परनिर्भरताको अन्त्यको माग गर्दै कविता वाचन
कपन अनलाइन, काठमाडौँ, १५ जेठ । ‘अविरल जनसाहित्य यात्रा–२६’ मा प्रगतिवादी कवि हरिप्रसाद तिमिल्सिनाले शनिबार आफ्ना एक दर्जन प्रतिनिधि कविता वाचन गर्नुभयो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजना तथा जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा संयुक्त रूपमा भएको कार्यक्रममा उहाँले अहिले देखापरेको परनिर्भरताको अन्त्य होस् भन्ने कामना गर्दै ‘स्वागतम्’, ‘एक आलोक अनेक तरङ्ग’, ‘परिवर्तन’, ‘आमा विषयक’, ‘भूकम्प र नाकाबन्दी’ शीर्षकका द्रुतविलम्बित, भुजङ्गप्रयात, शार्दूलविक्रीडित, अनुष्टुप् छन्दका कविता वाचन गर्नुभयो र उहाँलाई साथ दिँदै रत्नावली शर्मा, रूपक अलङ्कार, सुदेश सत्याल, भागवत आचार्य, जगत् वाशिष्ठ र डा देवी नेपालले साथ दिनुभएको थियो ।
युगकवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, गोकुल जोशीको जन्म महिना परेको र जननेता मदन भण्डारीको अवसान भएको महिना समेत परेकाले सबैको सम्झना गरी आरम्भ गरिएको उक्त कार्यक्रममा मञ्च, काव्य विभागका संयोजक डा विन्दु शर्माले २०२३ सालमा दैलेखमा जन्मनुभएका तिमिल्सिनाका कवितामा समाजमा विद्यमानसामाजिक कुसंस्कृतिको विरोध गरिएको, वर्गीय पक्षधरता देखा परेको, अल्पसङ्ख्यकको पहिचानको खोजी देखा परेको, आदर्श समाज निर्माणको परिकल्पना गरिएको, समग्र बेथितिलाई उजागर गरी रूपान्तरण गर्नुपर्ने आग्रह रहेको, आशावादी जीवन दृष्टि रहेको बताउनुभयो । सो अवसरमा नेकपा(एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कवितामा भावना, विचार र वाचकको तालमेल गर्न सक्ने हो भने लाखौँ मान्छेलाई एकैचोटि परिवर्तन गर्ने सामथ्र्य हुने बताउनुभयो ।
समालोचक प्रा जगत् प्रेक्षितले वाचित कवितामाथि टिप्पणी गर्दै कवि समाजका सबैसँग बहिर्मुखी भएर घुलमिल गर्ने र विश्लेषण गर्दा चाहिँ अन्तरमुखी हुने, जनताका बीचमा आफूलाई पु¥याउने, उनीहरूको भोगाइलाई भावनामा मिसाएर सौन्दर्यात्मक अभिव्यक्ति दिने सफल स्रष्टा हुन् भन्नुभयो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कावा महासचिव प्रेमनाथ अधिकारीले तिमिल्सिना कवि मात्र नभएर सङ्गठक पनि भएको जानकारी गराउनुभयो । मञ्चका अध्यक्ष राम विनयले तिमिल्सिना वैचारिक सङ्गठन, साहित्यिक अभियान र अध्यापन एवम् प्रशासकको भूमिका आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुनुभएको बताउनुभयो । मञ्चका उपाध्यक्ष रमेश पोखरेलले आगामी असारको २७ औँ शृङ्खलामा पूर्वको सुनसरी–मोरङलाई कर्मथलो बनाउने स्रष्टा प्रा डा बद्रीविशाल पोखरेललाई प्रस्तुत गरिने जानकारी दिनुभयो । रासस