नेपाल भूकम्प, पहिरो र बाढीको उच्च जोखिममा

नेपाल भूकम्प, पहिरो र बाढीको उच्च जोखिममा

kali-kinar

कपन अनलाइन, काठमाडौँ, १४ जेठ । अनुसन्धानकर्ताले नेपालको भूगोल प्राकृतिक प्रकोपको बढी जोखिमयुक्त क्षेत्र रहेकाले त्यसबाट बच्न सुरक्षाका उपाय अवलम्बनमा बढी जोड दिनुपर्ने बताएका छन् । त्रिवि, केन्द्रीय वातावरण विभाग, अमेरिकाको एरिजोना विश्वविद्यालय र आइसेट नेपालले संयुक्त रुपमा आज आयोजना गरेको छलफल कार्यक्रममा अनुसन्धानकर्ता डा टङ्क ओझा र डा जोनाथन टी वभरपिकले नेपाल भूकम्प, पहिरो र बाढीको उच्च जोखिममा रहेको बताउनुभयो ।

कार्यक्रममा डा ओझाले ‘नेपालमा भौगोलिक जोखिमको बुझाइ’ विषयको कार्यपत्र प्रस्तुत गर्दै नेपालमा भौगर्भिक सूचनाको पहुँच नहुँदा प्राकृतिक प्रकोपका घटनाबारे जानकारी लिन र पूर्वसचेतना अपनाउन नसक्दा बढी क्षति भोग्नु परिरहेको बताउनुभयो । “अहिलेकै अवस्था यथावत् रहे अबको केही वर्षमा नेपालमा उच्च वर्षा र लामो खडेरीको सम्भावना छ”– उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा डा वभरपिकले ‘एक्काइसौँ शताब्दीमा नेपालको वातावरणीय चुनौती’ विषयको कार्यपत्र प्रस्तुत गर्दै सामुद्रिक तापमा वृद्धि, वनजङ्गलको विनाश, ठूला संरचनाको निर्माण, अव्यवस्थित सहरीकरण र भूमिको प्रयोगका कारण वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो । उहाँले अहिले नेपालमा प्रत्येक दुई दशकमा एक डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको विवरण प्रस्तुत गर्दै यो यथावत् रहे ठूलो जोखिम निम्तने विचार व्यक्त गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।