लालपुर्जा नहुँदा भूकम्पपीडित दलित बस्तीका ५२ परिवार राहतबाट वञ्चित
भक्तपुर, २ पुस । गत वैशाखको भूकम्पबाट सिङ्गो बस्ती पूर्णरुपमा क्षति भएको आठ महिना बित्न लाग्दा पनि कुनै राहत रकम नपाएका भक्तपुर नगरपालिका– ११ स्थित लालपुर्जाविहीन द्यौला अर्थात् पोडे बस्ती समस्यामा परेको छ ।
लिच्छविकालदेखि नै बस्दै आएका यहाँका लालपुर्जाविहीन ८२ घरपरिवारमध्ये भूकम्पले पूर्णरुपमा घर क्षति भएका ५२ परिवारको त्रिपालमुनिको बास भएको छ । तर पनि सरकारले दिने राहत रकम भने उनीहरुले अझै पाएका छैनन् ।
विनाशकारी भूकम्पले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी टहरा बनाउन सरकारले दिएको रु १५ हजार पनि नपाएका उनीहरुले जाडोमा न्यानो कपडा किन्न सरकारले बाँड्न थालेका रु १० हजार पनि नपाउने भएका छन् ।
“भूकम्पले घर भत्कियो, यो चिसोमा पालमुनिको बास निकै कठिन हुन थालेको छ, छोराछोरी र बूढाबूढी बिरामी पर्न थालेका छन्” – भेलुखेल द्यौला बस्तीकी भूकम्पपीडित आशा द्यौला भन्नुहुन्छ – “सरकारले टहरा बनाउन दिने भनेको रु १५ हजार पनि पाएनौँ, लालपुर्जा नहुनेलाई दिन मिल्दैन भनेर भक्तपुर नगरपालिकाले फर्कायो, न्यानो लुगा किन्न फेरि रु १० हजार दिँदैछ रे, त्यो पनि पाइँदैन भन्छ, दलित भएकै कारण हामीमाथि किन विभेद ?”
घर पूर्णरुपमा क्षति भएपछि भूकम्पपीडितले पाउने रातो कार्ड पनि यहाँका बासिन्दाले पाएका छैनन् । सरकारले दिने रु दुई लाख अनुदान वा सहुलीयत ऋण पनि नपाउने भएपछि घर बनाउने योजनासमेत अलपत्र परेको छ ।
स्थानीय बासिन्दा एवम् शिक्षक बाबुरत्न द्यौला लालपुर्जाका लागि २० वर्षअघिदेखि मालपोत, नगरपालिकादेखि मन्त्रालयसम्म धाउँदा पनि आश्वासन आउने तर लालपुर्जा नपाउने गर्नाले अहिले द्यौला बस्तीका दलितले भूकम्पको पीडामा समेत विभेद खेप्न परेको गुनासो गर्नुहुन्छ ।
एउटा घर भत्किए पनि पाँच दाजुभाइले समेत लालपुर्जा पाएको तर लिच्छविकालदेखि बस्दै आएका द्यौला बस्तीका भूकम्पपीडितले कुनै राहत नपाउनु मानवअधिकार हननको पराकाष्टा भएको उहाँको भनाइ छ ।
विसं २०२१ मा नापी गर्न आउँदा जग्गा अधिग्रहण गर्न आएको हल्ला चलाएपछि अशिक्षित यहाँका बासिन्दाले बस्दै आएको घरजग्गा पनि आफ्नो हो भन्न नसक्दा लालपुर्जा बन्न नसकेको बताउँदै स्थानीय समाजसेवी चरन द्यौला भन्नुहुन्छ – “हाम्रो घर, हाम्रो बस्ती भन्ने सबैलाई थाहा छ, पुनः नापी गरेर लालपुर्जा दिलाइदिन पटक पटक सबै निकायमा पुगिसक्यौँ तर हाम्रो बस्ती दलित भएकै कारण कसैले चासो दिएन ।”
जाडो बढ्दै जाँदा निकै कठिन बेहोर्दै आएका यहाँका बासिन्दा भूकम्पबाट बाच्नु नै दुर्भाग्य भएको गुनासो गर्छन् । “नगरपालिकाले हामीलाई फरक व्यवहार गर्छ, बरु त्यही भूकम्पमा मरेको भए हुन्थ्यो जस्तो लाग्छ, अहिले न बस्ने ठाउँ छ, न तातो ओढ्ने ओछ्याउने नै छ”, स्थानीय विकास द्यौला भन्नुहुन्छ – “नगरपालिकाले न भूकम्पपीडित परिचयपत्र नै दियो न त रु १५ हजार नै, यो जाडोमा बालबच्चा रातभर कामेर बसेको कसरी सहनु, सरकारले सुकुम्बासीलाई लालपुर्जा बाँड्यो तर हामीले हामै्र जग्गाको लालपुर्जा पाएनौँ ।”
स्थानीय मदन द्यौलाका अनुसार जाडोले त्रिपालमुनि बस्नै नसक्ने अवस्था भएकाले बालबच्चा र वृद्धलाई निकै सास्ती भएको छ । शौचालय र खानेपानीको अभावले थप कठिन भएको बताउँदै उहाँ बिरामी हुँदा यहाँको बासिन्दाले औषधिसमेत नपाउने गरेको गुनासो गर्नुहुन्छ ।
भूकम्पपछिको पीडाले स्थानीयवासीलाई मानसिक रोगसमेत लाग्न थालेको छ । जाडो र चिन्ताले केहीलाई मानसिक समस्या देखिन थालेको छ । चिसो छल्न कोठा खोज्न जाँदा जातीयताकै कारण कोठा नपाइने भएपछि पालमुनिको बासको विकल्पसमेत नभएको बताउँछन् यहाँका बासिन्दा ।
लालपुर्जा नहुनेलाई प्रशासनले रकम दिनु भन्न नमिले पनि रैथानेलाई नगरपालिकाले भूकम्पपीडित परिचय पत्र र राहत दिनसक्ने बताउनुहुन्छ भक्तपुरका प्रजिअ तोयम राया । जिल्लाका अन्य नगरपालिकाले भने आफ्नो क्षेत्रमा लालपुर्जा नभए पनि घर भत्किएका पुराना रैथाने बस्तीका पीडितलाई भूकम्पपीडित परिचय पत्र र राहत रकम वितरण गरे पनि भक्तपुर नगरपालिकाले भने द्यौला बस्तीलाई वञ्चित गरेको छ । रासस