(कथा ) वन टू थ्री दाल भात फ्री ! :- पुन्यराज पुडासैनी

(कथा ) वन टू थ्री दाल भात फ्री ! :- पुन्यराज पुडासैनी

Punya

– पुन्यराज पुडासैनी –

“आज लास्ट ट्रिप अलि ढिला भयो !”

अंतिम स्टेसनमा गाडी रोक्दा ९.३० भैसकेको थियो । सन्तमान उर्फ बाबा आज बहुत खराब मुड्मा थियो ।

“…. ला, त्यो ट्राफिकलाई बाहिर भेटे भने ओट लाइदिन्छु । हो, बेकारमा लाइसेन्स लाने !”
फोनको घन्टी बज्यो ।

हेलो !

उता, उसैले अरुण खोला रूटमा बस चलाउंदा भागाएर ल्याएकी सरू रे छे । सरु अर्थात उसकी राममाया आर्थात अर्धाङ्गिनी ।
“भन, के भो ?”
“घर आउने बेला भन ?”
“आउने नि, के कराई राख्या त, भर्खर त गाडी राखँे, साहू भेट्नु पर्यो ।”
“ल ल ! मलाई थाछ, कहाँ भट्टीमा होला ।”
बाबा रिसले भाउन्न भो ।
“तेरो बाउको खाको हो, पख घर आउन दे था हुन्छ, ।”
यतिबेलासम्म नि खलासी न देखेर बाबा कराउँछ, “ए ….. काँ छस् ? घर जानू पर्दैन, कि टाका लुकाउँदै छस् ! ?
खलासी आयो । दुबै जना हिँडे । करिव १० मिनेट पछाडि एकाएक बाबाका पाइला सुस्त बन्न थाले । रातको मधुरो बत्तिमा बोर्डमा लेखिएको थियो सुन्दर भोजनालय । पसलकी साहुनी पनि होटलको नाम जस्तै थिइन । “ए केटा, एकछिन पसेर जाने है”
“काँ गुरु, ढिला भो, हिजो पनि १२ बजे गाको दिदीले मार्नु हुन्छ ।”

बाबाको गाउँले सालोले खलासी भन्दा नि सालो बनेर बोल्यो ।
“दिदीको कुरा छोड्, आज नखाने यसो साथीहरुसँग हात त मिलाउ, फेरि समितिले के नियम ला रैछ त्यो पनि बुझ्नुछ ।”
यतिबेलासम्म उनीहरु होटलको ढोकाभित्र पुगिसकेका थिए ।
बाबाभित्र छिर्ने बित्तिकै हलमा ठूलो आवाज गुन्जियो वावालाई स्वागत ! सबैको पाराले उनीहरु बाबालाई नै पर्खेका झै देखिन्थ्यो । तर वास्तवमा उनीहरूले रित्याएको डबका बोली रहेको थियो ।
सबैसित हात मिलाएर हिड्न लाग्दा बाबालाई रोक्न सबै तम्सिए । “कता बाबा तपाई नहुँदा महफिल खल्लो हुन्छ” ४४ को गुरूजी बोल्यो ।
“रानो बिना घारको के काम, मौरीको के काम !” २० को गुरु बोल्यो ।
“ए गुरु, आज मरे भोलि २ दिन !” थप्यो ८८ को गुरुले ।
“ल, आज गुरुलाई मेरो तर्फबाट” अर्को ट्रकको गुरु बोल्यो ।
“हैन हैन ! आज जाने हो बूढी ले मार्छे”
“के भन्नु भा गुरुजी, एक छिन त बस्नु न प्लीजÞ , रिना ( राम माया ) बोली ।
मोरीको बोली र हेराई बहुत राम्रो !
बाबाले सोच्यो, यै मोरीले भने पछि त बस्नै पर्यो ।
बाबाले अब आसन जमायो ।
“ए कान्छा, के खाने खा है ।”
“एक डबका हानेर हिड़ने हो ।” तर अब डबका ३–४–५ हुदै जान थाले । अरु त पहिला नै मस्त थिए अव बाबा पनि थापियो ।
बाबालाई सबैले मान्दथे । कारण थियो, उसको ६ फिटको ज्यान अनि यातायात समितिमा उसको पहँुच । समितिका अध्यक्षले उसंगै सल्लाह गरेर मात्र काम गर्दथे ।
“गुरु, ११ बज्यो, जाने वेला भो”
“नकरा ! …. ला, दिदीको चम्चा, लात भेट्लास् किचकिच् गरिस् भने । स्टेरिंग छुन पनि दिन्न्”
“अनि, बाबा अस्ति रिजर्वमा पिकनिक जादा हामीसंग नबोल्ने हैन ?” रीना नजिकै मसक्क मस्की ।
“को न बोल्या मलाई था छ ! निस्ठुरी ठीक छ” भन्दै मुस्काएर रीना हिँडी । “मोरीलाई पख न्” बाबाले मनमा सोच्यो ।
बाबा बोल्यो, “ल साथी हो, १२ बज्यो जाउँ सबलाई था छ नि ड्राइभर भन्या के ? दाइ तिम्रो भर हो । हाम्रो हातमा ज्यान हुन्छ मान्छे को ।” जाँदाजाँदै, एक पटक वान टू थ्री दाल भात फ्री ! पÞmो फाइव तलव भत्ता गायव !
घर पुग्दा १२ बज्यो । सरू, तेत्तिकै उँघी रहेकी थिई ! “आज पनि उही ताल है, सधै रक्सी, खाली अचेतमा घर कसरी चल्छ ।”
“नकारा न बूढी, के गर्नु साथीको बर्थ डे थियो । अलिकति खाको हो ।” “अनि, बच्चाको फिस तिर्नु पर्ने, भाडा र रासनको पनि बेला भो । पैसा चाहियो । खाली जाँड खा र हुन्छ ।
थाछ थाछ ! मलाई नि चिन्ता छ । भोलि ब्यवस्था गरौला ।”
“भोलि नि यही ताल त होला नि छोराले बुवा गोरो हुनु हुन्छ की कालो भनेर सोध्छ, बाउ अँधेरोमा हिँडछ राती यो बेला आउँछ ।”
“ल ल… ! धेरै न पढा ! भात ले !”
भात खाँदै गर्दा बाबा सोच्छ, भोलिदेखि चँै नखाने हो आजको टाकाले त छोराको फिस पूग्थ्यो । तलव भत्ता हुँदा एक बोरा चामल आउँथ्यो । भोलिबाट चाहिँ कसम दारू नखाने हो ्र खाटतिर जाँदा ढल्न खोज्दा सरूले समाती ।
“ढल्ने गरी त न खानु नि यो कुकुर को मूत ! त्यस्तो तितो के मन पर्या होला !”
“तँलाई कसरी था भो त्यो तितो हुन्छ भनेर ।” बाबाले गाला चिमोट्यो सरू लजाई । दुबै पल्टिए । बाबाले सरूलाइ आफुतिर तान्यो र रीना सम्झेर भोक मेटायो ।
बिहान ४ बजे बाबा उठ्यो । आज उसको पहिलो क्यू ! निन्द्रा नपुगेर टाउको फुट्ला जस्तो भाथ्यो । उ सरासर बसमा गयो खलासीलाई उठायो । उसले गाडीमा बसेपछि थाहा पायो कि, आज चाबी घरमै छुटेछ ।
“ए कान्छा, जा ! कुदेर गएर चावी ले । घरमै छुटेछ । आज कलेज टिप छूटने भो ।”
विधार्थीको गाली खाने पिरले उसको टाउको झन दुख्यो ।
चावी त आइपुग्यो, तर गाडी स्टार्ट हुदैन । बाबा झन् तनावमा फस्छ । “रेडी वाटर चेक गर !” ( खलासीलाई आदेश दिएर चुरोट सल्काउँदा साहुको फोन आउछ । गाडी के भो कि जाँडले नछोडेर ओछ्यान मै हो । “हैन गाडी स्टार्ट नै हुदैन । ल ल ! जे गरेनि गर्नुस् ।”
“बाबाको तनाव झन बढ्यो । बल्ल बल्ल गाडी स्टार्ट भयो । सबै प्यासेन्जर गाली गुनाशो गर्दै उक्लिए ।
आज बाबा मौन भएर गाडी चलाएको देखेर सबै यात्री अचम्ममा परेका थिए । ऊ सँधै केही न केही बोली रहेको हुन्थ्यो । बढि चाहि खलासीले गाली खान्थ्यो । तर आज उसको मनमा कुरा खेलिरहेको थियो । उ सोच्दै थियो । आजकै दिनदेखि रक्सी छोड्छू ।
छोरा छोरी स्कुलमा कति लज्जित बन्दा हुन् । कहिल्यै फीस समयमा तिर्न सक्दिन । बुडीलाई फकाएर ल्याए । सपना सिवाय केही दिन सकिन । बाआमा कसैलाई केही दिन सकिन । अबदेखि चाहिँ दारू नखाने हो ।
ब्रेक जोडले लाग्यो ।
अगाडि एक जना बच्चा थियो । “मोजमस्तीमा जन्माएर सडकमा छाड़ने” भनेर बाउआमालाई गाली गर्न बाबालाई मन थियो तर आज केही बोलेन । फस्ट टिप सकेर चिया खान होटलमा जाने वित्तिकै उसले थाहा पायो, साहूले उसलाई नराम्रो गाली गरेर भर्खर गएको रहेछ ।
बाबा केही बोलेन । उ सोच्दै थियो कि अब आफ्नै गाडी किन्छु । मर्मत संभार किस्ता सबै कटाएर पनि राम्रै आम्दानी हुन्छ । आज पहिलो टिप हो बेलुका पनि चाँडै हुन्छ । घरमा गएर सल्लाह गर्छु । अर्को ट्रिपमा पनि बाबा नबोली नै गाडी चलाउन्दै थियो ।
एक जना यात्रीले खलासीसँग किचकिच गरेको देखेर उसलाई रिस उठिसकेको थियो । तर ऊ केही बोलेन । बरु भाडा छोड्ने आदेश खलासीलाई दियो । खलासी को पनि आज अति राम्रो दिन थियो । उसले आज गाली सुन्नु परेको छैन ।
आज ६ बजे नै गाडी राखेर, खलासी र बाबा निस्किए । केही छिनपछि नै बाबाको मन किन किन बदलिसकेको थियो । भर्खर ६ बज्यो । यसो साथी भेटेर जाने विचार गरी ऊ सुन्दर भोजनालय तर्फ मोडियो । ऊ सोच्दै थियो कि एकछिन पसेर मात्र निस्कन्छु । भोजनालय छिर्ने वित्तिकै साहुनीले मुस्कानसहित स्वागत गरिन ।
अलि रिसाए झै पनि गरिन् किनकी हिजो उसले त्यहिँ बस्ने आग्रह मानेको थिएन ।
“हजुरलाई एउटा कोसेली छ है !” साहुनी मस्किदै भनी । आज म चाँडै जान्छु ।
“होस् तेस्रो भा दिन्न !” साहुनी फन्किदै गइन ।
बाबा भित्र छिर्यो । त्यहाँ साहू र अरु पनि थिए ।
केही नबोली साहूलाई पैसा दियो । बस्नुस् गुरु, कहिले काहीँ हुन्छ । साहूलाइ रन्को लागिसकेको थियो । गुरुलाई एउटा ग्लास अनि पांगरा । बाबाले खान मान्दैन तर बस्छ ।
“ल निस्ठुरी मान्छे !” भन्दै साहुनी मार्फा र ग्लास अगाडी राख्छिन । “यो चाहि सानो कोसेली” बाबा अन्योलमा पर्छ । हिजो रातिदेखि दिनभरका कुरा रील झै घुम्छ्न् । उ के भनाँै भनौ हुन्छ । उ सोच्छ, आज मरे भोलि दुई दिन ! अब उसका दिनभरका सोच ग्लासमा ।
अनि उ फेरी उस्तै ! अब ज्यानले कति खायो था हुदैन । आज पनि ११.३० भयो । बाबा हिजो जस्तै भन्दै उठ्छ, वन टू थ्री दाल भात फ्री फो फाइव तलव भत्ता गायव !

तपाइँको प्रतिक्रिया ।