दर पुर्काेटी, लक्ष्मी संग्रौला, निरन्जन नेपाल, राजन पोखरेल, विन्दा गौतम आदि नेताहरुले ओली पक्षीय गुट हाँकिरहेका छन् ।

Recently Updated1

त्यसैगरी कुसुम कार्की, ध्रुवराज न्यौपाने, पुण्यराज पुडासैनी, पुरुषोत्तम नेपाल, रामशरण सापकोटा, मिठाराम अधिकारी, श्रीकृष्ण श्रेष्ठ, टिकेश नारायण श्रेष्ठ, वासुदेव थापा, ध्रुव रिमाल, प्रमोद ढकाल, रन्जना मास्के, निर्मला पुडासैनी, आशिष श्रेष्ठ, भरतलाल श्रेष्ठ आदिलाई माधव नेपाल पक्षीय नेताहरुले नेपाल पक्षीय गुट हाँकिरहेका छन् ।

क्षेत्रीय अधिवेशनमा काठमाडौं क्षेत्र नं. ४ र ५ मा ओली पक्ष पराजित भएपछि यी क्षेत्रमा ओली पक्ष आक्रमकरुपमा गतिबिधिका लागेको छ । यसैको परिणामस्वरुप हालै बुढानिलकण्ठ नगरपालिका कमिटिमा भएको नेतृत्व परिवर्तनलाई लिन सकिन्छ । गत संबिधानसभाको निर्वाचन परिणामको आधारमा पहिलो भएको नेपाली कांग्रेस यतिखेर प्रमुख प्रतिपक्षको रुपमा राष्ट्रिय राजनीतिमा सक्रिय छ । नेपालमा गुटगत राजनीतिको प्रणेता नै भन्न सकिने नेपाली कांग्रेसमा चिनिने खालका ३ गुट र अप्रत्यक्ष थुप्रै उपगुटहरु रहेका छन् । काठमाडौं क्षेत्र नं. ४ मा अध्यक्ष शेरबहादुर देउवा र चर्चित युवा नेता गगन थापा बस्दछन् ।

गगन थापा कुन पक्षका हुन् भन्न नसकिए पनि यस क्षेत्रमा गगन थापाको आफ्ना भन्ने व्यक्तिले चुनाव क्षेत्रीय अधिवेशनमा पराजित भएसँगै गुटगत राजनीतिको चर्काे स्वरुप देखिन थालेको छ । थापालाई टक्कर दिँदै देउवा प्लस प्रकाशमान पक्षीय बनेर उदाएका राजु श्रेष्ठ क्षेत्रीय सभापति भएपछि बिधिबत रुपमा क्षेत्र नं. ४ नेपाली कांग्रेस दुई धारमा परिणत भएको हो । यसक्षेत्रमा यतिसम्म भनिन्छ, राजु श्रेष्ठ क्षेत्रीय सभापति भएपछि गगन थापाले उनलाई बधाई सम्म दिएनन् । यद्यपि गगन थापाले बधाई दिएको प्रमाण पेश गरिसकेका छन् । गगन थापा जस्तो चलेको नेताले क्षेत्रीय सभापतिलाई बधाई दिएको भन्ने प्रमाण देखाउनु पर्ने वातावरण बन्नु भनेको यस क्षेत्रमा नेकाको आन्तरिक समस्या कति ठूलो बन्दै गएको छ भन्ने अनुमान गर्न सकिन्छ ।

ttt11

क्षेत्र नं. ४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ आफ्ना क्षेत्रका सांसद गगन थापालाई धेरै स्थान दिने पक्षमा देखिदैनन् । संगठनमा सांसद थापालाई स्थान नदिने रणनीतिमा छन् राजु श्रेष्ठ । त्यसैगरी राजु श्रेष्ठ नरम भएर गएनन् भने गगन थापा पनि लत्रिने मुडमा देखिदैनन् । सांसद विकास कोषका तर्फबाट हुने विकास निर्माणका सम्पूण पक्षबाट क्षेत्रीय सभापतिलाई बञ्चित गराउने सम्म अवस्थामा सांसद थापा रहेको बताइन्छ । यद्यपि श्रेष्ठ र थापा दुवैले मिलेर जाने कुरा बताउने गरेका छन् । नेका क्षेत्र नं. ४ को वर्तमान अवस्था हेर्दा सभापति श्रेष्ठ गगन थापालाई संगठनमा ढिम्किन नदिने मुडमा छन् भने सांसद थापा सभापतिलाई विकास निर्माणमा सहभागि नबनाउन सक्ने अबस्थामा छन् । यस क्षेत्रमा नेकाभित्र थापा र श्रेष्ठबीच आफैमा खासै द्वन्द्व नभएको बताइन्छ तर आसेपासे नेताहरुको गुटले उनीहरुलाई एक हुन नदिएको बताइन्छ ।

क्षेत्र नं. ४ मा सांसद तथा केन्द्रिय सदस्य गगन थापा पक्षीय भनेर श्यामकृष्ण संगत, सानु श्रेष्ठ, रोहित पौडेल, शैलेस सिटौला, डिल्लिप्रसाद डोटेल, विनोद चालिसे, रिता बुढाथोकी, रमेश महर्जन, इन्द्र थापा, आशामान संगत, दलबहादुर कार्की, किरण रेग्मी, गणेश कोइराला, न्ुहच्छेनारायण श्रेष्ठ आदि गुट संचालन गरिरहेका छन् ।

त्यसैगरी क्षेत्रीय सभापति राजु श्रेष्ठको गुट भनेर कर्माछिरिङ शेर्पा, श्रीराम लामिछाने, सागर बैजु, नरोत्तम वैद्य, लाक्पा शेर्पा, गोकुल धिताल, भोला लामिछाने, आत्माराम पौडेल, अच्युत पौडेल, जानु घिमिरे, होमनाथ तिमिल्सिना, रामप्रसाद लुइँटेल, प्रकाश गुरुङ, निरज सत्याल र राजाराम बुढाथोकी आदि हिँडेको देखिन्छ । यस क्षेत्रका पूराना नेता चिरन्जिविनिधि तिवारी भने यतिखेर दुवै प्यानलमा देखिएका छैनन् यद्यपि महासमिति सदस्य नबनाएकोले गगन थापाको भन्दा राजु श्रेष्ठको बढि बिरोधी भएको मानिन्छ ।

तेस्रो दल माओवादी केन्द्र भने नेताको अभावमा रुमल्लिएको छ । एमाओवादी टुक्रिने क्रमसँगै यस क्षेत्रका स्थानीय नेताहरु घट्ने क्रम अझै सकिएको छैन । यस क्षेत्रसहित बुढानिलकण्ठ नगरपालिका कमिटिको बागडोर संहालिरहेका रविन अधिकारी स्वयम् पनि दवाबमा छन् । ठाकुर खकुरेल तथा संजय अर्यालका साथमा केही गर्ने मुड बनाए पनि उनको बाटो सजिलो नभएका जानकारहरु बताउँछन् । रविन अधिकारीको नेतृत्वलाई डम्बर अधिकारी, सुवास राई आदिले नस्वीकारेको बताइन्छ । सांगठनिक भूमिकामा भन्दा रविन अधिकारी स्वयम् पनि विकास निर्माणको क्षेत्रमा बढि क्रियाशिल भएको देखिन्छ ।

प्रमुख दलको आन्तरिक द्वन्द्वका कारण क्षेत्र नं. ४ को महत्वपूर्ण हिस्सा बनेको बुढानिलकण्ठ नगरपालिकाको विकास निर्माणमा असर परिरहेको देखिन्छ । नेपाली कांग्रेस तथा एमालेमा प्रतिनिधि सम्बन्धि विशेष विवाद छ । नेपाली कांग्रेसले राजाराम बुढाथोकीलाई बुनपा प्रतिनिधिको रुपमा पठाएपछि नेका बुनपा सभापति गणेश कोइरालासहित सांसद गगन थापा स्वयम् पनि खुशी नभएको बताइन्छ । राजाराम बुढाथोकी नगरप्रतिनिधिको रुपमा पठाएकोमा धेरैलाई चित्त नबुझेको कुरा पटकपटक बाहिर आइरहेको छ ।

पछिल्ला केही समयदेखि नगरपालिकामा माओवादी केन्द्रका रविन अधिकारीको एकल वर्चश्व रहेको र त्यो वर्चश्वलाई बुढाथोकीले चिर्न नसकेको आरोप लागिरहेको छ । त्यसैगरी हालै एमालेले उद्धव खरेललाई हटाएर विदुर खड्कालाई नगर प्रतिनिधिको रुपमा पठाएपछि एमाले वृत्तमा हलचल मच्चिएको बताइन्छ । कुुसुमकुमार कार्की अध्यक्ष रहेको एमाले क्षेत्रीय कमिटि हालै एमाले जिल्ला कमिटिले पठाएका बिदुर खड्को सिफारिसप्रति रुष्ट छ । बिदुरको ठाउँमा अरु कोही व्यक्तिलाई नगर प्रतिनिधिको रुपमा पठाउने सोच एमाले क्षेत्र नं. ४ कमिटिले बनाइरहेको हल्ला क्षेत्र नं. ४ मा चलिरहेको छ

तपाइँको प्रतिक्रिया ।