सञ्चारकर्मीले राष्ट्रिय स्वाधीनताको पक्षपोषण गर्नुपर्छ– महासचिव पोखरेल

सञ्चारकर्मीले राष्ट्रिय स्वाधीनताको पक्षपोषण गर्नुपर्छ– महासचिव पोखरेल

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सञ्चारकर्मीले राष्ट्रिय स्वाधीनताको पक्षपोषण गर्नुपर्ने बताउनुभएको छ ।
युवा सङ्घ नेपालद्वारा प्रेस चौतारी नेपालको नयाँ कार्य समितिलाई स्वागतका लागि आयोजित कार्यक्रममा उहाँले पत्रकारले व्यावसायिक दक्षता हासिल गर्नुपर्नेमा जोड दिँदै संविधानको रक्षा र त्यसको कार्यान्वयनका लागि सक्रिय रहन आग्रह गर्नुभयो ।

13315311_1046723248726656_3881752900307911097_n
महासचिव पोखरेलले मुलुकको स्वाभिमानको शिरलाई दुई शताव्दी अगाडि भएको असमान सुगौली सन्धिबाट झुकाइएको बताउँदै अहिले सरकारको दृढताका कारण त्यसलाई उठाउने काम भएको विचार व्यक्त गर्नुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो संस्थाको सिफारिसमा सरकारले बजेटमा पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गरेकोमा त्यसको सराहना गर्नुभयो ।
युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक प्राप्त गर्न नसकेको अवस्थामा त्यसलाई चौतारीको नयाँ कार्यसमितिले कार्यान्वयनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका प्रवक्ता प्रभात विक्रम कटुवालले समाजमा भए गरेका विभिन्न घटनालाई यथार्थ चित्रण गरी समाजलाई सुसुचित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । रासस

फोटो : पुन्यराज पुडासैनीको फेसबुक बाट

तपाइँको प्रतिक्रिया ।