जनकपुरमा राष्ट्रपतिको अपमानबारे संसदीय समितिको चासो

काठमाडौँ, ७ पुस । विवाहपञ्चमीका अवसरमा धनुषाको जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपतिको भ्रमण र उहाँमाथि भएको अपमानका सम्बन्धमा व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले गम्भीर चासो व्यक्त गरेको छ । Ganga-jal-At-janakpur

समितिले घटनाबाट व्यक्तिको मात्र नभई राष्ट्रकै मानवअधिकारको हनन भएको भनी आज राज्यका निकायका पदाधिकारीसँग छलफल गर्दै महिला, बालबालिका तथा समाजकल्याणमन्त्री, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकारीसँग घटनाबारे जानकारी लिएको छ ।

यही पुस १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा दर्शन गरेको विषयमा सो दिन मधेसी मोर्चाका कार्यकर्ताले कालो झन्डा प्रदर्शन गरी विरोध गर्नाका साथै भोलिपल्ट विधवा राष्ट्रपति र जुत्ता लगाएर सुरक्षाकर्मी मन्दिर प्रवेश गरेको भन्दै क्षमापूजा गरिएको थियो ।

समितिको आजको बैठकमा उपस्थित उपप्रधानमन्त्री सिपी मैनालीले घटना निन्दनीय भएको र यसमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्ने सरकारको दृष्टिकोण सार्वजनिक भएको भन्दै सो घटना अराजनीतिक घटना हो भन्नुभयो ।

राष्ट्रपतिको भ्रमणको समर्थन हुन नसके पनि विरोध हुनु सांस्कृतिक प्रतिगमनको स्थिति भएको बताउँदै यसले भेदभावपूर्ण, असभ्य र बर्बर व्यवहारको असंवैधानिक दृष्टान्त प्रस्तुत गरेको धारणा राख्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राष्ट्रपतिजस्तो अतिविशिष्ट वा हरेक व्यक्तिको व्यक्तिगत आँच र मर्यादामा प्रतिकूल हुने गरी गरिएको अभद्र व्यवहार मानवअधिकारको मान्यता विपरीत भएको बताउँदै घटनाबारे आयोगको केन्द्रीय टोली र क्षेत्रीय कार्यालयबाट अनुगमन जारी रहेको जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता मोहना अन्सारीले सामाजिक सञ्जालमा उच्छृङ्खल प्रस्तुतिसमेत पाइएको र राष्ट्रपतिको भ्रमणपछि पनि व्यक्ति लक्षित प्रतिक्रिया आइरहेकाले यसले वातावरण बिथोल्ने काम गर्ने भएकाले सोबारे अनुगमन आवश्यक रहेको जनाउनुभयो ।

गृह मन्त्रालयका निमित्त सचिव विनोद केसीले राष्ट्रपतिको भ्रमणका समयमा भन्दा पनि उहाँ जनकपुरबाट फर्किसकेपछि सुरक्षा स्थितिमा असहजता आएको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको बताउनुभयो ।

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक केदारप्रसाद साउदले तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको र अन्यलाई खोजतलासको कार्य जारी रहेको जानकारी दिनुभयो ।

समितिका सभापति रञ्जुकुमारी झाले सो घटना व्यक्तिमाथिको होइन राष्ट्रपति संस्था र गणतन्त्रमाथिको आक्रमण हो भन्नुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डे, अनुराधा थापा मगर, रञ्जना श्रेष्ठ, लक्ष्मण राजवंशीलगायतले धर्मनिरपेक्षताका आधारमा राष्ट्रपतिलाई भ्रमण र दर्शनको नयाँ परम्परा बसाल्न पनि सुझाव दिनुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।