पदयात्रा र हिमाली दृश्यावलोेकनका लागि विश्वकै आकर्षण बन्दै घान्द्रुक
कपन अनलाइन, पोखरा, १३ जेठ, २०७३
-वासुदेव पौडेल
पर्यटकीय रुपमा विश्वमै चासो र चर्चा पाउने गरेको पोखराको उत्तर भागमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक पदयात्रा र हिमाली दृश्यावलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । देशका विभिन्न भागबाट आउने पर्यटकका साथै नेपाल आउने लगभग ७५ प्रतिशत विदेशी पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । नेपाल आएर पनि घान्द्रुक नटेके यात्रा अधुरो हुने यात्रा गरिसके पछि विदेशी पर्यटकबाट अभिव्यक्त हुने भनाइले पनि घान्द्रुक आफैंमा विशिष्ट स्थल भएको पुष्टि गर्ने स्थानीयवासीको तर्क छ । मोदीखोलाको शिरमा रहेको घान्द्रुक खोलाको बेँसीदेखि लेकसम्मै फैलिएको छ भने यसलाई माछापुच्छ्रे र अन्नपूर्ण हिमालले काखमा राखेको छ ।
अन्नपूर्ण र माछापुच्छ्रे« आधार शिविर जाने छोटो र सजिलो बाटो मानिने भएका कारण पनि यो सधैं पर्यटकहरूको आकर्षण बन्दैआएको पर्यटन व्यवस्थापन समिति घान्दु्रकका अध्यक्ष किसम गुरुङले बताउनुभयो । उहाँका अनुसार पर्यटकहरूको आगमनलाई लक्ष्य गरी घान्द्रुकमा सुविधासम्पन्न ३० वटा होटेल सञ्चालनमा रहेका छन् र यहाँ केही होम स्टे पनि सुरु भएको छ । “लगभग २० वर्ष अघि सुरुमा क्याम्पिङका रुपमा यहाँको पर्यटकीय गतिविधि सुरु भएको हो,” अध्यक्ष गुरुङले भन्नुभयो – “पछिल्ला वर्षमा आएर यो पदयात्रा र हिमाली दृश्यावलोकनका लागि विशिष्ट स्थल बन्न पुगेको छ ।”
पानी तथा चौबीसै घन्टा बिजुली र इन्टरनेट समेतको सुविधाका कारण यहाँ आउन पर्यटकहरु कुनै झन्झट मान्दैनन् । स्थानीय युवाका साथै आमा समूहको विशेष सक्रियताले पनि यहाँको पर्यटन प्रवद्र्धनका टेवा पुगेको छ । ढुङ्गै ढुङ्गाले छापिएको सडक तथा चोकका साथै बाक्लो रुपमा एकै ठाउँमा रहेका ढुङ्गाले छाएका तथा नेपाली कलाकृतिले सजिएका घरहरूले पर्यटकलाई लोभ्याउने गरेको छ नै । त्यसका साथै यहाँका पर्यटन व्यवसायीको व्यवहारबाट पनि घुमेर फर्कने पर्यटकमा न्यानो आतिथ्यको गहिरो छाप पर्ने गरेको छ ।
जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी, जङ्गली फूल, गुराँस विभिन्न प्रजातिका वन पैदावार, जडीबुटी, जीवजन्तु र थरिथरिका चराचुरुङ्गीसमेत हेर्न पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो ।
आयोजनाअन्तर्गत प्राकृतिक स्रोत संरक्षण, पर्यटकीय विकास लगायतका काम भैरहेको उहाँले बताउनुभयो । “घान्द्रुक आफैंमा पर्यावरणीय रुपले अत्यन्त सुन्दर र विशिष्ट स्थल हो,” उहाँले भन्नुभयो, “यहाँ विभिन्न जीवजन्तुका साथै बहुमूल्य यार्सागुम्बा, चिराइतो, पाँच औंले, सतुवा, निर्मांसी जस्ता धेरै जडीबुटी पाइन्छ ।
समय पुगेका अवस्थामा पर्यटकहरू एक दुई दिन लम्ब्याएर यहाँबाट नजिकै रहेका पर्यटकीय गाउँ छोम्रोङ र लान्द्रुक पनि पुग्ने गरेका छन् ।गाडी चढेर पोखराबाट लगभग दुई घण्टामा चामे पुगेपछि घान्दु्रक पुग्न करिब एक घण्टा पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । पदयात्रा घान्द्रुकको आफ्नै विशष्टिता भएका कारण सवारी यातायात सँगै यहाँको प्राचीन पदमार्गलाई पनि संरक्षण गरिनुपर्ने स्थानीयवासीको भनाइ छ । घान्द्रुकका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रम बराह, तौजीबराह, कोटडाँडा, गुम्बा, ङयोवराह जस्ता स्थलले पनि यहाँको पर्यटनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
भक्तिभावपूर्वक मेश्रम बराहको पूजाआजा गरेमा मनले चिताएको पुग्ने जनविश्वास छ । गत वर्षको विनासकारी भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले कारण देशका विभिन्न पर्यटकीय स्थलमा प्रभाव पारे जस्तै घान्द्रुक पनि प्रभावित भएको शक्ति गेष्ट हाउस, घान्द्रुककी सञ्चालिका भाइखु गुरुङले बताउनुभयो । भूकम्प र नाकाबन्दीपछि विदेशी पर्यटक आउने क्रम अत्यन्त न्यून भए पनि आन्तरिक पर्यटकका कारण केही मात्रामा राहत मिलेको उहाँको भनाइ छ । सामूहिक सक्रियता नै घान्द्रुकको पर्यटनको महत्वपूर्ण विशेषता भएको बताउने प्रा वेदहरि तिमल्सिना प्रचुर सम्भावना बोकेको यो स्थलको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ ।
यहाँको पयर्टन व्यवसायलाई थप व्यवस्थित बनाउन सकिए युवा वर्गको बढ्दो बिदेसिने क्रम अन्त्य गर्न सकिने उहाँको भनाइ छ । विशेष गरी फागुन चैतको समयमा घान्द्रुक पुग्ने पर्यटकले जङ्गलभर रक्ताम्य गुराँस फुलेको देखेपछि निकै हर्षित हुने गरेको मेश्रम होटेलका सञ्चालक सन्दिप गुरुङले बताउनुभयो । यहाँ लगभग १५ प्रजातिका लालीगुराँस फुलेको देख्न पाइन्छ । पुस र माघमा सेताम्मे पर्ने हिउँ पनि यहाँ आउने पर्यटकका लागि आकर्षण बन्दै गएको छ । भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण गत वर्ष भन्दा यस वर्ष बाह्य पर्यटक आगमनमा ठूलो कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र कार्यालयका प्रमुख कुइँकेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन् २०१४ मा अन्नपूर्ण आधार शिविरको पदयात्रामा १ लाख २९ हजार ६ सय २४ विदेशी पर्यटक आएकामा २०१५ मा उक्त सङ्ख्या घटेर ७९ हजार पुग्यो । यस वर्ष गत वर्षको भन्दा पर्यटकको सङ्ख्या केही मात्रामा बढेको छ । कार्यालयका अनुसार अन्नपूर्ण पदमार्ग अन्तर्गतका म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । घान्द्रुक पुग्ने पदमार्गको यात्रा कास्कीको बिरेठाटीबाट सुरु हुन्छ भने पर्यटकहरूले घान्द्रुक, सेनुवा, बम्बु, हिमालय, देउराली, माछापुच्छ«्रे आधार शिविर जस्ता मनोरम स्थानको अवलोकनको अवसर पाउँछन् ।
यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्दै थप प्रवद्र्धनका लागि अत्यावश्यकीय पूर्वाधार निर्माण गर्ने कामलाई राजनीतिक दलले पनि आफ्नो प्राथमिकतामा राखेका छन् ।पदयात्रा र दृश्यावलोकनका लागि प्रचुर सम्भावना बोकेको घान्द्रुक जस्ता ठाउँको विकासलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने नेपाली काँग्रेस कास्कीका जिल्ला कार्यसमिति सदस्य विष्णुबहादुर क्षेत्रीको घारणा छ । “विश्वकै जो कोही लाई लोभ्याउने सुन्दरता घान्द्रुकमा छ,” क्षेत्रीले भन्नुभयो, “यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिए आयआर्जनको पनि महत्वपूर्ण माध्यम बन्न सक्छ ।” रासस