बालकुमारी निमाविमा फेरि राजनीतिक व्यवस्थापन समिति
समाजका हरेक क्षेत्रमा राजनीतिक हस्तछेप हुने क्रममा पछिल्लोपटक वालकुमारी निमावि कपन १ फेरि एकपटक उदाहरण बनेको छ । नक्कली(अरु स्कूलमा पढ्ने विद्यार्थीलाई भर्ना गरेर) अभिभावक बनी राजनीतिक नेतृत्वका व्यक्तिहरु आफ्नो प्रभुत्व देखाउने नाममा विद्यालय व्यवस्थापनमा बस्ने परम्परा कपनमा मात्र हैन नेपालभरी नै व्याप्त रोग हो ।
बालकुमारी निमाविमा राजनीतिक चलखेलको शुरु भएयता स्कूलले खासै परिवर्तनको महशुस नगरे पनि राजनीति गर्नेहरुले आफ्ना घरपरिवारका सदस्यहरुलाई शिक्षक नियुक्त गर्ने खेल जस्ता केही निजी स्वार्थ पूर्ति सिवाय केही गर्न सकेका छैनन् । विद्यालयको व्यवस्थापन समितिमा जाने र आफन्तलाई शिक्षक पदमा नियुक्त गर्ने कपनका स्थानीय राजनीतिकर्मीहरुमा ने.का.का श्याम डोटेल(छोरी सुनिता डोटेल), एमाओवादीका राजकुमार कार्की(भाइ कल्याण कार्की) र एमाओवादीका मुरारी भण्डारी(श्रीमती प्रतिमा भण्डारी)जस्ता नामहरु आउँछन् ।
कपनका सरकारी स्कूलहरुको लिस्टमा कान्छो स्कूलको हैसियत बोकेको वालकुमारी निमावि ०५८ मा प्रावि हैसियतमा स्थापित भएको हो । अत्यन्त निम्न वर्गीय परिवारका विद्यार्थीहरुले यहाँ अध्ययन गर्दछन् । शुरुमा १२–१४ जना विद्यार्थीबाट शुरु भएको यो विद्यालयमा हाल करिब ४०० विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयकी प्रधान अध्यापिका लक्ष्मी तिमिल्सिना ०६६ सालमा यस विद्यालयमा ५०० विद्यार्थी रहेको बताउँछिन् । राजनीतिक आपसी खिचातानी तथा बजेटको अभावले विद्यालय शैक्षिक स्थिति कमजोर रहेको छ । शिक्षकको चयनमा राम्रोभन्दा आफ्नोलाई ध्यान दिनुले स्कूलको शैक्षिक स्थिति सुदृढ बन्न नसकेको हो । हाल १४ शिक्षक शिक्षिका यहाँ अध्यापन गराउँछन् । सामान्यरुपमा ४०० को हाराहारी विद्यार्थी भएको विद्यालयमा शिक्षक शिक्षिकाहरुको यो संख्या धैरै पनि हो ।
१४ जना शिक्षक शिक्षिका भए पनि सरकारी दरबन्दीका एकजनामात्र शिक्षिका छिन् भने दुईजना राहत कोटाबाट, दुई जना पि सि एफ बाट र १ जना गाविसबाट तलब खाने गर्दछन् भने बाँकी सबैलाई आन्तरिक श्रोतबाट तलब खुवाइन्छ । स्कूललाई सबैभन्दा ठूलो सहयोग वाल विकास समाजले गरिरहेको छ । यो संस्थाको कार्यालय पनि यसै स्कूलकोको हातामा रहेकोले वालकुमारी स्कूललाई धैरै भरथेग भएको छ । वाल विकास समितिले आर्थिक सहयोगको अलावा हरेक वर्ष ५२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ । यसको अलावा व्यक्तिगतरुपमा पनि थुप्रैले छात्रवृत्तिमा आफूलाई समाहित गरेका छन् । तिनीहरुमा नरेश पौडैललगायतका व्यक्तिहरु छन् । यसरी समग्रमा यो विद्यालय विविध सहयोगकै आधारमा चलिरहेको छ ।
वालकुमारी निमाविमा व्यवस्थापन समितिमा मात्र हैन सामाजिक परीक्षण समिति तथा शिक्षक अभिभावक संघ नामका समितिमार्फत पनि राजनीति गर्नेहरु विद्यालयमा प्रवेश गरेका छन् ।
स्थापना भएको ७ वर्षसम्म यस विद्यालयमा कुनै राजनीतिक हस्तछेप थिएन । प्रधानअध्यापक लक्ष्मी भन्छिन्, सजिलो थियो त्यतिखेर काम गर्नलाई । राजनीतिको प्रवेशले कसैले कसैलाई नटेर्ने अवस्था सिर्जिएको छ । उनी भन्छिन् कहिले काहि त म आफू प्रधानअध्यापक हुँ कि होइन भन्ने लाग्छ । शुरुमा गाविसबाट मासिक २००० रुपैंया पारिश्रमिक लिएर एक्लै विद्यालय हाँकेकी लक्ष्मी यस्तै हो भने प्र.अ. पदमा रहन नसकिने अवस्था पनि आउन सक्ने बताउँछिन् ।
पटक पटक वालकुमारी स्कूललाई यस क्षेत्रको नमूना स्कूल बनाउने भनेर आवाज उठाइने गरे पनि व्यवस्थापन समितिले त्यति ठूलो आफ्नो हैसियत देखाउने खालको काम गर्न सकेको छैन । तर जो निवर्तमान हुन्छन् आफ्नो कार्यकाल स्वर्णकाल रहेको दावी गर्छन ।
वालकुमारी निमाविमा भाद्र १५ मा जे देखियो
- विद्यालयको अभिभावकहरुबाट व्यवस्थापन समिति बनाउने भनिएको कार्यक्रममा कपनमा आफ्ना राजनीतिक दाउपेच गर्ने सबै पार्टीका सबै तप्काका नेता कार्यकर्ताको उपस्थिति थियो । वास्तविक अभिभावक निकै कम थिए । जति जना थिए ती पनि व्यवस्थापन समिति निर्माण घोषणाको समयमा कोही पनि बाँकी थिएनन् । राजनीतिक कार्यकर्ताहरुको बीचमा समिति निर्माणको घोषणा गरिएको थियो
- उपस्थित सबै राजनीतिक कार्यकर्ता विद्यालयमा राजनीति हुनु हुँदैन भन्दै राजनीतिक लविङ गर्दै थिए ।
- कपनमा नेकपा–माओवादीले पहिलो पटक आफ्नो हैसियत प्रदर्शन गर्ने क्रममा व्यस्थापन समितिको अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्यो ।
- कांग्रेस, एमाले र एमाओवादी भने अघिल्लो दिन नै आपसी समझदारीमा अध्यक्ष एमालेलाई दिने निर्णयमा पुगेका थिए । यसको कारणचाहिँ कपन भएका सरकारी विद्यालयमा एमालेको व्यवस्थापन समितिको अध्यक्ष नभएकोले यो विद्यालय एमालेलाई दिने भन्ने थियो ।
- निवर्तमान अध्यक्ष शिवप्रसाद न्यौपाने जसले यस स्कूललाई ११ वर्ष नेतृत्व दिएका थिए । उनी बिधिवत अब अध्यक्ष नबस्ने मानसिकतामा थिए । तर विद्यालय छोड्नु पर्दा आँखा रसाएका देखिन्थे ।
- एमालेले ठाकुरप्रसाद खकुरेललाई व्यवस्थापन समितिको अध्यक्ष बनाउने सोचमा थियो तर अर्काे सरकारी स्कूलमा प्र.अ. भएकाले नियमसंगत नहुने देखिए पछि ध्रुवराज न्यौपाने सो पदमा एमालेको तर्फबाट उम्मेदवार भए ।
- अध्यक्ष पदमा ४ उम्मेदवारी परे । सबै राजनीतिक उम्मेदवारी थियो । सदस्यहरुमा पनि अधिकांश राजनीतिक उम्मेदवारी नै थियो ।
- थुप्रै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका नरेश पौडेलले धेरैको आग्रहमा पनि उम्मेदवारी दिन मानेनन् ।
- निवर्तमान सदस्यहरु सुन्दर चालिसे तथा बुद्धिप्रसाद तिमिल्सिना कहिले यो पदबाट मुक्ति पाइएला भन्ने भाव व्यक्त गर्दै थिए । आज त मासु भात खाने कुरा गर्दै थिए सुन्दर चालिसे ।
- पदहरुमा नोमिनेशन चलिरहँदा सानुभाइ लामा एण्ड कम्पनी पनि विद्यालय परिसरमा सिंघम स्टाइलमा आएर एकछिन सबैलाई तनाव प्रदान गर्यो । विशेष गरी नेपाली कांग्रेसलाई सानुभाइको उपस्थितिले तनाव प्रदान गरेको थियो । आधा घण्टा जति सबैलाई तनाव दिएर सानुभाइलगायत उनका साथीहरु विद्यालय परिसरबाट बाहिरिए पछि बल्ल नयाँ व्यवस्थापन समिति बनाउन सबै एकजुट भए ।
- एमाओवादी र नेकपा–माओवादीबीच केही आवेशपूर्ण अभिव्यक्तिहरु एकआपसमा देखिए ।
- एमाओवादीलाई कमजोर देखाउन ने.का. र एमाले नेकपा–माओवादीलाई विद्यालय व्यवस्थापन समितिमा राख्न जोड दिँदै हौस्याइरहेका देखिन्थे ।
- विद्यालयका शिक्षक शिक्षिका भने राजनीतिक दाउपेचले आजित देखिन्थे । उनीहरु यसरी राजनीति नभएको भए हुन्थ्यो भन्दैथे ।
- राजनीति गर्ने दलहरुलाई गालि गर्ने स्थानीय तथा केही अभिभावक स्कूल बाहिर कराइरहेका देखिन्थे ।
- नेकपा–माओवादीका कारण आज व्यवस्थापन समित नबन्ने हो कि भन्ने भय एक समय सबै दलहरुलाई देखिएको थियो । धैरैले आज व्यवस्थापन समिति बन्दैन भन्दै थिए ।
- एक्कासी १ बजेतिर नयाँ कार्यसमितिको खाका ल्याएर सिमित राजनीतिक कार्यकर्ता र शिक्षकहरुका बीच प्र.अ. लक्ष्मी तिमिल्सिनाले पेश गरिन् । जुन कार्य समितिमा
- अध्यक्षः ध्रुवराज न्यौपाने(एमाले)
- सदस्यः राजकुमार कार्की(एमाओवादी)
- सदस्यः रिता धिताल(एमाओवादी)
- सदस्यः मनोज सिग्देल(ने.का.)
- सदस्यः नवराज खनाल(ने.का.)
- सदस्यः माधव चौलागाई(नेकपा–माओवादी)
- सदस्यः नरध्वज मगर(नेकपा–माओवादी)
- समिति बनिसकेपछि बोल्दै निवर्तमान अध्यक्ष शिवप्रसाद न्यौपानेले न्यौपाने थरका व्यक्तिलाई अध्यक्ष पद छोड्दा खुशी लागेको बताउँदै आजसम्म आफूले गरेको दुःखको किताब बनाउन मन लागेको बताए ।
- वाल विकास समितिका प्रतिनिधिले आफ्नो संस्थाको सहयोग यस विद्यालयलाई अन्यलाई भन्दा बढि प्राथमिकताका साथ दिइने जानकारी गराए ।
- नवनिर्वाचित अध्यक्ष ध्रुवराज न्यौपानेलाई बोल्ने समय पनि दिइएन । उनी आफू बोल्न आतुर पनि देखिएनन् ।
कपन अनलाइन वालकुमारी निमाविका नवनिर्वाचित व्यवस्थापन समिति अध्यक्ष ध्रुवराज न्यौपाने तथा सदस्यहरुलाई विगतका सबै कमि कमजोरीलाई सच्याएर नयाँ जोस र जाँगरका साथ विद्यालयलाई राजनीतिकभन्दा सामाजिक क्षेत्रको रुपमा विकास गर्नेतिर आफ्ना पाइला अगाडि बढाउन शुभकामना दिन चाहन्छ ।
-केशव पाठक