क्यानोनिङको प्रवद्र्धन गर्न नुवाकोटको झरनामा महोत्सव
कपन अनलाइन /काठमाडौँ, १६ जेठ ।
(सूर्यचन्द्र बस्नेत) जलयात्रा, पदयात्रा र पर्वतारोहण जस्तै साहसिक पर्यटनका रुपमा विकास हुन थालेको छाँगावरोहण (क्यानोनिङ)प्रति आन्तरिक पर्यटक आकर्षित गर्न नेपाल छाँगावरोहण सङ्घले छाँगावरोहण महोत्सव गर्ने भएको छ ।
पहाडका अग्ला डाँडाबाट झर्ने प्राकृतिक झरनामा डोरीको सहायतामा झुन्डिएर खेलिने यो साहसिक पर्यटकीय गतिविधिका रुपमा विकास हुँदैछ । काठमाडौंबाट ३५ किलोमिटर टाढा नुवाकोट थानापाती गाविसको छहरे झरनामा जेठ २१ र २२ गते महोत्सव गर्न लागिएको हो ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग, टे«किङ एजेन्ट एसोेसिएसन नेपालको सहआयोजना तथा पर्यटनसँग सम्बन्धित संस्थाको सहयोगमा हुने महोत्सवमा करिब ३०० स्वदेशीको सहभागिता रहने सङ्घका अध्यक्ष राजेन्द्रबहादुर लामाले जानकारी दिनुभयो । “साहसिक पर्यटनमा रुचि राख्ने नेपालीलाई आकर्षित गर्न महोत्सव गर्न लागिएको हो, यसले नेपालको साहसिक पर्यटनको विस्तारमा मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।हिमाल आरोहण, पदयात्रा, जलयात्रा, बन्जीजम्प, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिप्रति पर्यटकको आकर्षण बढिरहेका बेला साहसिक खेलका रुपमा चिनिएको छाँगावरोहणप्रति पनि स्वदेशी तथा विदेशीको आकर्षण बढ्दै गएको छ । छाँगावरोहणको प्रवद्र्धन गर्न कार्यशाला, राष्ट्रिय र अन्तर्राष्ट्रिय महोत्सव तथा गाइड प्रशिक्षणजस्ता कार्यक्रम गरेर प्रचारसहित प्राविधिक सीपको विकास गरिरहेको सङ्घका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेत बताउनुहुन्छ ।
“छाँगावरोहणमा नेपालीको सहभागिता बढाउन महोत्सव आयोजना गर्न लागिएको छ,” उहाँले भन्नुभयो । स्वदेशी–विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जाने गरेका छन् । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् । पाँच हजार २०० मिटर उचाइमा अवस्थित मनाङ फुको झरना संसारकै सबैभन्दा उचाइमा रहेको छ ।
सङ्घले विभिन्न सामाजिक सञ्जालमा नेपालमा छाँगावरोहणसम्बन्धी दक्षता प्रमाणित नभएका, सम्बन्धित निकायबाट इजाजत नलिएका र सङ्घले प्रमाणित नगरेका व्यक्ति तथा कम्पनीले छाँगावरोहण गर्ने÷गराउने, झरनामा व्यक्तिगत स्वामित्व देखाउने र छाँगावरोहणसम्बन्धी तालिमको समेत आह्वान गरेको जानकारीमा आएको भन्दै त्यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ ।
सङ्घका महासचिव देवेन्द्रबाबु तिवारीले एक विज्ञप्तिमार्फत छाँगावरोहण साँच्चै नै साहसिक र जोखिमयुक्त पर्यटकीय गतिविधि भएकाले यदि कोही देश वा विदेशका नागरिक छाँगावरोहणमा रमाउन चाहेमा पूर्वरुपमा नेपाल सरकार तथा छाँगावरोहण सङ्घबाट स्वीकृति लिएको कम्पनी, गाइड र तोकिएका झरनामा मात्र गर्न÷गराउन अनुरोध गरिएको उल्लेख गर्नुभयो ।
यही सन्दर्भमा सङ्घले दक्ष प्रशिक्षक तयार गर्न मङ्गलबारबाट छहरे झरनामा दशदिने छाँगावरोहण प्रशिक्षक तालिम पनि सञ्चालन गर्दैछ । त्यसमा दश जनाले प्रशिक्षण लिनेछन् । दक्ष प्रशिक्षक तयार गरी छाँगावरोहणजस्तो साहसिक खेलको व्यावसायिक विकास गर्न प्रशिक्षक उत्पादनसँगै महोत्सव गर्न लागिएको सङ्घका महासचिव एवम वरिष्ठ प्रशिक्षक राजेश लामा तामाङले बताउनुभयो ।
अग्ला पहराबाट खस्ने छहराको चिसो पानीसँगै गर्मीयाममा खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई व्यवस्थित बनाउन नेपाल छाँगावरोहण सङ्घ लागिपरेको छ । सङ्घले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ ।
सङ्घको पहलमा सरकारबाट छाँगावरोहण कार्यविधि निर्देशिका आइसकेको र केही बुँदा संशोधन गर्न सङ्घले गृहकार्य सुरु गरेको जनाएको छ । “बिनास्वीकृति छाँगावरोहण गर्दा÷गराउँदा हुन सक्ने कुनै पनि अप्रिय घटनाका लागि सङ्घ जिम्मेवार हुनेछैन”, कोषाध्यक्ष बस्नेतले भन्नुभयो ।
सङ्घले एसियामा नै पहिलो पटक सन् २०११ मा अन्तर्राष्ट्रिय छाँगावरोहण महोत्सव गरेर विश्वको साहसिक पर्यटनतर्फ रुचि राख्ने विदेशीलाई नेपाल भित्र्याएको थियो । पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा कार्यक्रम गरिरहेको सङ्घले सन् २०१३ मा राष्ट्रिय छाँगावरोहण महोत्सव आयोजना गर्दा २०० बढी स्वदेशी तथा विदेशी सहभागि थिए । रासस