‘…….एउटै साझा घर’ प्रशङ्गमा नारायण नेपालसँग एक साँझ,

‘…….एउटै साझा घर’  प्रशङ्गमा  नारायण नेपालसँग एक साँझ,

कपन अनलाइन / बैशाख १४, २०७३

कपन नजिकै सरस्वतीनगरतिर आजकाल मेलाम्चीको पानी आउने नाममा बाटो बिगारिएको छ । मुस्किलले हिँड्नमात्र सकिन्छ गोपिकृष्णहलदेखि भृकुटीचोकसम्म । धुलैधुलोले सास फेर्नसम्म पनि गारो पर्ला जस्तो  सडकमा साँझ सात बजेतिर अचानक कसैले नजिकैबाट बोलायो । चिरपरिचितसरहको त्यो धोत्रो(बेस बढि भएको) आवाज थियो नारायण नेपालको । एकहप्तायता नेपालजीलाई सडकमा भेटिएको यो दोस्रो पटक थियो । संयोगले दुवै पटक साँझ परिसकेको पछिको बत्तिको उज्यालोमा धुलाम्मे देखिएको सडकमा उनी  भेटिए ।  नारायण नेपालसँग त्यति ठूलो सानिध्यता  नभए पनि साहित्यिक कार्यक्रममा यदाकदा भेट हुन्छ । नाभीबाट निक्लने बोल्ड आवाजमा उनले प्रायः गजल भन्छन् । मैले जतिपटक सुनेको छु उनको गजलमा मायाप्रेम नै बढि हावी हुन्छ, जुन गजलको खास स्वरुप पनि हो । प्राध्यपन पेशामा संलग्न नेपाल न देख्दा शिक्षक देखिन्छन् न आवाज सुन्दा । तर अंग्रेजी भाषाका नामी शिक्षक हुन् उनी । त्यसो त नेपाली भाषामा पनि राम्रै दख्खल छ । पद्यमा पनि कविता कोर्न सक्छन् ।

12985534_1306776746006055_5666471185901686536_n
नारायण नेपाल (तस्वीर: नारायण नेपाल फेशबुक)

कपन साहित्यमा समाजमा मिठाराम अधिकारीको लामो तर अँधेरो कार्यकालपश्चात आएको नयाँ समितिले आयोजना गरेको काव्य संगोष्ठिमा  हालै उनले मुक्तक र गजल वाचन गरेका थिए । लगत्तै संस्थाले प्रकाशन गरेको कविता क्यालेण्डरमा  नेपालको गजल नै छापिएको छ । भेटमा उनले भनिहाले, ‘यसपाला क्यालेण्डरमा धेरै गडबडि छ है, मेरो गजलको एउटा हरफ नै हराएछ ।’ मैले प्रतिरक्षा गरेँ, ‘सारै सानो समयमा प्रकाशन गर्नुपर्दा केही गडबड हुनपुग्यो ।’

त्यसो त क्यालेन्डरमा देखिएको त्रुटी हामीलेभन्दा पनि डिजाइनरको गल्तिले भएको थियो । सम्पादक भएका कारण डिजाइनरलाई दोष दिएर हामीले सुख पाउने कुरा भएन । फेरि ५ जना सम्पादक भएको क्यालेन्डर । मैले जसोतसो आफ्नो प्रतिरक्षा गरेँ । उनले पनि खासै र्याख्र्याख्ती पारेनन्, प्रकाशन सम्बन्धि केही अनुभव सेयर गरे । त्यसपछि मात्र मैले उनी पुस्तककार पनि रहेको थाहा पाएँ । अंग्रेजीमा दुईवटा उपन्याससहित एक कथा संग्रह र नेपाली दुई गजल संग्रह, मुक्तक संग्रहसहित धेरै पुस्तक प्रकाशित भएका छन्  ।

नजिकैको चियापसलमा बसेर दुधको चिया खाइरहँदा नारायण नेपाल कलेजमा पनि रोमान्टिक शिक्षक रहेको सँगै साथमा रहेका उनका विद्यार्थीले बताए । चियाको चुस्कीसँगै मैले ज्ञानकुमार खड्काको फेशबुक वालमा नारायण नेपालसहित संगीतकार डम्बर ढकालको प्रशंग पटकपटक देखेको कुरा निकालेँ । उनले त्यो एउटा स्वदेशगानको प्रशंग भएको बताउँदै तीनजना मिलेर एउटा स्वदेशगान सार्वजनिक गरेको बताए । ज्ञानकुमार खड्काको आवाजमा डम्बर ढकालले संगीत दिएको यो स्वदेशगानको रचनाचाहिँ नारायण नेपालले गरेका रहेछन् ।

12998717_569327326601924_60683160063015271_n
दायाँबाट क्रमश: नारायण नेपाल,ज्ञानकुमार खड्का र डम्बर ढकाल

तत्कालै उनले ब्लुटुथबाट त्यो सृजना मलाई पठाइदिँदै यसो प्रचारप्रसारमा केही सकिन्छ भने गरिदिने आग्रह गरे । ‘एउटै साझाघर’ बोलको स्वदेशगान भीडभाडयूक्त चिया पसलमै सुने मैले । डम्बर ढकालले ४० को दशकको मेलोडिमा मिठो संगीत सिर्जना गरेका रहेछन् । गीत सुनिरहँदा आजभोलिका जस्तो नलाग्ने स्वरुप प्रश्ट हुन्छ । ज्ञानकुमार खड्का नवोदित गायक भएर पनि न्याय गर्ने प्रयास गरेका छन् । संगीतका पारखीले कतैकतै खोट देखाउन भ्याए पनि ज्ञानकुमारको पहिलो प्रयासलाई उत्कृष्ट भन्न सकिन्छ । कपन संगीत सरोवरका कोषाध्यक्षसमेत रहेका ज्ञानले विनय वर्मासँग संगीत अध्ययन गरिरहेका छन् । ज्ञानको आवाजमा प्लेब्याक सिंगरको जस्तो क्वालिटी रहेको बताए नारायण नेपालले ।

यो स्वदेशगान ‘घर त मेरो नेपाल हजुर’ मा नारायण नेपालभित्रको स्वदेश मोह अनुपम नमुना भेट्न सकिन्छ । उत्कृष्ट स्वरुपको रचना गरेका छन् उनले । तीन अन्तरा रहेको गीतलाई डम्बर ढकालले जुन मेलोडी दिएका छन्  संगीत पारखीले गोपाल योञ्जनको छनक भेट्न सक्छन् । प्रचारप्रसारमा ध्यान दिन सकियो भने पछिका लागि समेत याद रहिरहने राम्रो स्वदेशगान बन्ने कुरामा दुईमत राख्नुपर्ने कारण देखिदैन । त्यसो त आजकाल गीत सुन्नेभन्दा हेर्ने गरिने भएकोले म्युजिक भिडियो बनाउन सके यो कार्य झन् सुनमा सुगन्ध हुने थियो । दूध हालेको एककप चिया खाइसक्दा घडिले ७.४५ बजाएको थियो । नारायण नेपालले आफ्ना दुई कृति रुक्स्याक ब्यागबाट निकालेर मलाई दिए । हामी छुट्टियौँ ।(फोटोहरू: ज्ञानकुमार खड्का, डम्बर ढकालको फेशबुकबाट)

(‘घर त मेरो नेपाल हजुर’ नामको यो स्वदेशगान चाँडै कपन अनलाइनमा सुन्न पाउनुहुनेछ)

– केशव पाठक

तपाइँको प्रतिक्रिया ।